• १९ साउन २०८१, शनिबार

तानसेन नगरपालिकाबाट श्रम स्वीकृत दिन सुरु

blog

तानसेन नगरपालिका ।

बिन्दु थापा
पाल्पा, असार १३ गते । 
पाल्पाको तानसेन नगरपालिकाले श्रम स्वीकृत दिन थालेको छ  । नगरप्रमुख श्रेष्ठले वैदेशिक रोजगारमा जानेहरूका लागि आवश्यक पर्ने श्रम स्वीकृति नगरपालिकाबाट दिन सुरु गरेको बताउनुभयो । वैशाख १ गतेदेखि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्थानीय तहमै श्रम स्वीकृति दिने निर्णय गरेअनुसार दिइएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।

सूचना अधिकृत भरत आचार्यले तानसेन नगरप्रमुख सन्तोषलाल श्रेष्ठले तानसेन नगरपालिकाका–७ का प्रेमबहादुर कार्कीलाई पहिलो श्रम स्वीकृत दिएर नयाँ कामको सुरुवात गरेको जानकारी दिनुभयो ।

श्रम स्वीकृतको फाराम भर्न नगरपालिका रोजगार सेवा केन्द्रमा एक हप्ता अगाडि नै आउनुपर्ने रोजगार संयोजक राधा घिमिरेले जानकारी दिनुभयो । रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबाट व्यक्तिगत श्रम स्वीकृत र पुनः श्रम स्वीकृतका लागि स्थानीय तहका रोजगार सेवा केन्द्रबाट नै आवेदन दिन सकिने व्यवस्था सरकारले गरेको छ ।

वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित, सुरक्षित बनाउनका लागि श्रमिकलाई आवेदन भर्दादेखि नै सहयोगको आवश्यकता पर्ने भएकाले यो व्यवस्था गरिएको तानसेन नगरपालिका रोजगार सेवा केन्द्रले जनाएको छ । नगरपालिका आएर निःशुल्क आवेदन भर्न सकिने व्यवस्था नगरपालिकाले गरेको छ ।