लीलाधर वली
घोराही, असार १० गते । दाङको घोराही-मुर्कुटी हुँदै प्युठान जोड्ने सडक समयमै मर्मत नहुँदा भासिने जोखिम बढेको छ । सडक मर्मत नहुने र वर्षाको समयमा ठुलो पानी पर्दा सडकमा थप क्षति हुने जोखिम बढेको हो ।
घोराही-मुर्कुटी हुँदै प्युठान जोड्ने सडक खण्डअन्तर्गत दाङको बङ्गलाचुली गाउँपालिका-५ को टोर्केलेकमा गत असोज महिनामा परेको वर्षाका कारण कालोपत्रे गरिएको सडक भासिएर चिराचिरा परेको छ । उक्त सडक भासिएको करिब आठ महिना बितिसक्दा पनि मर्मत हुन सकेको छैन ।
दाङको बङ्गलाचुलीसँगै प्युठानवासीका लागि घोराही आउन र जानका लागि मुख्य सडकका रूपमा रहेपनि सडक डिभिजन कार्यालय दाङको लापरबाहीका कारण सडक मर्मत हुन नसकेको हो । भासिएको सडक मर्मतका लागि पटक पटक आग्रह गर्दा पनि सडक मर्मत हुन नसकेको बङ्गलाचुली गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर जिसी बताउनुहुन्छ। गाउँपालिका उपाध्यक्ष जिसीले भन्नुभयो, "सडक भासिएको लामो समय भइसक्यो । अब बर्खाको समयमा थप हुनसक्ने भएकाले सडक मर्मतका लागि भनिरहेका छौँ । तर सडक डिभिजन कार्यालयसँगै निर्माण व्यवसायीको लापरबाहीले मर्मत सम्भार हुन सकेको छैन ।" तर मुर्कुटीदेखि प्युठानको सिमासम्मको सडक बिग्रिएको ठाउँमा निर्माण व्यवसायीले सडक मर्मतको काम भने गरिरहेको उपाध्यक्ष जिसीले बताउनुभयो ।
घोराही-मुर्कुटी हुँदै प्युठान जोड्ने सडकखण्ड अन्तर्गत बिग्रिएको सडकको मर्मतको काम जलजला निर्माण सेवा गर्नुपर्ने भएपनि ढिला गरेको सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी इन्जिनियर रिकेश महर्जन बताउनुहुन्छ । सूचना अधिकारी महर्जनले भन्नुभयो, "पुरानै सम्झौता अनुसार बिग्रिएको सडकको मर्मत सम्भारको काम जलजला निर्माण सेवाले गर्नुपर्ने हुन्छ । तर केही प्राविधिक समस्या कारण देखाउँदै निर्माण कम्पनीले काम गर्न मानेको छैन ।"
समयमै सडक मर्मत नहुने र वर्षाको समयमा सडक थप भासियो भने बङ्गलाचुली गाउँपालिकाका मुर्कुर्टी लगायतका प्युठानबाट सिधै घोराही आउने सडक बन्द हुने अवस्था छ । जस कारण गाडीहरूलाई भालुवाङ, लमही भएर घोराही आउनुपर्ने बाध्यता हुनसक्छ । जसले गर्दा बिरामीहरूलाई उपचारका लागि घोराही ल्याउन समस्या हुने देखिन्छ । उक्त सडक खण्डको घोराहीदेखि तापासम्म चुनढुङ्गाका लागि टिप्परहरु समेत चल्ने भएका कारण सडकको अवस्था कमजोर भएको हो । वर्षा हुँदा पहिरो खस्ने तथा खाल्टाखुल्टी पर्ने गर्छ ।