एकिन्द्र तिमिल्सेना
टीकापुर, असार १३ गते । टीकापुर नगरपालिका –१ शक्तिनगर मुक्त कमैया शिविरमा भएको स्वास्थ्य शिविरमा ४०१ जनाको स्वास्थ्य परीक्षण भएको छ । नेपाल प्रहरी श्रीमति संघ सुदूरपश्चिम प्रदेशको आयोजनामा र सुदूरपश्चिम प्रदेश प्रहरी अस्पतालको प्राविधिक सहयोगमा बुधबार भएको निःशुल्क स्वास्थ्य शिविरमा २६४ जना महिला र १३७ जना पुरुषले सेवा लिएका हुन् ।
प्रहरी नायवउपरीक्षक डा. सविता सिंहको नेतृत्वमा ११ जना चिकित्सक र स्वास्थ्यकर्मीका टोलीले स्वास्थ्य सेवा प्रदान गरेको छ । स्वास्थ्य जाँच गर्न आएका मानिसहरुमा ढाड दुख्ने, छालासम्बन्धी समस्या र ग्याष्ट्रिकको समस्या बढी देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
मुक्त कमैया शिविरका नागरिकमा स्वास्थ्य समस्या हुनसक्ने भएकाले समस्या समाधानमा केही सहयोग पुगोस् भन्ने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको नेपाल प्रहरी श्रीमति संघ सुदूरपश्चिमका अध्यक्ष एकता बोहराले जानकारी दिनुभयो ।
टाउको दुख्ने, रिङ्गटा लाग्ने समस्या भए पनि गर्मीका बेला अस्पताल जान जाँगर नलागेर घरै बसेकी राजकुमारी चौधरीले शिविरमा आएर रक्तचाप कम भएको थाहा भएको र औषधि पनि प्राप्त गरेको बताउनुभयो ।
यस्तै ६० वर्षीय कर्णबहादुर रोकायाले आफ्नो स्वर नआउने, कम्मर दुख्ने समस्या भएकाले शिविरमा आएको र शिविरमा सुगरको जाँच गर्दा सुगर पनि देखिएको बताउनुभयो । रोकायाले बच्चाको कान पाकेको उपचार पनि भएको बताउनुभयो । बस्तीका पूर्व बडघर रामलाल डंगौराले अस्पतालमा जान नसक्ने र जान मन नगर्नेका लागि मुक्त कमैंया शिविरमा स्वास्थ्य शिविर सञ्चालन हुँदा खुशी लागेको बताउनुभयो ।