• २० असोज २०८१, आइतबार

सात वर्षदेखि बजेट, अझै बनेन प्रशासकीय भवन

blog

उर्लाबारी समाचारदाता

उर्लाबारी, असार १५ गते । मोरङका १७ वटा स्थानीय तहमध्ये पथरीशनिश्चरे नगरपालिकाले अझै प्रमुख प्रशासकीय भवन निर्माण गर्न सकेको छैन। पथरीशनिश्चरे नपाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमा पनि जग्गा खोजबिनका लागि ७० लाख रुपियाँ विनियोजन गरेको छ। 

साविकको पथरी र शनिश्चरे गाविस समाहित भएर २०७० मा पथरीशनिश्चरे नगरपालिका गठन भएको थियो। तत्कालीन अवस्थामा नगरको केन्द्र साविक शनिश्चरे गाविसको शिविरडाँडामा तोकिएको थियो। २०७३ सालमा राज्यपुनर्संरचना आयोगले पथरीशनिश्चरे नगरपालिकामा हसन्दह गाविस थप गर्ने निर्णय गरी नगरको केन्द्र वडा नं. १० को भुटानी शरणार्थी शिविरडाँडामा नै राख्ने निर्णय ग¥यो। आयोगले तोकेको जग्गा नेपाल सरकारको वन क्षेत्र हो। जहाँ वनले सट्टा भर्नामा अन्यत्र जग्गा उपलब्ध नगराएसम्म भवन निर्माण गर्न दिँदैन। 

“सात वर्षदेखि कहिले क्षेत्रीयताका नाममा त कहिले कानुनी विवादका नाममा बन्न नसकेको प्रशासकीय भवन दोस्रो कार्यकालका जनप्रतिनिधिले पनि निर्माण गर्लान भन्ने आस मरिसकेको छ,” स्थानीय विजय खम्बू भन्नुहुन्छ, “वडा नम्बर ७ को कीर्तिपुरमा एक बिघा ११ कट्ठा जमिन निःशुल्क दिने दाता पाएको थियो। त्यहाँ नगरको ध्यान गएन।”   

राज्य पुनर्संरचनापछि दोस्रो पटक स्थानीय तहको निर्वाचन भइसक्दा पनि प्रशासनिक भवन कहाँ निर्माण गर्ने भन्ने विषयलाई टुङ्ग्याउन सकिएको छैन। भौगोलिक एवं राजनीतिक रूपमा स्वार्थ बाझिँदा नगरपालिकाको भवन निर्माण अझ पेचिलो बन्दै गएको छ। नगरपालिकाको काम साविकको पथरी गाविस भवनबाट सञ्चालन हुँदै आएको छ तर कार्यालय अत्यन्तै साँघुरो भएपछि तीन वर्षअघि नगरपालिकाले भाडामा घर लिएर कार्यालय सञ्चालन गर्दै आएको छ। मासिक ५० हजार रुपियाँ घरभाडामा तिर्दै आएको नगरपालिकाले निःशुल्क जग्गा पाउँदा पनि त्यस जग्गामा भवन बनाउन सर्वदलीय सहमति जुटाउन सकेन।   

कानुनी र राजनीतिक लफडा 

साविकका पथरी र शनिश्चरे गाविस मिलाएर १५ वटा वडाको पथरीशनिश्चरे नगरपालिका गठन गर्ने राजनीतिक सहमति बन्यो। सोही सहमति अनुसार पथरीमा ७ वडा र शनिश्चरेमा ८ वटा वडा बनाएर नगरपालिका निर्माणको सिफारिस गरियो। सिफारिसमा नगरपालिकाको कार्यालय साविकको शनिश्चरे वडा नम्बर १ अर्थात् नगरपालिकाको वडा नं. ८ शिविरडाँडामा राख्ने सहमति गरी सम्बन्धित निकायमा पत्राचार गरियो। तत्कालीन स्थानीय विकास मन्त्रालयले राजनीतिक दलको सिफारिस अनुसार नै नगरपालिकाको कार्यालय शिविरडाँडामा रहने गरी नगरपालिका र प्रशासनिक भवन रहने स्थान तोक्यो।

नगरपालिकाको कार्यालय शिविरडाँडामा सरेन। त्यसपछि शनिश्चरेवासी अदालत पुगे। तत्कालीन पुनरावेदन अदालतले २०७१ असार ३ गते र सर्वोच्च अदालतले २०७१ असोज २७ गते नगरपालिका कार्यालय साविकको  शनिश्चरे–१ मा राख्न आदेश दियो। २०७४ मा पहिलो पटक निर्वाचित कार्यपालिकाले अदालतले दिएको आदेश कार्यान्वयन गर्न सकेन। त्यसपछि पथरीवासी र शनिश्चरेवासीबिच थुप्रै पटक नगरपालिकाको बोर्ड तानातान चल्यो। कहिले मङ्गलबारेको रेडक्रस भवनमा नगरपालिकाको बोर्ड राखियो भने कहिले शिविरडाँडामा। भवनका लागि जग्गा तय हुन नसकेपछि नगरपालिकाको भवन निर्माणका लागि आएको बजेट पटक पटक फ्रिज भयो। 

अर्कोतर्फ नयाँ संविधान जारी भएपछि राज्यपुनर्संरचना आयोगले पथरीशनिश्चरे नगरपालिकामा हसन्दह गाविसलाई जोड्यो। हसन्दह गाविसका नौ वडालाई दुई वटा वडा बनाइयो भने साविकको १५ वडाको नगरपालिकालाई १० वडामा सीमित गराइयो। कुल १० वडाको नगरपालिका बनेपछि पनि शनिश्चरेवासीले शिविरडाँडामा नै नगरपालिका बन्नुपर्ने अडान छोडेका छैनन् पथरीवासीले भने हसन्दह गाविससमेत समायोजन भएपछि पथरी गाविस भवनबाटै नगरपालिका सञ्चालन हुनुपर्ने र त्यहीँ नयाँ भवन बन्नुपर्ने अडान राख्दै आएका छन्। यता हसन्दहवासी आफ्नो गाविस मिसिएपछि नगरको केन्द्रबिन्दु कीर्तिपुर भएको दाबी गर्दै आएका छन्।  

पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापोले भन्नुभयो, “हाम्रो कार्यकालभित्र हामी प्रशासनिक भवन निर्माण गरी हस्तान्तरण गर्छौं।”  सात वर्षयता जग्गाको खोजीमा लाखौँ रुपियाँ खर्च गरिसकेको नगरपालिकाले प्रशासनिक भवन निर्माण गर्ला भनेर स्थानीयवासीले पत्याउन छोडेका छन्।  हाल नगरपालिकाले चार वटा भवनबाट सेवा प्रवाह गरिरहेको छ। जसमध्ये एउटा भवन भाडाको हो।