• २० असोज २०८१, आइतबार

कार्यविधि बनाएरै बाढीपहिरो प्रभावितलाई राहत वितरण

blog

साब्लाखु भञ्ज्याङस्थित सिदिङ्वा गाउँपालिकाको कार्यालय। तस्बिर : चन्द्र पन्दाक।

चन्द्र पन्दाक

ताप्लेजुङ, असार २१ गते। ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले कार्यविधि बनाएरै बाढीपहिरो प्रभावित परिवारलाई राहत उपलब्ध गराएको छ। मानवीय क्षतिसँगै घर तथा पशु चौपाया गुमाएका परिवारलाई विपद् प्रभावित सहयोग कार्यविधि बनाएर गाउँपालिकाले राहत उपलब्ध गराउन थालेको हो। 

गाउँपालिकाका अध्यक्ष मानबहादुर राईका अनुसार पहिलो चरणमा बाढीपहिरोमा परी मृत्यु तथा बेपत्ता भएका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराइएको छ। गाउँपालिकाले बनाएको सहयोग कार्यविधिअनुसार बाढीपहिरोबाट प्रभावित भएका परिवारलाई राहत उपलब्ध गर्न सुरु गरेको अध्यक्ष राईले जानकारी दिनुभयो। 

बाढीपहिरोमा परी बेपत्ता सदस्य नभेटिने निष्कर्षसहित परिवारले काजकिरिया गरेको अवस्थालाई दृष्टिगत गरी बेपत्ता हुनेका परिवारलाई राहत उपलब्ध गराएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद बेघाले जानकारी दिनुभयो। 

बेघाका अनुसार बेपत्ता परिवारलाई पनि मृतकका परिवारले पाउने सरह राहत उपलब्ध गराइएको छ। बाढीपहिरोमा परी मृत्यु तथा बेपत्ता भएका व्यक्तिका परिवारलाई प्रतिव्यक्ति ६० हजार रुपियाँका दरले राहत रकम उपलब्ध गराएको उहाँले बताउनुभयो। 

गत असार २ र ४ गते भीषण वर्षासँगै गएको बाढीपहिरोमा परी सिदिङ्वा गाउँपालिकामा एकै परिवारका बाबुछोरासहित तीन जनाको मृत्यु भएको छ। यस्तै एकै परिवारका तीनजना बेपत्ता हुनुभएको छ। पहिरोमा परी सिदिङ्वा गाउँपालिका–६ मेहेले भालुखोपका गणेश तामाङ, मेहेले टोलका केशरबहादुर राई र सुरेश राईको मृत्यु भएको थियो। त्यस्तै भालुखोपकै भगीमाया बुडाक्षेत्री, सन्ध्या बुडाक्षेत्री र प्रज्ज्वल बुडाक्षेत्री बेपत्ता हुनुभएको छ।

यसैगरी बाढीपहिरो वा विपद्का कारण घर पूर्णरुपमा ध्वस्त भई क्षति बेहोर्न पुगेका परिवार र पशुपन्छी गुमाएका परिवारलाई राहत रकम दिने गरी कार्यविधि बनाएको गाउँपालिकाकी उपाध्यक्ष कृष्णकुमारी कडरियाले जानकारी दिनुभयो। सहयोग कार्यविधिअनुसार घरबारविहीन भएका परिवारले प्रतिपरिवार पाँच हजारदेखि ४० हजारसम्म राहत पाउने कडरियाको भनाइ छ।

गाउँपालिकाका अनुसार बाढीपहिरोमा परी शारीरिक रुपमा घाइते भएकालाई उपचार खर्चबापत प्रतिव्यक्ति २० हजार रुपियाँ राहत सहयोग उपलब्ध गराइनेछ। त्यस्तै पशुचौपायातर्फ बाढीपहिरोमा भैंसी मरेको भए प्रतिगोटा १५ हजार, गाई गोरु १० हजार, भेडाबाख्रा पाँच हजार र बङ्गुर मरेको भए प्रतिगोटा तीन हजार रुपियाँका दरले राहत रकम उपलब्ध गराउने गरी कार्यविधि बताइएको छ।