• २० असोज २०८१, आइतबार

कोशी नदी नियन्त्रण कार्य सुरु

blog

गाईघाट समाचारदाता

गाईघाट, असार १० गते ।  कोशीको बाढीबाट हुने सम्भावित खतराको अति संवेदनशील क्षेत्रमा रहेको उदयपुरको बेलका नगरपालिका–८, लाहुरे खोचस्थित डुम्रीबोटे क्षेत्रमा कोशीको धार मोडिएपछि आपत्कालीन अवस्था आइपरेको भन्दै बेलका नगरपालिकाले विपत् कोषबाट कटान रोकथामको काम सुरु गरेको  छ।

यसअघि पनि अघिल्लो वर्ष सप्तकोशीको बाँध फुटेर गाउँतिर बाढी पसेको बेलका नगरपालिका–८, लाहुरे खोचस्थित डुम्रीबोटे क्षेत्रमा जलस्रोत तथा सिँचाइ विभागबाट करिब ७३ लाख रुपियाँको लागतमा स्थानीय उपभोक्ता समितिमार्फत १७० मिटर लामो र तीन मिटर उचाइ भएको बिग बोल्डर स्लोप निर्माण अर्थात् ठुला ढुङ्गा लगाएर कोशी नियन्त्रणको काम सम्पन्न भएको थियो। 

 सो स्थानभन्दा माथिबाट कटान गरी कोशी पुनः गाउँतिर पस्ने खतरा बढेकोले तत्काल रोकथामको काम गर्नुपर्ने भएपछि पुनः बिग बोल्डर स्लोप निर्माण अर्थात् ठुला ढुङ्गा लगाएर कोशी नदी नियन्त्रण कार्य गर्न थालिएको बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीले बताउनुभयो। 

गतवर्ष गाउँतिर बाढी पसेको २३ दिनपछि कोशीमा पानीको बहाव घटेको मौका छोपी स्थानीय जन श्रमदानसहित बेलका नगरपालिकाको सहयोगमा करिब दुई सय मिटर लामो अस्थायी तटबन्ध निर्माण गरेर स्थानीयवासीले तत्कालका लागि कोशी थुन्न सफल भएका थिए। सो ठाउँमा लगाइएको बिग बोल्डर प्रभावकारी भएको कोशी तथा बक्राहा नदी व्यवस्थापन कार्यालय विराटनगरका आयोजना प्रमुख चक्रविक्रम सिंहले बताउनुभयो।

यो वर्ष भने कोशीको पानी भित्र पाँच मिटर चौडाइ र तीन मिटर उचाइको ठुलाठुला ढुङ्गा खसालेर बाँध बनाइएको हो। जसमा जमिनभन्दा माथि दुई मिटर उचाइ हुने र सबैभन्दा माथि पाँचमिटर चौडाइ रहने गरी स्थानीय उपभोक्ता समिति मार्फत निर्माणको काम भएको उहाँले बताउनुभयो।

 स्थायी प्रकृतिको तटबन्घ नहुँदासम्म यो वर्ष पनि बाढीको उच्च जोखिम कायमै रहेकोले करिब पाँच सय घर परिवार पुनः विस्थापित हुनसक्ने भन्दै दुई सय किलोग्रामभन्दा बढी तौल भएका ढुङ्गा लगाएर कोशीको भेल रोक्न बाँध बनाइएको उपभोक्ता समितिका सचिव सन्देश कुलुङ राईले बताउनुभयो।

सप्तकोशीको बाढीबाट गत वर्ष बेलका नगरपालिका वडा नं. २, ३, ८, ९ र सुनसरीको वराह क्षेत्र नगरपालिकाको ६ र ९ नम्बर बडाका गरी करिब दुई हजार पाँच सय घर प्रभावित बनेकोमा पाँच सय परिवार जतिलाई तत्काल अस्थायी आवासको व्यवस्था गरी सुरक्षित स्थानमा राखिएको थियो। हाल निर्माण भइरहेको विपत् व्यवस्थापनसम्बन्धी काममा पनि स्थानीय केही व्यक्तिले राजनीतिक रङ दिएर योजनाको काममा अवरोध गर्ने गरेको अनुगमन समितिका सदस्य राज बान्तवाले बताउनुभयो। कोशी कटान नियन्त्रण गर्न एक करोड १० लाख रुपियाँमा टेन्डरसमेत लगाइएको र अब केही दिन पश्चात् निर्माण कम्पनीले समेत नियन्त्रणको काम सुरु गर्ने उहाँले बताउनुभयो।

सो क्षेत्रमा थप तटबन्ध निर्माण गरी कोशी कटानको जोखिमबाट स्थानीय टप्पु वासीको सुरक्षाका लागि २०८० साल वैशाख ३ गते नेपाल सरकार मन्त्रीपरिषद्को निर्णयबाट दुई करोड रुपियाँ बजेटको स्रोत सुनिश्चित भएकोले सो अनुसार नै टेन्डर लगाइएको आयोजना प्रमुख सिंहले बताउनुभयो।