• १२ मंसिर २०८१, बुधबार

माग सम्बोधन गराउन अपाङ्गता भएकाहरू आन्दोलित

blog

धनगढीको सडक अन्दोलमा अपाङ्गता भएका ब्यक्तिहरु । तस्विर : भवानी ऐर

भवानी ऐर

गोदावरी (कैलाली), असार १४ गते । सुदूरपश्चिम प्रदेश सरकारले आफूहरूको माग सम्बोधनमा गम्भीर नबनेको भन्दै अपाङ्गता भएकाहरू आन्दोलित भएका छन्  । धनगढीमा एक हप्ताअघि नै पत्रकार सम्मेलनमार्फत आन्दोलनको घोषणा गरेर उहाँहरू सडक तताउँदा पनि सरकारले चासो नदिएको उहाँहरूको गुनासो छ ।   

प्रदेश सरकारले आगामी वर्षका लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा अपाङ्गता भएका नागरिकलाई होच्याउने र अपमानित खालका शब्द प्रयोग गरिएको उहाँहरूको भनाइ छ । बजेटमा समावेशीरुपमा अपाङ्गता भएकालाई नसमेटेको भन्दै उहाँहरूले मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, प्रदेश सभा सचिवालय र सामाजिक विकास मन्त्रालयमा ज्ञापनपत्र बुझाएको थियो । 

कहीँ कतैबाट केही सम्बोधन गर्ने छाँट नदेखेपछि सडक आन्दोलन गर्न बाध्य भएको अपाङ्गता अधिकार प्रवर्द्धन सङ्घर्ष समितिका संयोजक भीमबहादुर शाहले जानकारी दिनुभयो । माग सम्बोधन गरिदिन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जाँदा गेटमा रोकेपछि धनगढी बजारमा प्रदर्शन गर्दै रिले अनसन सुरु गरेको उहाँले बताउनुभयो ।

राष्ट्रिय अपाङ्ग महासङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष मानबहादुर साउदले माग सुनवाइ नहुँदासम्म आन्दोलन जारी रहने बताउनुभयो । संविधानप्रद हकअधिकार कार्यान्वयन गराउन अपाङ्गता भएका व्यक्तिहरूले सडक आन्दोलन गर्नुपरेको विडम्बना भएको भन्दै उहाँले मुख्यमन्त्रीसहित प्रदेश सरकारका सबै मन्त्रीलाई अपाङ्गता भएकाहरूको शिक्षा, स्वास्थ्य र रोजगारसँग जोडिएका माग राखिए पनि सुनुवाइ नभएको गुनासो गर्नुभयो ।

राष्ट्रिय अपाङ्ग महासङ्घ सुदूरपश्चिम प्रदेशका सचिव एवं सङ्घर्ष समिति सदस्य नन्दराज भट्टले अपाङ्गताका क्षेत्रमा कार्यरत सबै सङ्घ संस्थाको संस्थागत विकास र सबलीकरणका लागि केही बजेट माग गरेको बताउनुभयो । यस्तै, आवश्यक सहायक सामग्री, सरकारी अस्पतालमा साङ्केतिक दोभाषेको व्यवस्था लगायतका माग रहेको उहाँको भनाइ छ ।