राधाकृष्ण डुम्रे
वालिङ, असार २१ गते । स्याङ्जाको चापाकोट नगरपालिकाले एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । नगरवासीको स्वास्थ्य उपचार सेवालाई थप प्रभावकारी बनाउन नगरपालिका आफैले एम्बुलेन्स सुचारु गरेको हो ।
नगरपालिकाका केही भाग समथर भए पनि अधिकांश ग्रामीण भाग रहेको भन्दै नगर प्रमुख देबबहादुर खाणले ग्रामीण भेगलाई लक्षितगरी एम्बुलेन्स सञ्चालन गरिएको जानकरी दिनुभयो । उहाँले भन्नुभयो, “गाउँमा भनेको बेलामा सवारीसाधन पाइँदैन, अस्पतालसम्म पुग्न अत्यन्तै कठिन छ, त्यसैले पालिकाले गाउँलाई लक्षित गरेर एम्बुलेन्स सेवा सुरु गरेको छ ।”
नगरपालिकाले सञ्चालन गरेको एम्बुलेन्समा ज्येष्ठनागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती तथा सुत्केरी महिलाले सेवा लिएवापत कुनै शुल्क तिर्नु नपर्ने खाणले बताउनुभयो । पालिकाले एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापनसम्बन्धि कार्यविधि निर्माण गरेर एम्बुलेन्स सञ्चालन ल्याएको प्रमुख प्रशासकीय अधिकृत ध्रुव खनालले जानकारी दिनुभयो ।
चापाकोट नगरपालिकाका ८, ९ र १० समथर भु–भागमा छन् भने अन्य क्षेत्र ग्रामीण भु–भाग रहेको छ । एम्बुलेन्स सेवा सञ्चालनमा आएपछि भने विरामीलाई बाहिर उपचारका लागि जान सहज हुने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिन्दु कोइरालाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “नागरिकले एम्बुलेन्स नहुँदा समस्या भयो भन्ने गुनासो गरेपछि पालिका आफैले खरिद गरेर सञ्चालनमा ल्याएको हो । २० लाख रुपियाँमा एम्बुलेन्स खरिद गरिएको छ ।”