‘लेते आइपुगे जस्तो छ’, निर्माणाधीन पुल, माटोको लेदो बगाएको खोला अनि सडकैभरि माटोको लेदो देखेपछि अनुमान ग¥यौँ हामीले । नभन्दै लेते त साँच्चिकै आइपुगेको पो रहेछ ।
लेते नजिकिँदै जाँदा सडक कालो र चिल्लो देखियो भने अगाडि सेता हिमाल ।
मुस्ताङ यात्राको दोस्रो दिन २०७९ साल वैशाख ६ गते बिहान ११ बजेको कुरा हो यो ।
मुस्ताङ जिल्लाका पाँच गाउँपालिकामध्ये तीन माथिल्लो मुस्ताङमा पर्छन् भने दुई तल्लोमा । तीमध्येको एक हो थासाङ र अर्को चाहिँ घरपझोङ । लेते थासाङ गाउँपालिकाको वडा नं ३ मा पर्दोरहेछ । अनि सदरमुकाम जोमसोम चाहिँ घरपझोङमा ।
लेते अग्ला चुचुराहरूको फेदीमा अवस्थित छ । तीन हजार १२१ मिटर अर्थात् झन्डै १० हजार २३९ फिटको उचाइमा अवस्थित यो गाउँ हिमालहरूले घेरिएको छ । धवलागिरि र मानापाथी त सामुन्ने देखिन्छन् ऐना हेरेझैँ । अन्नपूर्ण, धवलागिरि र निलगिरि हिमालहरूकै फेदीमा छ भन्दा फरक पर्दैन यसलाई ।
हाम्रो त्यस बिहानको खाना त्यहीँ व्यवस्था गरिएको थियो । त्यसैले हाम्रो गाडी सडक छाडेर दायाँ मोडियो र ‘होटल भ्यु प्वाइन्ट एन्ड थकाली भान्छाघर’ सामु अडियो ।
हामी हिमालको फेदीमा पुग्दा यसै यसै रोमाञ्चित थियौँ । मन प्रफुल्लित थियो । यसैले गाडीबाट ओर्लिएर टाउकै माथि देखिने सेता हिमाल हेर्दै भन्न थाल्यौँ ‘आहा !’ । ‘आहा कति सुन्दर, रमणीय ठाउँ । यस्तो ठाउँमा बस्न पाए पो मजा, न रोगव्याधीको डर न हल्लाखोर र प्रदूषणको चिन्ता,’ मनले भन्यो । हामी तस्बिरहरू खिच्न लाग्यौँ । उत्तिखेरै आउने कुहिरोले ढपक्क ढाकेर चिसो बनाइदिने र उत्तिखेरै घाम लागेर न्यानो बनाउने अनौठो लुकामारी हुँदोरहेछ त्यहाँ घाम र कुहिरोको । जब घाम लाग्छ, हिमाल हाँस्छन् टलक्क टल्कन्छन्, हामी रमाउँछौँ, जब कुहिरोले ढाक्छ हामीलाई नमज्जा लाग्छ ।
यही लुकामारीबिच मौका छोप्दै तस्बिर खिचिरह्यौँ हामीले ।
मुस्ताङका प्रायः सबै ठाउँमा ‘पाहुना’ अर्थात् ‘ग्राहक’ पुगेपछि मात्रै खाना बनाउने चलन रहेछ । चल्तीफिर्तीका राजमार्गको यात्रामा बासी, बेस्वाद र अस्वस्थकर खानाले हैरान भएका हामी त्यहाँ पुग्दा भने ताजा खाना पाइने भएकाले खुसी भयौँ । पकाएको खाना एकैछिनमा चिसो हुने र ग्राहक सन्तुष्ट नहुने कारणले पनि होला त्यस क्षेत्रका व्यवसायी केही समय प्रतीक्षा गराएर पनि ताजा खाना नै खुवाउँदा रहेछन् ।
लेते पुग्दा भिन्नै भूगोलमा प्रवेश गरेको महसुस हुँदोरहेछ । मुस्ताङ जिल्ला घासाबाटै सुरु हुने भए पनि लेते पुगेपछि चाहिँ वास्तवमै जिल्ला प्रारम्भ भएको महसुस हुनेरहेछ । त्यसको कारण हो यहाँ पुग्दा देखिने वनस्पती अनि यहाँको भौगोलिक अवस्थिति । टाउको माथि हिमाल देखिनु यहाँको विशिष्टता हो । आफ्नोपन अनि आफ्नै पहिचान भएको एउटा सानो उपत्यका रहेछ यो । लेते उपत्यका जस्तो सुन्दर बस्ती, कालोपत्रे सडक, नयाँ पुराना घर, आधुनिकता र परम्पराको सङ्गम रहेछ । काठसँगै ढुङ्गा, टिन र सिमेन्टका घरहरू पनि रहेछन् यहाँ । बिजुली त छँदैछ ।
उता खाना बन्न थाल्यो, यता हामी त्यस स्थानको सुन्दरतालाई विभिन्न कोणबाट नियाल्न थाल्यौँ । यसमा होटलधनीले सहयोग गर्नुभयो । देखिएका हिमालका चुचुराहरूलाई देखाउँदै हामीले नाम सोध्थ्यौँ, उहाँ तिनका नाम भन्नुहुन्थ्यो, ‘त्यो फलानो, त्यो फलानो, ऊ त्यो चाहिँ आइसफल हो’ । ‘मनाङ यता पर्छ थोराङला पास ऊ त्यहाँनेर पर्छ, त्यतै हुँदै जानुपर्छ, डोल्पा चाहिँ उता ।’ दायाँ र बायाँतर्फ देखाउँदै उहाँले भन्नुभयो । हिमालपारिको जिल्ला पुग्दा कता पूर्व कता पश्चिम ? ठम्याउन नसकिरहेका हामीलाई उहाँले सहज बनाइदिनुभयो ।
साहुनी भान्सा पस्नुभयो, होटल धनी साहु हामीसँगै थिए, केही सोधपुछमा खुलेपछि उनी फरासिला भएको मेसो भयो र त्यसपछि म उनीसँग कुराकानी गर्न अघि सरेँ । आफू जहाँ पुग्यो त्यहिँ केही सोधपुछ कुराकानी गर्नुपर्ने, पुगेको ठाउँ र सेरोफेरोबारे जानकारी बटुल्न खोज्ने मान्छे, कतिपय ठाउँमा कुराकानी गर्न नखुल्ने ठसमस्स पर्ने पनि भेटिएका छन् मान्छेहरू । तर यतातिर त्यस्तो अनुभव गर्नुपरेको छैन । यहाँ पनि साहुजी खुलिदिँदा कुराकानी गर्न सहज भएकोे छ ।
पेटीमा विछ्याइएको गलैँचामा बस्दै मैले भनेँ ‘लौ आउनुस् साहुजी कुराकानी गरौंँ ।’
उनी अघि सरी हाले ‘गरौँ न, कुरा पो के गर्नुहुन्छ ?’ भन्दै ।
‘के नै पो कुरा गर्नु छ र अरू ? यो ठाउँको बारेमा धेरथोर जानकारी लिने त हो’ भन्दै मैले परिचयबाट थाल्न चाहेँ ।
सोधेँ ‘यहाँको शुभनाम ?’
उनले भने– ‘म विनोद तुलाचन ।’
यत्ति भएपछि म झन् हौसिएँ, ‘लौ हात मिलाऊँ, म विनोद नेपाल’ भन्दै उनीतर्फ हात बढाएँ ।
‘कति वर्ष हुनुभो ?’ मैले सोधेँ ।
उनले भने ‘५० कटेँ ।’ फाटफुटबाहेक रौँ फुलेको छैन, अनुहार तेजिलो छ, मानिस फुर्तिला छन् । मैले ३५ वर्षकै उमेरमा फुल्न थालेको आफ्नो कपाल सम्झेँ ।
थाहा भयो म उनीभन्दा छ वर्ष जेठो रहेछु । अनि त मैले उनलाई ‘भाइ’ भन्न थालिहालेँ । यसपछि कुराकानी गर्न पनि धेरै सहज भयो ।
अग्लो कद, ठाडो शिर, जोसिलो आवाज, खेलाडीको जस्तो जिउडालका छन् विनोद, आफू भने लुरे बाहुन, न दह्रो खाइलाग्दो ज्यान, न उनको जस्तो फुर्तिलोपन ।
सुगठित शरीर देखेर मैले भनेँ, ‘हैन ज्यान हेर्दा त खेलाडीको जस्तो छ कहाँबाट यो होटलसोटलतिर लाग्नुभयो ?’
उनले भने– ‘हो म खेलाडी नै हुँ, भलिबल खेल्थेँ, तर खेलले केही देला जस्तो लागेन । त्यसैले खेलकुद छाडेर व्यवसायमा लागेँ । २०५७ सालदेखि यो व्यवसायमा लागेको हुँ, १० वर्ष भयो यो होटल सुरु गरेको, सुरुमा चाहिँ अघि आउँदा देख्नुभयो होला नि रुप्से छहरा, हो त्यहाँ नजिकै थियो, चार वटा घर थिए, बाढीले बगाएपछि यहीँ, आफ्नै ठाउँमा थालेको’– उनले एकै सासमा सबै कुरा भनी सिध्याए ।
थाहा भयो अत्यन्त राम्रो आकर्षक जिउडाल र गठिलो शरीर भएका विनोद भलिबल खेलाडी रहेछन् कुनै बेला । उनले भने ‘खेलाडीको कुनै भाउ छैन, खेलेर गासबास जुट्दो रहेनछ, त्यसैले छाडेँ ।’ उनी भन्थे ‘विदेश गएँ, चित्त बुझेन, त्यताबाट पनि फर्कें ४÷५ वर्षमा ।’
‘अरू के के गर्नुहुन्छ त ? भेडा पनि त होलान् ? यता त भेडा पाल्ने चलन पनि छ नि ?’ मैले सोधेँ ।
‘भेडा फर्म छ, कुकुर छन् ५÷६ वटा, काम गर्ने मान्छेहरू छन्, तिनैले गर्छन् सबै’, उनले भने, ‘खास गरी मासु र ऊनका लागि पालिन्छ भेडा ।’
यसै मेसोमा मैले मुस्ताङमा रहेको जिउँदो चाँैरीको रगत खाने चलन बारे सोधेँ, ‘अँ साँच्ची कता पर्छ त्यो चौरीको रगत पिउने ठाउँ ?’
जवाफमा उनले भने, ‘ए... त्यो त बोक्सी खोलामा हो, दुई तीन वर्षदेखि गरेको छैन, रोकिएको छ ।’
सुन्दै आश्चर्य लाग्ने कस्तो प्रचलन होला त्यो ? ज्युँदो पशुको रगत निकालेर पिउने, त्यसकै व्यापार गर्ने । लाग्थ्यो पिउने पनि कस्ता, व्यापार गर्ने पनि कस्ता होलान्, ठिकै भएछ रोकिएर । त्यस्तो अपराध फेरि सुरु नभए हुन्थ्यो, मैले आफैसँग भनेँ ।
मैले होटलको क्षमता बारे सोधेँ । ‘हामीकहाँ बस्ने खाने व्यवस्था छ, ३०÷४० जनासम्म अट्छ’, विनोदले भने ।
हामीले मुक्तिनाथसम्म पुग्ने केबलकारको चर्चा चलिरहेको बारे कुरा ग-यौँ । विनोदले भने, ‘ढिलोचाँडो केबलकार आउला, आयो भने ठुला बन्ने साना बिग्रने त हो । अहिले पो ठाउँठाउँमा होटल, रेस्टुरेन्ट चलेको छ, मान्छेले काम पाएको छन्, त्यसपछि त त्यो चल्दैन नि ।’
उनको चिन्ता जायज लाग्यो ।
कुराकानीकै व्रmममा मैले सोधेको प्रश्नको जवाफ दिँदै विनोदले भने, ‘लेतेको जनसङ्ख्या ५५० जति र घरसङ्ख्या ७० छ ।’
लेतेमा शिक्षाको अवस्थाको कुरा गर्दा उनी भन्थे ‘अचेल १२ कक्षासम्मको अध्ययन यहीँ ज्ञानोदय उच्च माविमा हुन थालेको छ, १५० जति विद्यार्थी छन् अहिले ।’
उनको लवजमा खासै स्थानीयपन छैन, सायद बाहिरफेर हिँडेका भएर होला ।
खेतीपाती बारेको मेरो जिज्ञासामा उनी भन्थे, ‘यहाँ फापर, आलु, मकै, जौ, गहुँ, उवा आदि उत्पादन हुन्छ । तरकारीमा रायो साग, बन्दा, काउली, टमाटर आदि सबै उत्पादन हुन्छ । अचेल ‘ग्रिन हाउस’मा तरकारी बनाउन थालियो, यहींँकै उत्पादनले पुग्छ । चामल जिरा मसिनो हो, उतैबाट ल्याएको, चामल, तेल आदि चाहिँ उतैबाट ल्याउनुपर्छ ।’
पारिवारिक स्थिति बारेको मेरो प्रश्नको जवाफमा उनले भने ‘बाआमाको एउटै छोरा हुँ म । पढाइ धेरै गर्न सकिएन ।’
‘तीन छोरी छन् तीमध्ये दुई विवाहित । ठूली हङकङ, माइली काठमाडौँमा छिन्, कान्छी यहीँ पढ्दैछिन् ९ मा । छोरा एउटै हो, अस्ट्रेलियामा छ’, पारिवारिक विवरण खुलस्त सुनाए विनोदले । भने ‘ससुराली चाहिँ काठमाडौँ कलङ्की हो ।’
चडपर्व, रीतिरिवाज र संस्कृतिसम्बन्धी मेरो जिज्ञासामा उनले भने ‘ठूलो चाड तोरन्ल हो यो पर्व फागु पूर्णिमाको समयमा पर्छ’ । विनोदले भने ‘यतिबेला १५ दिनसम्म चेलीबेटी र बाहिरका सबै जना आउने खुवाउने चलन छ । मरेका पितृहरूलाई तीन दिन तिनको सम्झानामा खुवाउने, पूजा गर्ने गरिन्छ । दसैँको समयमा पनि पितृपूजा गर्ने चलन छ, सोह्रश्राद्धभित्र पारेर’ उनले भने ।
विनोदले भने ‘अन्तर्जातीय विवाह पनि छ यहाँ ।’ ‘अनि मुस्ताङमा व्यवसाय गर्ने अचेल धेरै बाहिरका भइसके, थकाली मात्रै छैनन् ।’
हामीले कुराकानी गर्दागर्दै विनोदकी पत्नी प्रभाले खाना तयार भएको जानकारी गराउँदै भन्नुभयो, ‘ल बसिहाल्नुस् है फेरि खाना चिसो हुन्छ, खान सकिन्न ।’ यसपछि हामी तोकिएको स्थानमा खानाको प्रतीक्षामा बस्यौँ ।
केहीबेरमै काँसको ठूलो थालमा खाना आयो ।
‘साँच्चिकै थकाली खाना खान पाइयो यहाँ । उतातिर त थकाली भन्छन्, ककसले चलाउँछन् ककसले होटल पनि, नक्कल न हो, सक्कलीसँग कहाँ मिल्छ र ? थकाली नाम राखेकै भरमा चलेका छन् ठाउँठाउँमा धेरै होटल अचेल,’ मैले भनेँ । अनि आफ्नो खानाको भाग हेर्दै थपेँ, ‘धेरै पो छ त, कसरी खाइसक्नु यति धेरै चिज ?’ ।
‘हैन सकिन्छ, चिज धेरै भए पनि थोरैथोरै छ, खानुस् न, फेरि यहाँ खाना खान कहिले पो आउनुहोला र ?’ साहुनीले अत्यन्तै आदर एवं स्नेहका साथ भनिन् ।
ठुलो काँसको थालमा पस्किएको खानामा भात, पापड, आलु काउली र रायो सागका दुईवटा तरकारी त थिए नै छ किसिमका अचार थिए । यति धेरै अचार देखेर म आश्चर्यचकित भएँ । केही नौला खालका अचार पनि थिए । त्यसैले अचारका बारेमा सोध्न थालेँ । ‘केकेको अचार हो यो ?’
म एकपछि अर्को अचार देखाउँदै सोध्न थालेंँ, साहुनी भन्न थालिन् ‘त्यो पुदिना÷पतिना हो, त्यो गोलभँेडा र टिमुर, त्यो गुलियो अचार चाहिँ लेकमा पाउने अमिलो, चुल्ठे अमिलोको हो । गुन्द्रुक, तितेकरेला र आलु प्याज त चिन्नु नै भयो होला ।’
‘दाल यहीँको उत्पादन हो, लसुन जिम्मु यहीँको स्थानीय हो ।’ ‘छ्यापी लगाउने चलन पनि छ यहाँ । तरकारीको अभाव हुँदैन, सधैँ पाइन्छ । प्याज, नुन, तेल, चामल, चिनी चाहिँ उतैबाट ल्याउनुपर्छ’ साहुनीले भनिन् ।
हामी एकमुष्ठ रकम भुक्तानी गरी ‘प्याकेज’मा गएकाले खान, बस्नको अलग्गै रकम भुक्तानी गर्नुपर्ने थिएन । तर मैले खानाको मूल्य सोध्न चाहेँ साहुनीसँग । थाहा भयो लेतेमा सादा खाना रु. ३५० र मासुसहितको खाना कुखुराको मासु भए जनही रु. ४५० र च्याङ्ग्राको मासु भए रु. ५०० पर्दोरहेछ ।
होटल भएर पनि घरकै जस्तो आतिथ्य पाएर हामी अत्यन्त प्रसन्न भयौँ ।
खाना खाइवरि हिँड्ने बेलामा मैले होटल परिसरको ढिकमै देखेँ ढुङ्गाको पर्खालमा अलि अलि माटोमै बडो राम्रो फूल फुलेको । झट्ट हेर्दा हामीले ‘तरबारे फूल’ भन्थ्यौँ, तरबारजस्तो आकारका पात र मसिना फूल फुल्ने त्यो फूल त्यता होचोमै ठुलो थुँगामा फुल्ने रहेछ । फूल भन्नासाथ लोभिने मैले त्यता आँखा मात्र लगाइनँ, मनले जितिसकेकाले हातै बढाएँ त्यस सुन्दर फूलतर्फ । मसँगै सुमित्राले पनि हात बढाइन् । दुई जनाले गरेर फूलको गाँजबाट दुईवटा गानुसहितका बिरुवा निकालियो । विनोदलाई देखाउँदै मैले भनेँ ‘लौ है भाइ, हामीले त हातै हाल्यौँ, चिनो लैजाऊँ भनेर, फेरि मागेको फूल सर्दैन, चोरेरै लैजानुपर्छ भन्छन्, रिसाउनु त हुन्न नि ।’
उनले भने, ‘हुन्छ, लैजानुस्, राम्रोसँग सार्नु, हुर्काउनुहोला, केको रिसाउनु, हामीकहाँ भएको चिज पाहुनाले मन पराउनुभयो भने खुसी लाग्छ, त्यही फूलले गर्दा पनि हामीलाई सम्झिरहनुहुन्छ नि ।’ उनको त्यो भनाइमा आत्मीयता र स्नेह पयौँ हामीले र खुसी हुँदै बिदाइका हात हल्लाउँदै गाडीभित्र पसेँ । अरू साथीहरू भने पहिले नै गाडीमा बसी हाम्रो प्रतीक्षा गरिरहेका थिए ।
लेतेको त्यो चिनो सरिसकेको र हुर्केको पनि छ, लेतेको स्वच्छ वातावरणमा फुलेको फूल काठमाडौँको प्रदूषणमा कस्तो फुल्ला थाहा छैन तर आशा छ सुन्दर लेतेको ढुङ्गा माटोमा सुन्दर एवं लोभलाग्दो फुलेको फूल काठमाडौँको माटोमा पनि उस्तै फुल्नेछ र लेते अनि आत्मीय एवं अतिथि सत्कारमा पारङ्गत विनोद र प्रभाको जोडीलाई सम्झाइरहनेछ ।