• ११ मंसिर २०८१, मङ्गलबार

आठ वर्षमा पनि सकिएन विद्यालय भवनको निर्माण

blog

निर्माणाधीन विद्यालयको भवन । तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा

गुल्मी, असार १३ गते । आठ वर्षअघि निर्माण कार्य सुरु गरिएको गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटदहको धाराचौर आधारभुत विद्यालयको भवन अहिलेसम्म पनि निर्माणाधीन अवस्थामा छ । साबिक जिल्ला विकास समितिलाई यस विद्यालयका लागि भारतीय दूतावासमार्फत् २०७२ सालमा १६ कोठे भवन निर्माणका लागि योजना परेको हो । 

टेण्डर आव्हानमार्फत प्रवेश शुभनारायण जेभी काठमाडौंले ९९ लाखमा भवन निर्माणको जिम्मा पाएको थियो । निर्माण व्यवसायी दिनेश लामा काठमाडौं बस्ने भएको हुँदा विद्यालय भवन निर्माणप्रति त्यति चासो नदिएको स्थानीयहरुको आरोप छ ।

१५ महिनामा भवन निर्माणको कार्य सक्नुपर्ने सम्झौता थियो । आठ वर्षसम्म पनि निर्माण कार्य सकिएको छैन । जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले गतवर्ष निर्माण व्यवसायी लामालाई सम्पर्कमा ल्याएर वैशाखसम्म भवन निर्माणको काम सकेर बुझाउन ताकेता गर्नुभएको थियो । 

बुधबार अनुगमनका लागि त्यस विद्यालयमा पुग्नुभएका समन्वय प्रमुख खत्रीले अहिलेसम्म पनि भवन निर्माणको काम पूरा नभएकोभन्दै दुःख व्यक्त गर्नुभयो । अनुगमनमा जिल्ला समन्वय अधिकारी सिर्जना मिश्र, मदाने  गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर कुँवर, उपाध्यक्ष सरिता खड्का, प्रमुख प्रशासकीय अधिकृत शालिकराम पन्थीलगायतको सहभागिता रहेको थियो ।