काठमाडौँ, असार १४ गते । राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबिचको एकताले नै मुलुकको राष्ट्रियता र राष्ट्रिय एकताको भावनालाई प्रगाढ बनाउन योगदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ। मुस्लिम समुदायको महान् पर्व इद–उल–अज्हा (बकर इद) का अवसरमा शुभकामना सन्देश दिँदै उहाँले यस पर्वले नेपालीबिच राष्ट्रिय एकता, सहिष्णुता र सद्भाव कायम गरी समृद्ध र समुन्नत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ।
इस्लाम धर्मावलम्बीले मनाउने यस पर्वले मुलुकमा मेलमिलाप, एकता र सहकार्यको वातावरण निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। सामाजिक संस्कृति, परम्परा, रीतिरिवाज, जातजाति र भेषभूषाको विविधता रहेको हाम्रो मुलुकमा यस पर्वले मुलुकको धार्मिक सहिष्णुता र सामाजिक सद्भावको वातावरणलाई अझ मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ।
यसैबिच उपराष्ट्रपति रामसहायप्रसाद यादवले शुभकामना सन्देश दिँदै इद–उल–अज्हा (बकर इद) पर्वले नेपाली राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकतालाई अझ बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। विभिन्न समुदायका चाडपर्व, धर्म, संस्कृति, रीतिरिवाज, परम्परा र संस्कारले मुलुकको आपसी सहिष्णुतालाई थप प्रगाढ बनाउन मद्दत पुग्ने उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ।
यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इद पर्वमा शुभकामना सन्देश दिनुहुँदै यस पर्वले नेपालीहरूबिच मेलमिलाप, राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकतालाई थप बलियो बनाउने बताउनु भएको छ। उहाँले सन्देशमा भन्नुभएको छ, ‘‘संविधानको प्रभावकारी कार्यान्वयनमार्फत बलियो राष्ट्रिय एकता, समुन्नत एवं समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय अभियानमा थप प्रेरण मिल्ने छ ।’’
यस्तै नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बकर इद पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै आएको बताउनुभएको छ।
इदका अवसरमा शुभकामना दिँदै उहाँले यस पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ।
यसैगरी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सोही अवसरमा शुभकामना दिनुहुँदै भन्नुभएको छ, ‘‘सुशासन, समृद्धि, सामाजिक न्यायको बाटो मार्फत समाजवादउन्मुख अर्थतन्त्र, राष्ट्रिय स्वाधिनता र सदभावयुक्त समाज निर्माणमा लाग्न इस्लाम धर्मावलम्बी सहित सबै समुदायमा हार्दिक आह्वान गर्दछु ।’’