काठमाडौं, असार १२ गते। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ सात सदस्यीय प्रतिनिधिमण्डलसहित आज चीन जाँदै हुनुहुन्छ।
मंगलबार राति ११ बजेर २० मिनेटको उडानमार्फत चीन जान लाग्नुभएको हो। उहाँ उहाँ आजदेखि पाँच दिनसम्म चीनको सिचुवान प्रान्तको भ्रमणमा रहनुहुनेछ। छेन्दु अन्तराष्ट्रिय विमानस्थमा अवतरण भएर बुधबार उहाँ पश्चिमी चीन अन्तराष्ट्रिय मेलाको स्वागत भोजमा सहभागी हुनुहुनेछ।
उपप्रधानमन्त्री श्रेष्ठले मेलाको उद्घाटन समारोहलाई विशेष अतिथिका रूपमा सम्बोधन गर्नुहुनेछ।
बुधबार दिउँसो छेन्दुको योजना प्रदर्शनी हल र अन्तर्राष्ट्रिय मित्र शहर सिचुवानको भ्रमण एवम् प्रदर्शनी अवलोकन गर्नुहुनेछ। सोही दिन साँझ उहाँ चिनियाँ कम्युनिष्ट पार्टी, सिचुवान प्रान्तका नेताद्वारा आयोजित रात्रीभोजमा सहभागी हुनुहुने कार्यक्रम रहेको छ।
उपप्रधानमन्त्री श्रेष्ठले शुक्रबार सिचुवान विश्वविद्यालय नेतृत्वसँग भेटघाट गर्नुहुनेछ भने त्याहाँ अध्ययनरत चाइनिज, नेपाली र अन्य विदेशी विद्यार्थीलाई सम्बोधन मन्तव्य समेत दिनुहुनेछ। त्यसपछि उहाँले विश्वविद्यालयको प्रयोगशालाको अवलोकन गर्नुहुनेछ। दिउँसो सिचुवान एयरलाइन्स र प्रान्तीय लगानी समूहका अधिकारीलाई भेट्नुहुनेछ।
शनिबार बिहान उहाँले भूकम्पपछि पुनर्निर्माण भएको ‘हाइड्रो जक्सन’को अवलोकन भ्रमण गर्नुहुनेछ। दिउँसो दुजियाङ्गानस्थित चीनकै पुरानो सिंचाइ प्रणाली र ग्रामीण पुनरुत्थानको अवलोकन भ्रमण गर्नुहुनेछ।
शनिबार नै छेन्दु फर्किएर आइतबार बिहानको उडानमार्फत बिहान उहाँ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बिहान १० बजे उत्रनुहुनेछ।
प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापा, गृहमन्त्रालयका सहसचिव रुद्रदेवी शर्मा, उद्योग मन्त्रालयका सहसचिव महेश बराल, उपप्रधानमन्त्री श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ, राष्ट्रिय समाचार समितिका संवाददाता अशोक घिमिरे र अङ्गरक्षक बाबुराम खरेल हुनुहुन्छ।