• १४ मंसिर २०८१, शुक्रबार

हेटौँडा सिमेन्टको नोक्सानी चुलिँदै

blog

राममणि दाहाल

हेटौँडा, असार १२ गते । घाटामा सञ्चालन हुँदै आएको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडको चालु आर्थिक वर्षमा २० करोड रुपियाँ नोक्सानी थपिने भएको छ । उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको र सिमेन्ट उत्पादन लागत बढ्दै जाँदा उद्योग बर्सेनि घाटामा चल्दै आएको छ । 

उद्योग स्थापनाको समयमा ७५० मेट्रिक टन क्लिङ्कर दैनिक उत्पादन क्षमता रहेको उद्योगको उत्पादन क्षमता ह्रास हुँदै गएर हाल ३६ देखि ४० प्रतिशत उत्पादन क्षमतामा सञ्चालन हुँदै आएको आइतबार उद्योगले हेटौँडामा आयोजना गरेको हेटौँडा सिमेन्ट उद्योगको वर्तमान अवस्था, चुनौती र समाधानका उपाय विषयक अन्तर्क्रिया कार्यक्रममा जानकारी गराइएको थियो ।

कार्यक्रममा उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले चालु आवमा २० करोड रुपियाँ घाटा हुने अनुमान गरिएको बताउँदै उद्योगसँग रहेको चुनढुङ्गा खानी आगामी ८०–९० वर्षलाई पुग्ने भए पनि पुराना मेसिनरी, प्रविधि र कर्मचारी अभावका कारण पूर्ण क्षमतामा चल्ने अवस्था नरहेको र उत्पादन लागत बढ्दै जाँदा नोक्सानी पनि बढ्दै गएको जानकारी दिनुभयो । 

उहाँले नयाँ व्यवस्थापन आएपछि उद्योग सामान्य मर्मतसम्भार गरेर चलाउँदासमेत ऊर्जा उपयोग घटेको, उत्पादन क्षमता बढेको र सिमेन्टको उत्पादन लागतसमेत घट्न गएको बताउँदै उत्पादन लागतसँग प्रत्यक्ष जोडिने उद्योगको कच्चा पदार्थको मूल्य गत आवमा भन्दा चालु आवमा अत्यधिक बढ्दा उत्पादन लागत प्रभावित बनेको बताउनुभयो । 

गत आवमा ८१ हजार १९३.४६ मेट्रिक टन सिमेन्ट उत्पादन भएकामा चालु आवमा घटेर ५० हजार ६४१.३९ मेट्रिक टन उत्पादन हुने अनुमान छ उहाँले अगाडि भन्नुभयो, “नयाँ उपकरण जडानबिना यथास्थितिमा उद्योग चल्न सक्दैन ।”

उहाँले उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्न र प्रतिस्पर्धी बनाउन मर्मतसम्भारसँगै कतिपय उपकरणको प्रतिस्थापन गर्न उद्योग मन्त्रालयमा १६० करोड रुपियाँ आवश्यक पर्ने योजनासहित प्रस्ताव पेस गरिएको बताउनुभयो । 

अहिलेको उद्योगको मुख्य चुनौती वित्तीय व्यवस्थापनको भन्दै महाप्रबन्धक पाण्डेले यो समस्याका लागि सरकारले सहुलियतपूर्ण ऋण उपलब्ध गराउने वा उद्योगको नाममा हेटौँडामा रहेको जग्गा नेपाल राष्ट्र बैङ्कलाई दिएर त्यसबाट प्राप्त रकमबाट सुधार गर्ने गरी सुझाइएको बताउनुभयो । 

कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका नेता, उद्योग सञ्चालक समितिका पूर्वअध्यक्षहरू र उद्योगमा कार्यरत ट्रेड युनियनकर्मी उद्योग सञ्चालन गर्नुपर्नेमा एकमत देखिएका थिए । प्रदेश सभाका सदस्यद्वय एकालाल श्रेष्ठ र प्रमबहादुर पुलामीले हेटौँडाको प्रतिष्ठाका रूपमा रहेको उद्योग सञ्चालनले निरन्तरता पाउनुपर्ने भन्दै उद्योगभित्र रहेका कमीकमजोरी हटाउन आवश्यक भएको बताउनुभयो ।