• ७ जेठ २०८१, सोमबार

यस वर्ष रासायनिक मलको अभाव हुँदैन : मन्त्री भुसाल

blog

कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. वेदुराम भुसाल ।

काठमाडौं, असार १२ गते । कृषि तथा पशुपन्क्षी विकास मन्त्री डा. वेदुराम भुसालले यस वर्ष धानका लागि रासायनिक मलको अभाव नहुने बताउनुभएको छ । मङ्गलबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै मन्त्री भुसालले यस वर्ष धानका लागि आवश्यक पर्ने रासायनिक मल अभाव नहुने बताउनुभएको हो ।

हाल देशभरका कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनका डिपोहरूमा ७८ हजार ४२२ मेट्रिक टन मल मौज्दात रहेको जानकारी उहाँले दिनुभयो । उहाँले असार महिनाको अन्त्य सम्ममा थप ४५ हजार मेट्रिक टन र श्रावण महिनाभित्र थप ७५ हजार मेट्रिक टन रासायनिक मल प्राप्त हुने पनि बताउनुभयो ।

‘‘चालु आर्थिक वर्षको लक्ष्य अनुसार कुल चार लाख ७८ हजार ५०० मेट्रिक टन रासायनिक मल खरिदको सम्पूर्ण प्रक्रिया समयमै सम्पन्न गरिएको छ । त्यसमध्ये तीन लाख ५१ हजार मेट्रिक टन आयात भई बिक्री, वितरण भइरहेको छ । र हाल ७८ हजार ४२२ मेट्रिक टन मल देशभरका कृषि सामग्री कम्पनीका ४१ र साल्ट ट्रेडिङ कर्पोरेसनका २४ डिपोहरूमा मल मौज्दात रहेको छ ।,’’ मन्त्री भुसालले भन्नुभयो, ‘‘असार महिनाको अन्त्यसम्ममा थप ४५ हजार मेट्रिक टन र श्रावण महिनाभित्र थप ७५ हजार मेट्रिक टन रासायनिक मल प्राप्त हुने अवस्थामा रहेको छ । यस वर्षको धानलाई रासायनिक मलको अभाव नहुने ब्यहोरा यस सदनमा राख्न चाहन्छु ।’’

मन्त्री भुसालले आगामी आर्थिक वर्षका लागि रासायनिक मल खरिदका लागि ३० अर्ब रुपियाँ रकम सुनिश्चित गरिएको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘विगतमा जस्तै बजेटमा सुनिश्चितता नभएर समयमा मल ल्याउन नसकिने अवस्था आगामी वर्षमा नरहोस् भनेर आगामी आर्थिक वर्षका लागि ३० अर्ब रुपियाँ सुनिश्चित गरिएको ब्यहोरा पनि अनुरोध गर्न चाहाछु । त्यसैगरी रासायनिक मलको खरिद प्रक्रियालाई छिटो, छरितो बनाउने विषयमा मन्त्रालयले सार्वजनिक खरिद अनुगमन कार्यालयसँगको समन्वयमा सार्वजनिक खरिद ऐन संशोधन गर्न प्रस्ताव गरेको छ । र मल खरिद सम्बन्धी निर्देशिकाको मस्यौदा गरी मन्त्री परिषद्मा पेस गर्ने क्रममा रहेको छ ।’’ 

मन्त्री भुसालले लम्पिस्किन रोग नियन्त्रणका लागि सरकारले सम्भव भएसम्मका कामहरू अगाडि बढाएको बताउनुभयो । उहाँले हालसम्म छ लाख ११ हजार २०९ पशु सङ्क्रमित भएका र सङ्क्रमितमध्ये २१ हजार ४७३ पशुको मृत्यु भइसकेको जानकारी दिनुभयो । तीन लाख ५४ हजार ५७३ पशु भने लम्पिस्किन रोगबाट निको भइसकेका बताउनुभयो । उहाँले दुई लाख ३५ हजार २१९ पशु अझै पनि सङ्क्रमित अवस्थामा रहेका जानकारी दिनुभयो ।

‘‘अहिले देशैभरि गाईभैँसीमा लाग्ने एउटा सङ्क्रामक रोग फैलिएको छ । लम्पिस्किन रोग भनिने यो रोग नयाँ प्रकारको सरुवा रोग हो । नेपालमा यो रोग पहिलो पटक २०७७ मा देखापरेको थियो । यस वर्ष मनाङ बाहेक सबै जिल्लामा देखा परेको छ । हालसम्म छ लाख ११ हजार २०९ पशु सङ्क्रमित भएका छन् । सङ्क्रमित मध्ये २१ हजार ४७३ पशुको मृत्यु भएको छ भने तीन लाख ५४ हजार ५७३ निको भएका छन् । दुई लाख ३५ हजार २१९ अहिले पनि सङ्क्रमित अवस्थामा रहेका छन् । मैले मन्त्रालय सम्हाल्नुभन्दा पहिले नै यस रोगको सङ्क्रमण फैलिइसकेको थियो । तर त्यसबेला उपचार र नियन्त्रणका लागि कुनैपनि कदम चालिएको थिएन । आजभन्दा दुई महिना अगाडिदेखि उपचार र नियन्त्रण गर्न थालिएको हो । यसको उपचार भनेको सङ्क्रमित पशुलाई आउने उच्च ज्वरो कम गर्ने, गिर्खामा मल्हम लगाउने र दानापानी खुवाउने हो ।,’’ मन्त्री भुसालले भन्नुभयो, ‘‘नियन्त्रणका लागि सङ्क्रमण नभएका पशुलाई भ्याक्सिन लगाउने हो । यसको भ्याक्सिन हाम्रो देशमा पाइँदैन । अहिले हामीले जोर्डन, तान्जनिया र टर्कीबाट भ्याक्सिन आयात गरिरहेका छौँ । हालसम्म सात लाख ३७ हजार डोज भ्याक्सिन ल्याइएको छ । र २०८०÷३÷१० सम्म एक लाख ६२ हजार ३७१ पशुलाई खोप लगाइएको छ । लम्पिस्किन रोगको सम्बन्धमा सरकार मौन छैन । यस रोगको उपचार तथा रोकथामका लागि मन्त्रालयबाट सम्भव भएसम्मका कार्यहरू अघि बढाइएको छ ।’’

मन्त्री भुसालले लम्पिस्किन रोगको खोप जोर्डन, तान्जनिया र टर्कीबाट भ्याक्सिन आयात गरिरहेको बताउनुभयो । उहाँले हालसम्म सात लाख ३७ हजार डोज खोप ल्याइएको र असार १० गतेसम्म एक लाख ६२ हजार ३७१ पशुलाई खोप लगाइएको जानकारी दिनुभयो ।