• १४ मंसिर २०८१, शुक्रबार

बेथानचोक बन्यो निःशुल्क शिक्षा भएको गाउँपालिका

blog

बनेपा समाचारदाता 

काभ्रेपलाञ्चोक, असार १५ गते । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका ‘अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन’ भएको गाउँपालिका घोषणा भएको छ। बुधबार भएको कार्यक्रममा बागमती प्रदेश सभा सदस्य कञ्चनचन्द्र बादे श्रेष्ठले बेथानचोक गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन गाउँपालिका घोषणा गर्नुभएको हो।

बेथानचोक गाउँपालिका अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन घोषणा गर्ने जिल्लाको  पहिलो स्थानीय तह हो। गाउँपालिका अध्यक्ष भगवान अधिकारीले गाउँपालिकाका छ वटै वडा कार्यालयमार्फत चार हजार १७७ घरधुरीमा बालबालिकाको विवरण सङ्कलन गर्दा चार वर्ष पूरा भई १३ वर्ष उमेर पूरा नभएका पाँच जना बालक र दुई जना बालिका विद्यालयबाहिर रहेको भेटिएको जानकारी दिनुभयो। 

उहाँले विद्यालयबाहिर रहेका बालबालिकालाई स्थानीय विद्यालयमा भर्ना गरिएकाले गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन गराउने गाउँपालिका घोषणा गरिएको बताउनुभयो। कार्यक्रममा प्रदेश सभा सदस्य बादेले शिक्षामा गरिएको लगानीको प्रतिफल तुरुन्तै प्राप्त नहुने बताउनुभयो। उहाँले शिक्षाको लगानी खोज्न कम्तीमा आधा दशक पर्खिनुपर्ने बताउँदै शिक्षकहरूले शिक्षा प्रदान गर्ने सवालमा कुनै सम्झौता नगरी नतिजा निकाल्न आग्रह गर्नुभयो। 

गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिना र गाउँपालिका शिक्षा शाखा प्रमुख पुष्पा राईले सरकारले वि.सं. २०८४ भित्र सबै स्थानीय तहमा अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन गराउने अभियान सञ्चालन गरेसँगै गाउँपालिकाले समेत अभियान सञ्चालन गरेको बताउनुभयो।