• १२ असार २०८१, बुधबार

एसियाली विकास बैङ्कबाट ३०० मिलियन अमेरिकी डलर ऋण स्वीकार गर्ने सरकारको निर्णय

blog

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा । तस्बिर : केशब गुरुङ

काठमाडौं, असार २१ गते । सरकारले सासेक राजमार्ग सुधार आयोजना सञ्चालन गर्न एसियाली विकास बैङ्कबाट परियोजना सहायताको रूपमा ३०० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

असार १९ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय बिहीबार सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सो सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

यसैगरी, भन्सार तथा लजिष्टिक्स सुधार कार्यक्रमअन्तर्गत एसियाली विकास बैङ्कबाट बजेटरी सहायताको रूपमा प्राप्त हुने ५० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ ।

सञ्चारमन्त्री शर्माले एमसिए–नेपालले निर्माण गर्ने विद्युत प्रसारण लाइन तथा सब-स्टेसनका लागि सिन्धुपाल्चोक, पाल्पा तथा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाका जग्गा प्राप्त गर्न स्वीकृति दिने, नेपाल न्याय सेवा, कानुन समूहको राजपत्राङ्कित प्रथम श्रेणीका सात जना अधिकृतहरूको सरुवा गर्ने र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यविधि संवत् २०८० साल पुस मसान्तसम्म थप गर्ने बाधा अड्काउ फुकाएको आदेश जारी गर्ने निर्णय पनि बैठकले गरेको जानकारी दिनुभयो ।