• १४ मंसिर २०८१, शुक्रबार

चौरमा पढ्दै बालबालिका

blog

बाबुराम देवकोटा

सिन्धुलीमाढी, असार १४ गते ।  सिन्धुलीको कमलामाई नगरपालिका–४, केराबारीको एक प्राथमिक विद्यालयका विद्यार्थी एक सातादेखि चौरमा बसेर पढिरहेका छन्। जस्तापाताले छाएको विद्यालय भवनको छानो हावाहुरीले उडाएपछि विद्यार्थी खेलमैदानमा बसेर दिनभर पढ्छन्। बालविकास कक्षासहित कक्षा ५ सम्म सञ्चालित यो विद्यालयमा अहिले ४३ बालबालिका अध्ययनरत छन्।

छानो उठाएपछि कक्षाकोठा बस्नयोग्य नभएको र विद्यालयमा अरू कोठाको अभाव भएपछि चौरमै बसेर पढ्न पढाउन बाध्य भएको सो विद्यालयका प्रधानाध्यापक हेमबहादुर आलेले बताउनुभयो। खुला चौरमा पढ्नुपर्ने भएपछि बालबालिका विद्यालय आउने क्रम घट्दै गएको बताइएको छ। दिनैजसो पानी परिरहेकाले कक्षाकोठा हिलाम्मे रहेको र कक्षाकोठाभित्र राखेर पढाउन सक्ने अवस्था नरहेको उहाँले जानकारी दिनुभयो।

विद्यालयको छानो उडाएको एक साता बितिसके पनि कसैले चासो नदिएको उहाँले गुनासो गर्नुभयो। उहाँले भन्नुभयो, “गत बिहीबार वर्षासँगै आएको हावाहुरीले छानो उडाएर ध्वस्त नै बनाएको छ। छानो मर्मतका लागि सहयोग माग्न नगरपालिका धाइरहेको छु।” हावाहुरीले जस्तापातासहित छानो छाउन प्रयोग गरिएका काठसमेत भाँचेको छ।

सो विद्यालयका दुईवटा भवनमध्ये बालविकास कक्षा र कार्यालय भवन रहेको दुईकोठे भवन मात्रै सुरक्षित छ। पानी परेको बेला चौरमा पढिरहेका विद्यार्थी बालविकास कक्षा र कार्यालयमा आएर ओत लाग्ने गरेका छन्। कमलामाई नगरपालिकाका कतिपय विद्यालयमा आधुनिक शैलीका पक्की भवन निर्माण भइरहेका छन् तर २०४४ सालमा स्थापना भएको यो विद्यालय ढुङ्गा माटोको गारोबाट निर्माण गरिएकाले जीर्ण छ। 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सक्तबहादुर तामाङले भन्नुभयो, “छानोको अभावमा बालबालिकाको पढाइलाई नियमित गर्न निकै सकस भएको छ।” कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेलले विद्यालय मर्मतका लागि आवश्यक जस्तापाता र छाउन लाग्ने खर्च उपलब्ध गराई सहयोग गर्ने बताउनुभयो।