• १६ असार २०८१, आइतबार

युवालाई रोजगारीसँग जोड्न पुनः एकीकरण कार्यक्रम

blog

बुटवल समाचारदाता

बुटवल, असार २१ गते । रुपन्देहीको कञ्चन गाउँपालिकाले वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका युवालाई लक्ष्य गरी सुरु गरेको पुनः एकीकरण कार्यक्रम प्रभावकारी बन्दै गएको छ। 

एक पटक विदेश गएर फर्किएकालाई रोजगारसँग जोड्ने यो कार्यक्रमप्रति युवाको आकर्षण र चासो बढ्दै गएको छ। गाउँघरमै उद्यम गरेर बस्न चाहनेलाई कार्यक्रमले उत्साहित बनाएको छ। 

गाउँपालिकाका अनुसार पुनः एकीकरण कार्यक्रममा ५१ युवा समेटिएका छन्। विदेशमा सिकेको सीप स्वदेशमा प्रयोग गर्न पुनः एकीकरण कार्यक्रम सञ्चालन गरिएको हो। पालिकाले विदेश नगई स्वदेशमै केही व्यवसाय गर्न चाहने युवालाई विभिन्न रोजगारसँग जोड्न प्रतिव्यक्ति ३५ हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ। कञ्चन गाउँपालिका–१, बेलभरियाका अर्जुन चौधरी पुनः एकीकरण कार्यक्रमबाट आफू उद्यम व्यवसायसँग जोडिएको बताउनुहुन्छ। 

अब विदेश गएर होइन, स्वदेशमै केही गर्नु पर्छ भन्ने जोसजाँगर पलाएको छ । उहाँले भन्नुभयो, “फेरि विदेश नजाने प्रतिबद्धता गरिसकेको छु।” अर्जुन जस्तै ५१ जना युवाले विभिन्न उद्यम व्यवसाय सञ्चालन गरेका छन्। विभिन्न कृषि व्यवसाय अन्तर्गत कोही भैँसी, बाख्रा, कुखुरापालन गर्दै छन् भने केही हस्तकला, पसल, फ्रेस हाउसलगायत आयआर्जनको पेसा तथा व्यवसायमा जोडिएका छन्। 

पालिकाका उपाध्यक्ष मौसमी थापामगरले युवालाई पाँचदिने तालिमसमेत दिइएको बताउनुभयो। विदेशबाट फर्किएका र अब विदेश नजाने प्रतिज्ञा गरेका युवालाई पालिकाले पुनः एकीकरण कार्यक्रममा जोडेको उहाँ बताउनुहुन्छ। यो कार्यक्रमबाट युवामा उत्साह भरिएको छ। यसरी विभिन्न उद्यम तथा व्यवसायमा जोडिएकाहरूले गरिरहेको कामका विषयमा पालिकाले स्थलगत अनुगमनसमेत गरेको छ। 

कार्यक्रमको प्रभावकारितासँगै थप जोडिन चाहने युवाको सङ्ख्या बढ्दै जाने अपेक्षा गरिएको छ। यस गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा समेत यो कार्यक्रमलाई प्रभावकारी बनाउन बजेट विनियोजन गरेको थियो।