• १३ असोज २०८१, आइतबार

कोशीमा मुख्यमन्त्रीले आज विश्वासको मत लिने

blog

शशीधर पराजुली

विराटनगर, असार १५ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रस्तुत गर्नुभएको विश्वासको मत लिने प्रस्ताव बिहीबार निर्णयार्थ प्रस्तुत नगरी शुक्रबार प्रस्तुत गर्ने गरी बैठक स्थगित भएको छ । 

यो पनि पढ्नुहोस

जोगिएला त कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको पद !

बिहीबारको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव गरी छलफलसमेत सकिसकेको अवस्थामा मुख्यमन्त्री नै प्रदेश सभाबाट बाहिरिएपछि बिहीबार मुख्यमन्त्रीको प्रस्ताव निर्णयार्थ प्रस्तुत नहुने अवस्था उत्पन्न भएको हो । प्रदेश सभा सचिवालयले प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठकमा विश्वासको मत लिने प्रस्तावसँगै निर्णयार्थ प्रस्तुत हुने कार्यसूची प्रकाशन गरेको थियो तर बैठकमा उक्त प्रस्ताव निर्णयार्थ पेस भएन । 

मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गरेपछि दलका नेताहरू छलफलमा सहभागी भएका थिए । छलफका क्रममा मुख्यमन्त्रीले विश्वासको मत नपाउने देखेपछि मत विभाजनको प्रक्रिया सुरु गर्नुअघि आधा घण्टाका लागि स्थगित गरिएको थियो । छलफलमा उठेका प्रश्नको जवाफ दिने र तथ्याङ्क तयारी गर्न भन्दै मुख्यमन्त्री साँझ ६ बजे प्रदेश सभाबाट बाहिरिनुभएको थियो । त्यसपछि पटक पटक सूचना प्रकाशित गर्दै सरेको बैठक पुनः बस्न सकेन र राति अबेर सूचना टाँस गरेर शुक्रबार ११ बजेसम्मका लागि स्थगित गरिएको छ । 

मुख्यमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्दै सबै दलसँग मत माग्नुभएको थियो । त्यस क्रममा उहाँले अहिलेको सरकारलाई विश्वास नगर्नुपर्ने कुनै कारण नभएको र आफ्नो नेतृत्वको सरकारले विश्वासको मत नपाए कोशी प्रदेशमा अर्को कुनै सरकार बन्ने सम्भावनासमेत नरहेको दाबी गर्नुभएको थियो । सरकारले चालु खर्चलाई उल्लेख्य रूपमा घटाएको, प्रदेश सरकारको दायित्व बढ्न नदिएको, सुशासन स्थापना गरेको र पाँच महिनाको अवधिमा सरकारले पाँच वर्षमा राख्न नसकेको प्रदेशको नाम राखेको कुरालाई सरकारको सफलताका रूपमा व्याख्या गर्नुभएको थियो । 

कोशी प्रदेश सभाका कुल ९३ सदस्यमध्ये मुख्यमन्त्री कार्कीको पक्षमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका गरी ४६ जनाको समर्थन देखिएको छ । एक जना सांसद रहेको जनता समाजवादी पार्टी तटस्थ बस्दा विपक्षीतर्फ नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका चार गरी ४६ मत नै देखिएको छ ।