• १० मंसिर २०८१, सोमबार

सारसङ्क्षेपमा श्रीमद्भागवतको कथा

blog

श्रीमद्भागवत महापुराण पुराणहरूमध्ये सबैभन्दा कान्छो मानिन्छ । १७ वटा पुराणहरू लेखिसक्दा पनि वेदव्यासलाई पूर्ण सन्तुष्टि भएन । आफ्नै आश्रममा आएका नारदजीसँग व्यासले आफ्नो व्यथा पोखे र नारदले व्यासजीलाई श्रीमद्भागवत महापुराणको रचना गर्ने प्रेरणा दिए । नारदजीको सल्लाह र प्रेरणाबाट व्यासजीले श्रीमद्भागवत महापुराणको रचना गरे र यही ग्रन्थबाट उनलाई परम् सन्तुष्टि प्राप्त भयो । १८ पुराणमध्ये श्रीमद्भागवतलाई नै सर्वश्रेष्ठ पुराणका रूपमा लिइन्छ । भगवान् श्रीकृष्णको स्वधाम गमनपछि कलियुगको आगमन भयो । पाण्डवहरूले आफ्ना नाति परीक्षितलाई राजा बनाएर स्वर्ग प्रस्थान गरे । पृथ्वीको दिग्विजय गरी चव्रmवर्ती सम्राट् बनेका परीक्षितमा आफैँले आश्रय दिएका कलिको प्रभाव प¥यो । सिकार खेल्न जङ्गल पसेका उनले तपस्यारत शमिक मुनिका गलामा मरेको सर्प पहिराइदिए । शमिक मुनिका पुत्र शृङ्गी ऋषिलाई आफ्ना पिताको अपमान सह्य भएन । उनले राजा परीक्षितलाई सात दिनका दिन सर्पले डसेर मृत्यु हुने श्राप दिए । श्राप पाएको सातौँ दिनमा आफ्नो मृत्यु हुने बुझेपछि छोरा जन्मेजयलाई राजपाट सुम्पेर गङ्गा किनारमा पुगेका परीक्षितलाई व्यासपुत्र शुकदेवले जन्ममृत्युको चक्करबाट मुक्त हुने ज्ञान दिए । शुकदेवले राजा परीक्षितलाई दिएको त्यही ज्ञान नै श्रीमद्भागवतका रूपमा आज प्रसिद्ध बनेको छ । यसमा भक्ति, ज्ञान र कर्मको उपदेश गरिएको छ । मृत्युको सम्मुख पुगिसकेका मनुष्यले कसरी मोक्ष पाउने भन्ने प्रश्नको उत्तरमा श्रीमद्भागवतको सिङ्गो कथा घुमेको देखिन्छ ।

श्रीमद्भागवतमा १२ स्कन्ध, ३३५ अध्याय र १८ हजार श्लोक छन् । प्रत्येक श्लोकबाट श्रीकृष्णप्रतिको प्रेम र भक्ति रसको महिमा दर्साइएको छ । भक्तिमार्गी वैष्णवहरू भागवतलाई श्रीकृष्णकै विग्रहका रूपमा पूजा गर्छन् । अखण्ड पाठ, एकाह पाठ र सप्ताहका रूपमा आज पनि हाम्रो समाजमा भागवतको पाठ गर्ने एवं कथा सुन्ने, सुनाउने प्रचलन छँदैछ । 

श्रीमद्भागवत महापुराणको महत्त्व, रहस्य र विशेषता उजागर गर्ने उद्देश्यले विभिन्न विद्वान्, सन्तमहन्त र जगद्गुरुहरूले समेत विभिन्न भाष्य, टीका, सार आदि खुलाउने ग्रन्थको रचना गरेका छन् । यसै सन्दर्भमा सिन्धुपाल्चोक, चौतारा, पीपलडाँडा स्थायी घर भई हाल काठमाडौँ, अनामनगर बस्नुहुने श्रीमती शोभा न्यौपानेले पनि श्रीमद्भागवत (रहस्य, सारसङ्ग्रह) नामक ग्रन्थ प्रकाशन गर्नुभएको छ । आफ्ना घरमा आयोजना गरिएको सप्ताहको छायाछविसमेत समेटेर प्रकाशन गरिएको यस पुस्तकमा भागवतको पद्यानुवाद वा भावानुवाद नगरी प्रत्येक स्कन्धको सङ्क्षिप्तमा कथासारसहित भागवतको मर्मलाई निबन्धका ढाँचामा प्रस्तुत गर्ने प्रयास गरिएको छ । १२ स्कन्धका कथासारबाहेक यस ग्रन्थमा प्रथम भाग, नमामि हरि परम्, एकम् सद् विप्रा बहुधा वदन्ति, विद्याव्यसनम् अथवा हरिपादसेवनम् व्यसनम्, शिष्यस्तेहऽम् शाधि मां त्वां प्रपन्नाम, सत्यं भूतहिंत प्रोक्तम्, जगत् पितरौ वन्दे पार्वती परमेश्वराै, ध्रुवाख्यान, मर्धाेवन मृत्यदिदृक्षया गतः जस्ता शीर्षकमा भागवती वार्ताका रहस्यलाई पनि समेट्न खोजिएको छ ।

यस ग्रन्थमा पनि भागवत पुराणलाई प्रेमको ग्रन्थका रूपमा चिनाइएको छ । पुरुषार्थ चतुष्ट्य नै जीवनको लक्ष्य हो । भगवान्को अहैतुकी कृपा प्राप्त गर्ने एक मात्र सरल उपाय भनेको भक्ति गर्नु हो । पिवत भागवतम् रसमालयम् अर्थात् भागवतरूपी रसको अमृत पान गर्नाले भक्ति जागृत हुन्छ । भगवान्मा समर्पित भएर मात्र भगवान्लाई प्राप्त गर्न सकिन्छ । ज्ञान र कर्मको मार्ग जटिल हुनाले कलिकालमा सीमित आयु हुने हामी मनुष्यहरूको मुक्तिको एक मात्र सरल मार्ग भनेको भक्ति मार्ग हो, प्रेमको मार्ग हो, कलौ केशव कीर्तनात् अर्थात् कीर्तनको मार्ग हो । जीवनको एक मात्र उद्देश्य भनेको भगवद्प्रेम हो, ईश्वरको प्राप्ति हो भन्ने विषयलाई यस ग्रन्थमा विभिन्न दृष्टान्त कथा र उदाहरणहरूबाट पुष्टि गर्ने प्रयास गरिएको छ । यसबाहेक सृष्टिको वर्णन, भगवान्का अवतारहरूको वर्णन, खगोल भूगोलको वर्णन, स्वर्गपाताल आदि लोकको वर्णन, २६ वटा प्रमुख नरकको वर्णनका साथै विभिन्न राजाहरूका वंशको रोचक वर्णन पनि ग्रन्थमा पाइन्छ । ग्रन्थमा देखिने विदुर र उद्धवको संवाद, कपिलदेव र देवहुतीको संवाद, जडभरत र राजा रहुगणको संवाद, पुरञ्जनोपाख्यान आदि प्रसङ्गले ग्रन्थलाई थप रोचक र पठनीय बनाएका छन् । विदज्ञतां भागवते परीक्षा अर्थात् विद्वान्हरूको परीक्षा भागवत ग्रन्थमा हुन्छ भन्ने त भनाइ नै छ । यस भनाइबाट पनि भागवतको महत्त्व झल्कन्छ । यस ग्रन्थमाथि विवेचना गर्दै जाँदा अनेक नयाँ ग्रन्थ जन्मिन सक्छन् । केही भाषिक त्रुटि रहे तापनि यस्ता विशद् र विशालकाय ग्रन्थका रहस्यलाई उजागर गर्ने उद्देश्यले लेखिएको प्रस्तुत ग्रन्थ भागवत पुराणका विषयमा जान्न बुझ्न चाहने जोसुकै नेपालीभाषी पाठकहरूका लागि निकै उपयोगी हुने देखिन्छ ।  

Author

हेमराज अधिकारी