• ६ जेठ २०८१, आइतबार

प्युठानमा ९० प्रतिशत रोपाइँ सकियो

blog

प्युठान नगरपालिका–१ स्थित बेलुवा फाँटमा रोपाइँ गर्दै कृषक । तस्बिर : गोरखापत्र

सुजल श्रेष्ठ

प्युठान, असार १९ गते । प्युठानमा ९० प्रतिशत रोपाइँ सकिएको छ । जिल्लामा रहेका धान खेती हुने खेतहरुमध्ये ९० प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्युठानले जनाएको छ ।

जिल्लाभर ६ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा अहिलेसम्म ९० प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको कार्यालय प्रमुख भाष्कर पौडेलले बताउनुभयो । समयमै धानखेती हुने प्युठानमा उत्पादकत्व  चार मेट्रिकटन प्रति हेक्टर छ ।

जिल्लाको सबैभन्दा ठूलो फाँट झिमरुक फाँटमा किसानले जेठ मसान्तभित्र रोपाइँ सक्छन् । बाह्रै महिना सिंचाइ हुने भएकाले धेरै ठाउँका किसानले रोपाइँ समयमै सक्ने गरेको पौडेलको भनाइ छ । टारी खेतहरु बाहेक अरु ठाउँमा रोपाइँ सकिएको छ ।

अरु जिल्लाको तुलनामा छिटो धान रोपाइँ हुने गरेको प्युठान नगरपालिका–१ का कृषक भोजबहादुर बस्नेतले बताउनुभयो । उहाँले कृषकलाई उन्नत जातका बीउ, मल, कृषि औजार, रोग कीरा नियन्त्रणमा सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । 

जिल्लामा धान उत्पादन बढाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले काम गर्दै आएको छ । चैते धान र बर्खे धान गरी दुई बाली धान खेती विस्तार गरी उत्पादन बढाउन कार्यालयले किसानलाई सहयोग गर्दै आएको कार्यालय प्रमुख चुमानसिंह गिरीले जानकारी दिनुभयो ।

कार्यालयको तथ्याङ्क अनुसार जिल्लालाई ३१ हजार मेट्रिकटन चामल आवश्यक पर्छ । तर जिल्लामा वार्षिक २८ हजार मेट्रिकटन मात्र धान उत्पादन हुन्छ । जसबाट २० हजार मेट्रिकटन मात्र चामल उत्पादन हुन्छ । करीव ११ हजार मेट्रिकटन चामल अपुगलाई पूरा गर्न दुईबाली धान खेती गर्नुपर्ने उहाँको भनाइ छ ।