लक्ष्मण पौडेल
भैरहवा, असार १२ गते । एक सय रुपियाँभन्दा बढीको सामानमा भन्सार लगाउन थालिएपछि सीमावर्ती क्षेत्र सुनौलीको व्यापार खस्किएको छ । रुपन्देहीको बेलहिया नाका हुँदै भारतबाट सामान खरिद गरेर ल्याउन प्रशासनले कडाइ गर्दा भारतीय बजार सुनौलीको कारोबारमा भारी गिरावट आएको हो ।
भन्सार ऐनअनुसार एक सय रुपियाँभन्दा बढीको सामान खरिद गरेर ल्याउँदा भैरहवा भन्सार कार्यालयमा अहिले अनिवार्य प्रज्ञापन पत्र भरी राजश्व तिराउन थालिएको छ । जसले गर्दा नेपाली उपभोक्ता भारतीय बजार सुनौली जान छाडेका छन् ।
९५ प्रतिशत भन्दा नेपाली उपभोक्तामा भर पर्ने भारतीय बजार सुनौली अहिले सुनसान जस्तै छ । विगतमा दैनिक हजारौँ नेपाली उपभोक्ता भारतीय बजार सामान खरिद गर्न जाने गर्थे । भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत युवराज भट्टराईले जेठ १३ गतेबाट एक सय रुपियाँ बढीको सामान ल्याउँदा अनिवार्य प्रज्ञापन पत्र भर्न र राजश्व तिराउन थालिएपछि भारतीय बजार जाने नेपाली उपभोक्ता घटेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “हाम्रो अनुमानमा अहिले करिब ८० प्रतिशत भारतीय बजारमा खरिद गर्न जाने उपभोक्ता घटेका छन्, सुनौली गएर सामान लिएर आउनेले पनि भन्सारमा राजश्व तिरिरहेको छ ।” यसबाट भन्सार राजश्व राम्रो उठेको भट्टराईले बताउनुभयो । भन्सारका अनुसार अहिले खुद्रा सामानबाटै दैनिक करिब तीन लाख राजश्व उठिरहेको छ।
व्यापार घट्दै गएपछि भारतीय व्यवसायी आक्रोशित भएका छन् । विगतमा एउटै व्यक्तिले लाखौँको सामान ल्याउँथे । यसरी ल्याउनेले भन्सारमा प्रज्ञापन पत्र भर्ने गर्दैनथे । जसबाट दैनिक करोडौँ राजश्व गुमिरहेको थियो । अहिले भन्सार, सशस्त्र र नेपाल प्रहरीले नाकामा कडाइ गरेपछि भारतीय बजार सुनसान जस्तै छ । भारतीय व्यापारीले कर्मचारी समेत घटाएका छन् ।
“हामीलाई सुन्नमा आएअनुसार ६० प्रतिशत कर्मचारी कटौती गरेका छन् रे”, सिद्धार्थ उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष नेत्रप्रसाद आचार्यले भन्नुभयो, “अहिले जसरी निरन्तर भन्सार र सहायक नाकामा कडाइ गर्ने हो भने नेपाली बजार फस्टाउँछ । यसले मुलुकका लागि राम्रो हुन्छ ।” उहाँका अनुसार नाकामा कडाइ गरिएपछि भारतीय व्यापारी फुर्सदिला भएका छन् । कारोबार न्यून छ । चार गुणा कारोबार घट्दा उनीहरूले नेपाली व्यापारीको आलोचना गरिरहेका छन् । नाका सहज नगरे नेपाल–भारत सम्बन्धमै दरार आउने बताइरहेका छन् ।
विभिन्न निकायमा हारगुहार गरिरहेका भारतीय व्यापारीको नाका सहज गराउने प्रयास सफल भएको छैन । “चोरी बाटोबाट सुरक्षा निकायको आँखा छलेर अलिअलि सामान आए होला तर सबै नाकामा कडाइ छ”, आचार्यले भन्नुभयो, “अझै कडाइ गर्नुपर्छ । अवैध सामान विना भन्सार भित्रिनु हुँदैन ।”