प्रकाशविक्रम शाह
धनगढी, असार १३ गते । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले रामायणमा सीताले परीक्षा दिएजस्तै भ्रष्टाचारविरुद्धमा एमालेले जस्तोसुकै परीक्षा दिन तयार रहेको बताउनुभएको छ ।
धनगढीमा बुधबार आयोजित एमालेको जनसंगठन समन्वय संयन्त्रको प्रथम सुदूरपश्चिम भेलामा उहाँले भन्नुभयो, “एमालेले कुनै गल्ती गरेको छैन, सबैखालका अनियमित्तामा छानविन हुनुपर्छ, राजनीतिक आग्रहले मात्र काम गर्नु हुँदैन ।”
एमालेमाथि चौतर्फी घेरावन्दी भएको बताउँदै एमालेले देशको हितमा धेरै काम गरेको र राष्ट्रियता जोगाएको उहाँले प्रष्ट पार्नुभयो । समाजवादी मोर्चाबारे टिप्पणी गर्दै समाजवाद छोडेकाहरुले समाजवादी हौं भन्नु शोभनीय नभएको उहाँले बताउनुभयो ।
उहाँले जनतासँग जोडिएका सवाल उठाएर जनता र विभिन्न क्षेत्रका मानिसलाई पार्टीसँग जोड्न पनि जनसंगठनलाई निर्देशन दिनुभयो । एमालेको जनसंगठन समन्वय संयन्त्रको सुदूरपश्चिमका इन्चार्ज झपट रावलको अध्यक्षतामा भएको सो भेलामा संयन्त्रका केन्द्रीय इन्चार्ज भानुभक्त ढकालललगायतले बोल्नुभएको थियो ।
भेलामा नौ वटै जिल्लामा एमालेका जनसंगठनको अवस्थाबारे नौ वटै जिल्लाका प्रतिनीधिहरुले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।