• ११ मंसिर २०८१, मङ्गलबार

व्यास जन्मभूमिलाई धार्मिक पर्यटकीय केन्द्र बनाइने

blog

व्यास जयन्ती मनाईँदै ।

अमरराज नहर्की

तनहुँ, असार १८ गते । चार वेद तथा १८ पुराणका रचयिता महर्षि वेद व्यासको जन्मभूमि तनहुँको दमौलीलाई धार्मिक र सांस्कृतिक पर्यटकीय केन्द्रका रुपमा विकास गरिनुपर्ने आवश्यकता औँल्याइएको छ । पूर्वीय साहित्यका महाकवि वेदव्यासले यही भूमिमा महाभारत, चारवेद र अठार पुराणको रचना गरेको दावी र विभिन्न स्रोतले प्रमाणित गरेकोले व्यासभूमिको प्रसारप्रसार गरी पर्यटकीय केन्द्रको रुपमा विकास गर्नु पर्ने वक्ताहरुले औल्याउनु भएको हो । 

व्यास जयन्ती (गुरुपूर्णिमा) को अवसरमा दमौलीमा व्यास क्षेत्र शिवपाञ्चायन विकास कोषले दमौलीमा आयोजित कार्यक्रममा वक्ताहरुले सो कुरा औंल्याउनु भएको हो । वेदव्यासले महाभारत, चार वेद र अठार पुराणको रचना गरेको दावी र विभिन्न स्रोतले प्रमाणित गरे पनि व्यासभूमिको उचित प्रसारप्रसार हुन नसकेको गण्डकी प्रदेश सभा सदस्य अशोककुमार श्रेष्ठले बताउनुभयो । सांसद श्रेष्ठले भन्नुभयो, “व्यास जन्मिएको, पराशरले तपस्या गरेको ठाउँ आज संसारभर प्रख्यात हुनुपथ्र्यो जति प्रचारप्रसार हुनुपर्ने हो त्यति हुन सकेन ।’’ 

व्यासको मूर्ति निर्माण लगायत अन्य पूर्वाधार निर्माणको लागि पाँच करोड बजेट माग गरेको भएपनि त्यसको महत्व नबुझेकाले गण्डकी प्रदेश सरकारबाट १० लाख रुपियाँ मात्रै विनियोजन भएको सांसद श्रेष्ठले बताउनुभयो । व्यासको अध्यता काशीनाथ न्यौपानेलाई लिएर गएर मुख्यमन्त्री लगायतलाई व्यासको बारेमा जानकारी गराउने सोच रहेको श्रेष्ठले जानकारी दिनुभयो। 

जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले व्यासको एक सय ८ फिट अग्लो मूर्ति निर्माणले व्यासप्रति चासो बढ्ने हुँदा प्रचारप्रसारमा टेवा पुग्ने हुँदा काम छिटो सम्पन्न गर्नुपर्ने र त्यसका लागि सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । काठमाडौंबाट १५० र पोखराबाट ५० किलोमिटर दूरीमा रहेको दमौलीमा पृथ्वी राजमार्ग भएर दैनिक हजारौं आन्तरिक तथा वाह्य पर्यटक आवातजावत गर्ने भएपनि व्यास भूमिमा उनीहरुलाई आकर्षित गर्नको लागि व्यासको १०८ फिटको मूर्ति निर्माणको लागि नगरपालिकाले प्राथमिकतामा राखेको व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपानेले बताउनुभयो। 

सात करोड लागतमा सङ्घीय सरकारको ६५ प्रतिशत र व्यास नगपालिकोको ३५ प्रतिशत गरी सात करोडको लागतमा मूर्ति निर्माण कार्य अघि बढेको भएपनि सङ्घीय सरकारले रकम समयमा नै निकासी नगर्दा समस्या परेको बताउनुभयो । 

विभिन्न शास्त्रीय प्रमाणले व्यासको जन्मभूमि दमौलीमा भएको स्वीकार गरिसके पनि प्रचारप्रसारको अभावमा यस क्षेत्रमा ओझेलमा परेको व्यासका अध्येता काशीनाथ न्यौपानेले बताउनुभयो । योगी नरहरिनाथले वेदव्यासको अवतरण भूमि दमौलीस्थित शुक्ला माहेन्द्री सङ्गम भएको उल्लेख गरेको र अन्य शास्त्रहरुमा पनि दमौलीमा जन्मभएको उल्लेख गरिएकोले प्रचारप्रसार गर्नुपर्ने न्यौपानेले बताउनुभयो । व्यासको बारेमा लेखिएको पुस्तकलाई व्यास नगरपालिकाले स्थानीय पाठ्यक्रममा समावेशन गरेपनि कार्यान्वयनमा नआएकोले कार्यान्वयनमा ल्याएर नयाँ पुस्तालाई यसको महत्वको बारेमा ज्ञान दिनुपर्ने न्यौपानेले बताउनुभयो । न्यौपानेले भन्नुभयो, ‘‘व्यास भूमि पौराणिक, आध्यात्मिक, धार्मिक, पुरातात्विक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण छ तर यो कुराको प्रचार प्रसार नहुँदा ओझेलमा परेको छ ।’’  

व्यास क्षेत्र शिवपाञ्चायन विकास कोषका संरक्षक दामोदर बाबाले व्यास यही जन्मिएकोले विश्वका वैदिक सनातन धर्मप्रेमी र ओमकार परिवारको मुख्य तीर्थस्थलको रुपमा विकास गर्न सकिएपनि त्यसतर्फ ध्यान नजाँदा प्रचारप्रसारको कमीले ओझेलमा परेको बताउनुभयो । भारत लगायत अन्य मुलुकबाट समेत पर्यटक व्यासभूमि अवलोकनका लागि आउने गरेको जानकारी उहाँले दिनुभयो । 

उत्तरतिर बगेको सेती नदी र मादी नदीको सङ्म दमौलीलाई विभिन्न शास्त्रीय प्रमाणले व्यासको जन्मभूमि दमौलीमा भएको स्वीकार गरेकोले यसको महत्वको बारेमा व्यापकता दिनुपर्ने उहाँको भनाइ थियो । व्यासको जन्म बारेको प्रसङ्गमा दमौलीदेखि ८ किमि पूर्व छाब्दी बाराहको मन्दिरदेखि करिब ५० मिटर पश्चिम पट्टिको कुण्डमा व्यासकी माता सत्यवतीको जन्म भएको मानिन्छ । माछाको रूपबाट जन्म भएकाले त्यस कुण्डको नाम मच्छेकुण्ड रहेको बताइन्छ । योगी नरहरिनाथले ‘आध्यात्मिक नेपाल एवं हिमालय देवोदेश’मा पाँच नदी सेती, मादी, बुल्दी, गुणादी र र छाब्दीको सङ्गमलाई व्यासको जन्मभूमि, कर्मभूमि र तपोभूमि, स्वामी प्रपन्नाचार्यले ‘मिल्केका झिल्का’ मा दमौली क्षेत्रलाई र कुमारबहादुर जोशीले आफूले अन्तर्वार्ताका क्रममा मादी र सेतीको सङ्गम नै व्यास(कृष्ण द्वैपायन)को जन्मस्थल भएको पाएको उल्लेख गरेका छन् । 

व्यासले वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नु भएको थियो । आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसैदिन व्यास जयन्ती मनाउने गरिएको हो । व्यास क्षेत्र शिवपाञ्चायन कोषका कार्यबाहक अध्यक्ष प्रेमप्रकाश भट्टराईले व्यासले पुराण र उपपुराणका माध्यमबाट सारमा अरुको उपकार गरे धर्म हुन्छ एवम् अरुलाई पीडा दिए पाप लाग्छ भन्दै मानवतावादी सन्देश दिनुभएकोले यसको प्रचार गर्नु जरुरी रहेको बताउनुभयो । 

कोषका सचिव विष्णभक्त सिग्देलले व्यासको महिमाको प्रचारप्रसार गर्न विभिन्न धार्मिक सम्मेलन गरे सहज हुने विश्वास व्यक्त गर्नुभयो । व्यास जयन्ती मनाउनको लागि व्यास नगरपालिकाले सोमबार सार्वजानिक विदा दिएको थियो । जयन्तीको अवसरमा नगरपालिकाले नगरपालिकाको हाताभित्र रहेको व्यास मूर्तिमा माल्यार्पण गरि व्यास जयन्ती मनाइएको छ । व्यासको मूर्तिमा नगरप्रमुख वैकुण्ठ न्यौपाने सहितका व्यक्तिहरूले माल्यार्पण गर्नुभएको थियो ।