• १६ जेठ २०८१, बुधबार

पिताको तस्बिर (कथा)

blog

यसलाई ऊ समस्याका रूपमा लिँदैनथ्यो– आफ्नो दिवङ्गत पिताको एउटा फोटो अथवा तस्बिर घरमा हुनु पर्छ भन्ने । उसको मान्यता थियो यो तर ऊसँग पिताको एउटा पनि तस्बिर थिएन । समस्या यो भइदियो । पिता दिवङ्गत भइसकेको पनि निकै वर्ष बितिसकेका थिए । अहिले आएर उसलाई महसुस भयो, घरमा पिताको एउटा पनि रङ्गीन त के ‘ब्ल्याक एन्ड ह्वाइट’ तस्बिरधरि छैन । पिताको पालामा रङ्गीन तस्बिरको चलन थिएन । आमाको श्यामश्वेत तस्बिर छ । आमाको भएपछि पिताको किन हुन सकेन । ऊ यो सम्झिरह्यो, उसका पिता र आमाले सँगै तस्बिर खिचाएका थिएनन् । समाजको वर्जनाले वा लोकलाजले भन्न मिल्दैनथ्यो तर अनुकूल परेन वा अर्थाभावले पनि हुन सक्थ्यो । अहिले आमा र बा दुवै दिवङ्गत भइसके । प्रविधिको विकास त यस्तो भइसकेको छ, आमा र बा एकै ठाउँ बसेको तस्बिर अथवा फोटो भनूँ बनाउन सकिन्छ तर त्यसो गर्न उसलाई रुचि छैन । बा नै परिवारका मूलपुरुष हुन् । पितृसत्ता सोच उसमा पनि छ । आमाप्रति सम्मान नभएको चाहिँ होइन । पिताको तस्बिर नै ऊसँग छैन, आमातिर ऊ लागेन । दिवङ्गत पिताको तस्बिर कहाँ खोज्न जाने ? पिताको तस्बिर ऊसँग नभएकोमा अपराधबोध पनि भइरहेछ । थकथकी मानिरहेछ । समयमै एउटा तस्बिर खिचाइराख्नु पर्ने थियो, तर कसरी ? 

पिताको तस्बिर भएको भए घरको एउटा पूरै भित्तामा पिताको तस्बिर सजाएर उसले राख्न सक्थ्यो । एउटा गर्वको बोध पनि हुने थियो । जीवित छँदा पिताको सेवा गर्न नसकेको भए पनि दिवङ्गत भएपछि पितालाई ससम्मान घरको भित्तामा झुन्ड्याएर राख्ने थियो । जीवित छँदा उसले अलिकति पनि सेवा गर्न सकेको होइन भन्नेतिर उसले सोचेन । त्यसमा उसलाई अहिले पनि आत्मग्लानि छैन । परिस्थिति नै त्यस्तो थियो । उसले पिताका लागि केही गर्न सकेन, उनी बिरामी पर्दा पनि । पिताको एउटा क्लेश यति मात्र थियो– छोरो उनी बिरामी हुँदा छेउमा आएर बसिदिएन । उसले पिताको सेवामा अनुपस्थित रहेकामा सय बहाना गर्न सक्थ्यो तर अन्तिम रूपमा ती सबै बहाना उसकै हृदयले स्वीकार गर्न सक्दैनथ्यो । ठिकै छ, अब विगतलाई कोट्याएर त्यसको परिताप मेट्न सकिन्न । जे हुनु थियो भयो, नहुनुपर्ने नै भए पनि त्यो भयो र बितिसक्यो । अहिले उसले यो घर भनूँ वा बिल्डिङ वा भवन बनाएको छ र त्यसको एउटा सिङ्गै भित्ता दिवङ्गत पितालाई समर्पण गर्न चाहन्छ । त्यसका लागि पिताको एउटा प्रामाणिक तस्बिरको खोजीमा छ ऊ । पिताको तस्बिरलाई प्रामाणिक भन्न मिल्दैन । कारण पिता उसका प्राणिक नै हुन् । उसले पिता भनेर मानेको व्यक्ति अर्को कुनै हो भनेर विवाद झिक्न मिल्दैन । उसले यस कारण पिताका लागि लगाएको प्रामाणिक विशेषण खारेज गरिदियो । तर तस्बिर त भेटेन । पिताको तस्बिर जुन उसले यतिका वर्षपछि आएर खोजिरहेछ एकाएक । किनभने उसले कुनै मित्रको गृहप्रवेशमा त्यो देख्यो । मित्रले गर्वसाथ पिताको सुनौलो र महँगो फ्रेमजडित रङ्गीन तस्बिर भित्तामा झुन्डिएको पायो । मित्र सगर्व भनिरहेथ्यो, “उहाँ मेरो पिता हुनुहुन्छ ।” उसले सोध्ने साहस गर्न सकेन, “मित्र, खै त माताको तस्बिर ?” उसको विचारमा आमा र बा दुवै सँगै बसेको तस्बिर भित्तामा सुशोभित भएको भए घर झन् उजेलिने थियो ।

मित्र जसको घरमा गृहप्रवेश समारोह भइरहेको थियो, उसले भन्यो, “मेरा पिताले नै राखेका हुन् हाम्रो परिवारको उन्नतिको जग । त्यही जगमा मैले आज यत्रो बिजनेस खडा गरेको छु ।” तस्बिरमा मित्रका पिताले मित्रको यो गर्वोक्ति सुने जस्तो लागिरहेको थियो, उसलाई । कारण यो थियो मित्रका दिवङ्गत पिता जो तस्बिरमा थिए उनी मसिना जुँगावाल थिए र ती जुँगाभित्र उनी छोराको कुराको समर्थनमा मुसुमुसु हाँसिरहे जस्तो प्रतीत भइरहेथ्यो उसलाई । एकाएक उसलाई पनि लाग्यो उसको आफ्नो घर बनेपछि यसरी नै दिवङ्गत पिताको तस्बिर भित्तामा सजाउने छ । तस्बिर ठुलै बनाएर । आजभोलिको कम्प्युटर प्रविधिले जे पनि सम्भव छ । उसका पिताका पनि जुँगा हुने छन् । ती बरु यो मित्रका दिवङ्गत पिताका भन्दा बाक्ला र घना । उसको सम्झनामा उसको पिताका जुँगा थिए जस्तो लागिरहन्छ उसलाई, तर पातला र छितरिएका, गरिबीले बाक्लिन नदिएर उखेले जस्ता तर पिता आँटिला थिए । उसको पढाइमा कमी गरेनन् । ऐलानी फाँडेर भए पनि उसलाई बाहिर पढ्न पठाए । बाहिरको पानीमा के थियो कुन्नि ऊ फेरि फर्केर घर आएन । तराई भावरको औलोले उसको भाइ र पितालाई खायो । यो उसले तत्काल थाहा पाएको होइन तर समयव्रmममा उसले थाहा पायो । थाहा पाउनु अनिवार्य थियो । अहिले ऊ पिताप्रति कृतज्ञ भइरहेको छ तर त्यो कृतज्ञता मात्र यति कि पिताले कममा उसलाई पढाउनेबारे सोच बनाएका रहेछन् । बाँकी उसकै प्रतिभा र मेहनतको देन हो भन्ने अभिमान उसलाई लाग्थ्यो । 

उसले मित्रको पिताको तस्बिर गडेर हेरिरहेको थियो । तस्बिरमा मित्रका दिवङ्गत पिता सन्तुष्ट देखिन्थे । यो उसको हेराइले फेला पारेको तथ्य थियो । यस्तो सन्तुष्टि ऊ आफ्नो दिवङ्गत पिताको तस्बिरमा पनि देख्न र देखाउन चाहन्थ्यो । त्यो पनि प्रविधिले सम्भव गराउन सक्थ्यो । पिताको तस्बिर कतैबाट फेला परोस् तब न ऊ त्यसलाई इच्छित रूपमा तयार गराउन सक्थ्यो । पैसाको परवाह थिएन । घर भनूँ वा बिल्डिङ बनिरहेको थियो । कन्सल्ट्यान्ट इन्जिनियर पनि लागिपरिरहेकै थिए । दक्ष मिस्त्रीहरू उसले एकभन्दा अर्को बढिया झिकाएको थियो । मालमेटेरियल उम्दा प्रकारको प्रयोग भइरहेको थियो । जीवनको एक उत्कृष्ट उपलब्धिका रूपमा ऊ त्यो भवन खडा गर्न चाहन्थ्यो तर यस बेला, मित्रको गृहप्रवेशपछि, उसले मित्रको पिताको तस्बिर देखेपछि आफ्नो पिताको सम्झना आयो । मित्रका पिताले ऊतिर केही करुणामिश्रित दृष्टिले हेरिरहे जस्तो उसले अनुभूत ग¥यो । यो उसको भ्रम हुन सक्थ्यो तर मित्रका पिताको अनुहार हेरेर आफ्नो पिताको अनुहार सम्झिने चेष्टामा थियो ऊ । उसका पिता उसको विस्मृतिमा गइसकेका थिए । वास्तवमा उसले पिताको अनुहार राम्ररी सम्झन सकिरहेको थिएन । पितासँग छुट्टिएको धेरै समयान्तरसम्म उसले घर फर्केर पितालाई वा अरू कसैलाई भेट्ने काम गरेन । ऊ आफ्नै सुखको लिप्सामा लागिरह्यो । अनि पिताले उसको सुखको कामना गरिरहे र अन्त्यकालमा पनि एक पटक ऊ छेउमा आएर बसिदिए सहजतासाथ प्राण त्याग्ने थिएँ भनिरहे तर त्यो संजोग जुरेन । अहिले ऊ पिताको स्मरण गर्दै छ र उनको तस्बिर स्पष्ट रूपमा उसको स्मृतिमा आउन सकिरहेको छैन । कसैले उसको पिताको तस्बिर उसकै हातमा राखिदिए पनि उसले प्रामाणिक रूपमा यिनै मेरा पिता हुन् भन्न सक्ला जस्तो छैन । 

तर अत्यन्तै उत्साहमा छ ऊ । पिताको तस्बिरलाई उसले घरको एउटा भित्तामा भव्यतासाथ झुन्ड्याएर राख्ने छ । कोही त होला, जसले उसलाई उसको पिताको तस्बिर खोजिदेला । उसका पिताका इष्टमित्रमध्ये कोही त बाँचेका होलान् । यसमा पनि शङ्का नै थियो । उसका पितासँगै बाँचेकाले आवश्यक थिएन, उसको पिताको तस्बिर जगेर्ना गरेर राख्न । उसका पिताको समय वरिपरि ती पनि दिवङ्गत भइसकेका होऊन् । अब यसरी त भएन । उसले पहिले पिताको तस्बिर अनिवार्यतः खोज्नै पर्ने भयो । पितालाई भित्तामा भव्यतासाथ झुन्ड्याउन उनको तस्बिर अनिवार्यतः आवश्यक छ । ऊ घरको एक मुख्य भित्तामा पिताको तस्बिरबिनाको भव्य फ्रेमलाई मात्र झुन्ड्याएर यी मेरा दिवङ्गत पिता हुन्, जसको मार्गदर्शनमा मैले आज यत्रो प्रगति गरेँ भन्ने आत्ममुग्ध गर्वोक्ति गर्न सकोस् । शब्दले जतिसुकै फोस्रो गर्व व्यक्त गरे पनि बिनापिताको तस्बिरको प्रेमको के काम ? त्यसले मानिसको हास्यपात्र मात्र भइन्थ्यो । त्यसैले उसलाई पिताको तस्बिर चाहिएको छ ।