• १२ साउन २०८१, शनिबार

पोखरा–वाग्लुङ सडकमा सास्ती, सांसद बाटैबाट फर्किए

blog

अन्नपूर्ण गाउँपालिका काँडे नजिक पाउदुर सडक खण्ड ।

रमेश पौडेल

पोखरा, असार ११ गते । मध्यपहाडी राजमार्गअन्तर्गत पोखरा–वाग्लुङ सडक कास्कीको अन्नपूर्ण गाउँपालिका काँडे नजिक पाउदुर खण्डमा पटक पटक सडक अवरुद्ध हुदाँ दर्जनौँ सवारीसाधन अलपत्र भएका छन् भने हजारौँ सङ्ख्यामा यात्रुले द:ख पाएका छन् ।

वर्षासँगै सडकमा पहिरो जादा धौलागिरी र पूर्वी रुकुम रोल्पाको मुख्य राजमार्गको रुपमा रहेको सो सडक पूर्ण रुपमा खुल्न सकेको छैन् । शनिबार राति ८ बजेबाट बन्द भएको सो सडक आइतबार बिहान ९ बजे आंशिक रुपमा खुलेको थियो । अहिले दैनिक ३ देखि ४ घण्टा लाइन बसेर एकतर्फी सडक संचालनमा आएको छ ।

चारदिन अगाडि चालीस टनभन्दा बढी इट्टा लोड भएको ट्रक सडकमा खसेपछि एकतर्फी मात्र यातायात चल्न पनि कठिन भएको छ । औपचारिक कार्यक्रम हिड्नु भएका गण्डकी प्रदेश सांसद डिल्लीराम सुवेदी बिच बाटोबाटै गन्तव्यमा नपुगी पोखरा फर्कदा भन्नुभयो, ‘‘यो अत्यावश्यक सडकको रुपमा लिनुपर्छ, सुत्केरी, बिरामी र जन्ती र यात्रुहरुको बिजोग भएको छ । यसलाई तुरुन्तै सम्बोधन हुनुपर्छ ।’’

मध्यपहाडी राजमार्गअन्तर्गत रहेको सो सडकमा पूर्वी रुकुमबाट आएका नवराज शाहीले रातभरि जागाराम बसेको बताउनुभयो । त्यस्तै म्याग्दीको शिखबाट आएका कृष्ण बरुवालले बिरामीले सास्ती पाएको बताउनुभयो । 

‘‘यहाँ सुत्ने ठाउँ नै छ न त खाना बस्नको लागि होटलको सुविधा छ । वरपर भएका साना पसलले निकै महङ्गोमा खाना,खाजा र रुप बेचेका छन् । एउटा चाउचाउ उमालेको एक सय २० रुपियाँ अनि एउटा सामान्य रुमको हजार बढी नै लिन्छन् ।’’

चार वर्षअगाडि भासिएको सो सडक ओम बुद्ध इन्टरनेश्नल निर्माण कम्पनीले ठेक्का पाएको थियो । दोस्रोपटक म्याद थपिदा पनि यही असार ५ गते म्याद सकिएको छ । 

३ करोड ५० लाख रुपियाँको टेन्डर स्वीकृत गरेपनि निर्माण कम्पनीले ३० प्रतिशत भन्दाबढी प्रगाति दिन नसकेपछि मुभिलाइजेसन बापत्को ५ प्रतिशतबाहेक रकम पनि लिन नसकेको मध्यपहाडी राजमार्ग योजना कार्यालय पर्वतका इन्जिनियर अर्जुन पौडेलले जानकारी दिनुभयो । 

जम्मा ८० मिटर क्षेत्रलाई स्टेभल बनाउने कार्यअन्र्तगत ६५ मिटरको फाउन्डेसन बनेको छ भने १५ मिटरको काम अझै सुरु भएको छैन् । यता सो निर्माण कम्पनीका इन्जिनियर रबिन बास्कोटाले फाउन्डेसन खन्न समय लागेको र कामदारको अभाव भएकाले समयमा काम सम्पन्न हुन नसकेको बताउनुभयो । सडक निर्माण ढिलो हुने देखिएकाले सडक कसरी सुचारु गर्ने भन्ने बारेमा आवश्यक छलफल गरिएको योजना इन्जिनियर पौडेलले बताउनुभयो । 

काम थालनी गरेकोमा समयमै सम्पन्न नगर्दा सो अवस्थामा आएको हो । जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख कृष्णबहादुर चन्दले सडक अझैसम्म पूर्ण रूपमा सञ्चालन हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘यस्तो अवस्था आउँछ भनेर दुई महिनाबाटै निर्माण कम्पनीलाई भन्दै आएका हौँ,’’ सुनुवाइ भएन ।

यस बारेमा कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले सडक पूर्ण रुपमा संचालन गर्न पहल भइरहेको बताउनुभयो । उहाँले निर्माण कम्पनीको आवश्यक सामान र जनशक्ति बढाउन निर्देशन दिएको बताउनुभयो । सो साविक सडकमा निर्माण कम्पनीले बेसमेन्ट बनाइरहेको छ भने डाइभर्सन गरेका सडक निजी व्यक्तिको भएकाले आवश्यक चौडा गर्न कठिनाई भएको योजनाको दाबी छ ।