• २८ वैशाख २०८१, शुक्रबार

अवरोधपछि प्रदेशसभा बैठक स्थगित

blog

बागमती प्रदेशको प्रदेश सभा बैठक अवरोध गर्दै विपक्षी दलका प्रदेश सभा सदस्यहरु । तस्बिर : राममणि दाहाल

राममणि दाहाल

हेटौँडा, असार १३ गते । बागमती प्रदेश सभाको बैठक नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सभा सदस्यहरुको लगातारको अवरोधपछि पुनः स्थगित गरिएको छ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि विनियोजन गरेको बजेटमाथि छलफल गर्ने कार्यसूची तय भए पनि विपक्षी दलको अवरोधका कारण बजेटमाथिको छलफल सुरु हुन सकेन । 

एमाले र राप्रपाले प्रदेश सभाको बैठक आफ्ना मागहरु सत्ता पक्षले सम्वोधन नगरेसम्म बैठक चल्न नदिने बताएपछि प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले प्रदेश सभा असार १७ गते आइतबार दिउँसो २ः०० बजेसम्मका लागि स्थगित गरिएको जानकारी दिनुभयो । 

एमाले र राप्रपाले बजेटमा भेदभाव गरिएको भन्दै प्रदेश सभाको बैठक चल्न दिएका छैनन् । 

मङ्गलबारको बैठकमा एमाले र राप्रपाको अवरोधपछि सूचना टाँस गरेर स्थगित गरी बुधबार बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो । दलहरुबीच सहमति नजुटेपछि विशेष कारणबस भन्दै दिउँसो १ः३० बजे बैठक बस्नेगरी समय निर्धारण गरिएकोमा सो समयमा पनि बैठक बस्न सकेन ।

दिउँसो ३ः३० बजे बैठक बस्ने समय निर्धारण गरिए पनि सो समयमा पनि बैठक नबसेपछि पुनः साँझ ५ः०० बजे बैठक बोलाइएकोमा करिब आधा घण्टा ढिलागरी बैठक सुरु भएको थियो ।

बैठक सुरु भएलगत्तै प्रदेश सभाका सभामुख पाठकले प्रदेश सभा सदस्यलाई समय दिने जानकारी गराएलगत्तै प्रदेश सभा सदस्यहरुले उठेर प्रदेश सभाको बैठक अवरोध गरेपछि बैठक अघि बढ्न सकेन ।  

राप्रपा संसदीय दलका नेता उद्धव थापाले सरकारको आगामी आवको बजेट असन्तुलित र पक्षपाती भएको भन्दै बजेटप्रति असन्तुष्टि जनाउनुभयो । बैठकमा मुख्यमन्त्री, मन्त्री, सत्तारुढ दलका सीमित प्रदेश सभाका सदस्यहरुका साथै विपक्षी दलहरुका प्रदेश सभाका सदस्यहरुको न्यून उपस्थिति रहेको थियो ।