• ११ मंसिर २०८१, मङ्गलबार

बाल मन्दिरमा मनायो केबीएले ब्याडमिन्टन दिवस

blog

काठमाडौं, असार २१ गते । काठमाडौं ब्याडमिन्टन एकेडेमी (केबीए) ले ‘विश्व ब्याडमिन्टन दिवस ‘जुलाई ५ तारिख’ बाल मन्दिर नक्सालमा मनाएको छ । 

अभिभावकविहिन तथा जोखिममा रहेका बालबालिकालाई आश्रय दिइरहेको बाल मन्दिरको नक्सालस्थित आवासमा रहेका ४५ बालिकाले एकेडेमीका खेलाडीसँग ब्याडमिन्टन सिक्नुका साथै खेलका प्राविधिक जानकारी लिएका थिए । 

कार्यक्रममा ७० भन्दा बढी बालिकाको उपस्थिति रहेको थियो । उनीहरूले खेल्नुको साथ नाचगान गर्दै मनोरञ्जन पनि गरेका थिए । कार्यक्रममा एकेडेमीकी अध्यक्ष रिता विष्टले बाल मन्दिरकी अध्यक्ष विद्या उपाध्याय न्यौपानेलाई मायाको चिनो प्रदान गर्नुभएको थियो । कार्यक्रममा काखे बालिकादेखि कक्षा १२ मा अध्ययनरतसम्मलाई बाल मन्दिरको प्रांगणमा रमाएरका थिए । 

बाल मन्दिरकी अध्यक्ष न्यौपानेले भन्नुभयो, ‘‘बाल मन्दिरमा आश्रित बालिकाहरूलाई खेल्ने पाउने समान अवसर दिएकोमा काठमाडौं ब्याडमिन्टन एकेडेमीलाई धेरै धेरै धन्यवाद । आज हाम्रा बालिकाले रमाइलो गर्ने अवसर पाए । आउने दिनमा हामी अरु खेलमा पनि अग्रसरता दिनेछौं ।’’ 

काठमाडौं ब्याडमिन्टन एकेडेमीका सचिव दीपक थापाले भन्नुभयो,‘‘हामीले गत वर्षको विश्व ब्याडमिन्टन दिवस तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसँग शितल निवासमा मनाएका थियौं । यो दिवसलाई यसपाली फरक तरिकाले मनाउन हामीले बाल मन्दिर छनोट गरेका हौं । सबैले राम्रो गरे, रमाइलो माने, विश्व ब्याडमिन्टन दिवसलाई सफल बनाएकोमा सबैलाई धन्यवाद व्यक्त गर्न चाहन्छु ।’’ 

एकेडेमीले विश्व ब्याडमिन्टन दिवसमा प्रयोग गरेका सम्पूर्ण खेल सामाग्री बाल मन्दिरलाई हस्तान्तरण गरेको थियो । बाल मन्दिरका बालिकालाई एकेडेमीका खेलाडीसहित नेपालका नम्बर एक महिला खेलाडी रसिला महर्जनले ब्याडमिन्टन खेलाउनुभएको थियो ।