• ६ जेठ २०८१, आइतबार

नियात्रा

सुकरातलाई थुनेको जेलभित्र चियाउँदा

blog

फेरि एक्रोपोलिसको फेदमा छु । सूर्यदेवको प्रचण्ड तेज बिहानैदेखि धर्तीमा फैलिएको छ । मानौँ सूर्यदेव एक्रोपोलिसका देवीलाई दर्शन गर्न आएका पर्यटकलाई प्रत्यक्ष दर्शन दिन एथेन्सको धर्तीमा उत्रेका हुन् । हुन त हिन्दुले जस्तै प्राचीन ग्रिकवासीले पनि सूर्यलाई देवताकै रूपमा पुज्दथे । तिनै सूर्यदेवको ताप भोगिरहेछु एथेन्समा । देखिरहेछु गर्मीले हायलकायल भएका मानिसका विविध रूप । 

मानिसका अथाह भिडलाई छिचोल्दै बल्लतल्ल एक्रोपोलिसको फेदीबाट बाहिर निस्कन सकेँ । टक्क उभिएर मेरो गन्तव्य पश्चिमी दिशामा रहेको फिलोपापोस डाँडालाई नजर लगाउँछु । क्षणभरमै मेरा नयनले एउटा डाँडाको फेदीबाट अर्को डाँडाको यात्रा पूरा गरिसके । म त्यहाँ पुग्न बाँकी नै थियो ।

एथेन्स सहरमा आजभन्दा चौबिस सय वर्षअघि विचारमाथि तर्क, बितर्क र बहस सुरु गरियो । बहस गर्ने प्रमुख व्यक्ति थिए – सोक्रेटिज अर्थात् सुकरात । त्यही बहसलाई पश्चिमी दर्शन शास्त्रको सुरुवात मानिन्छ । पश्चिमी सभ्यताका उनै दार्शनिक सोक्रेटिजका पाइला पछ्याउँदै थिएँ । 

इशापूर्व ४६९ मा एथेन्समा जन्मेका दार्शनिक सोक्रेटिज पश्चिमी दर्शनका जनक हुन् । सोक्रेटिज नाम भएका ती महामानवलाई किन नेपालीले सुकरात भनेका हुन् थाहा छैन । म पनि सुकरात नाममा अभ्यस्त छु र त्यही नाम प्रिय लाग्छ । सम्झी ल्याउँछु, आखिर नाममा के नै पो छ र ? सोक्रेटिज भने पनि सुकरात भने पनि उनको योगदानलाई बुझ्न दुवै नाम काफी छन् । 

इतिहासमा उल्लेख भए अनुसार सोक्रेटिज ढुङ्गाको काम गर्ने शिल्पीका छोरा थिए । उनले पनि केही वर्ष ढुङ्गाको काम गरेका थिए । एक्रोपोलिसमा रहेको मन्दिरको निर्माण कार्यमा केही समय काम गरेका थिए । उनले केही समय सैनिक सेवामा काम गरे । उनी एथेन्सका पक्षमा छिमेकी राज्यहरूसँग युद्ध लड्न गएका थिए ।

“म कसैलाई केही पढाउन सक्दिनँ तर तिनलाई सोच्न बाध्य बनाउँछु” भन्ने गर्थे सोक्रेटिज । सोही कारण प्रायः जसो बाटोमा हिँडिरहेको मानिसलाई प्रश्न सोध्ने गर्दथे । “प्रश्नलाई आधा बुझ्नु नै आधा उत्तर हो” भन्थे सोक्रेटिज ।

महान् दार्शनिक तथा विचारक सोक्रेटिजलाई सम्झँदै उनलाई खोज्दै हिँडेको छु । संयोग कस्तो परेको छ भने प्राचीन समयमा उनी हिँडेकै बाटोमा म लम्किरहेको छु । कुनै आधुनिक सोक्रेटिज आएर मलाई फ्याट्ट प्रश्न सोध्ने त होइन ? आफैँसँग ठट्टा गरेथेँ ।

अचम्मको संयोग ! नभन्दै बाटामा एक जना सज्जनले मलाई रोके । प्रश्न सोध्न रोके कि क्या हो जस्तो लाग्यो । मनमा डर र सङ्कोच उत्पन्न भयो । उनी डेनमार्कबाट घुम्न आएका रहेछन् । उनले मलाई ग्रिक अगोरो जाने बाटो सोधे । म त्यतैबाट आउँदै गरेकाले बाटो बताइदिएँ । धन्न मलाई उनले कुनै जटिल प्रश्न सोधेनन् । मन शान्त भयो ।  जिज्ञासु मनले पछ्याइरहेको छ सोक्रेटिजका पाइला । अवालेकनका लागि निस्केको छु सोक्रेटिजलाई थुनेको जेल । पल्टाउँदै छु प्राचीन एथेन्सको प्रजातन्त्र र न्यायको इतिहास । 

सोक्रेटिजले भनेका छन्, “व्यस्त जिन्दगीको दरिद्रताबाट सावधान रहनु !” वास्तवमा दरिद्रताको उपस्थिति हरेक स्थान र समयमा हुन्छ । उत्तर आधुनिक समयका मानिस भागदौडको जिन्दगी बाँचेका छन् । समयले अँचेटेर राखेको छ मानिसलाई । समयको जेलमा कैद गरेको छ मानिसलाई । म पनि समयको जेलमा कैद भोगिरहेको एक कैदी नै हुँ । 

समयको व्यस्तताको जेलबाट फुत्केर एक साताका लागि एथेन्स आइपुगेको छु । एथेन्समा यो र त्यो गर्ने, त्यहाँ जाने, भेट्ने, अवलोकन गर्ने आदि लामो सूची बोकेको छु । त्यही सूचीमा परेको छ, सोक्रेटिजलाई थुनेको जेल । यसो सम्झन्छु, समयको एउटा व्यस्त जेलबाट निस्केर म फेरि अर्को जेलमा पो पुगेको रहेछु !

हिँड्दै जाँदा मूल सडकमा पुगिसकेको थिएँ । बाटाभरि पर्यटकका लस्कर देखिरहेको छु । पर्यटक ओसार्ने बसको व्यस्तता उस्तै छ । म आफ्नै लयमा पाइला चालिरहेछु । करिब दस मिनेट हिँडेपछि अलि पर देखियो फिलोपापोस डाँडाको पर्यटकीय महत्व बताउने ठुलो सूचना पाटी । सङ्केत पाटीलाई पछ्याउँदै मूल सडकलाई छाडी सानो बाटोमा पाइला राखेँ । त्यो बाटो सिधै उकालो लाग्दथ्यो ।   

पसिना पुछ्दै उक्लिन थालेँ ढुङ्गा छापेको बाटोमा । दायाँबायाँ देखिरहेछु अग्ला अग्ला धुपी सल्लाका रुख । भुइँमा मरणासन्न अवस्थामा थिए वर्षात्को प्रतीक्षामा रहेका सुकेको घाँसहरू । केही हप्तादेखि लागिरहेको चर्को घाममा आत्मसर्मपण गरिसकेका थिए भुइँका हरियालीले । सल्लाका बोटले धन्न अलिकति हरियाली बचाइराखेका रहेछन् । उकालो उक्लिँदै जाँदा अचानक धनकुटाको सल्लेरी वनको सम्झना आयो । हुन त सल्लेरी वनका जस्ता बाक्ला र अजङ्गका सल्लाका रुख थिएनन् त्यहाँ तर पनि सल्लाको रुख देख्दा घरदेशको स्मृतिले छुस्स स्पर्श गरेर गएथ्यो ।

“म यो कुरा जान्दछु कि म केही पनि जान्दिनँ ।” यस्तो दार्शनिक कुरा गर्ने सुकरातले त्यस बेलाको रूढिवादी समाजका विरुद्ध बोलेका थिए । युवालाई जागृत गराएका थिए । ज्ञान प्राप्ति गर्नु र ज्ञानको प्रसार गर्नु उनको जीवनको लक्ष्य थियो । उनी घर–घर र गल्ली–गल्ली घुमेर आफ्ना विचार फैलाउँदथे । उनका शिष्य र अनुयायीहरू दिनप्रतिदिन बढिरहेका थिए । सोक्रेटिजले रूढिवादी, आडम्बरी र राजनेताहरूको चर्को आलोचना गर्दथे । सोही कारण उनका थुप्रै शत्रु बढिरहेका थिए ।

सोक्रेटिजको लोकप्रियताका कारण सत्तासीनहरू डराउन थालेका थिए । उनीमाथि देवीदेवताको पूजा नगर्ने नास्तिक, युवालाई भड्काउने र देशद्रोहको आरोप लगाइएको थियो । सोक्रेटिजलाई आफ्नो गल्ती स्वीकार्दै एथेन्स छाडेर निर्वासनमा गएमा कुनै सजाय नहुने बताइएको थियो । आफूले कुनै गल्ती काम नगरेको बताउँदै उक्त प्रस्तावलाई सोक्रेटिजले अस्वीकार गरे । सोही कारण उनलाई मृत्युदण्डको सजाय सुनाइएको थियो ।

उकालो सकिएको छैन । सोक्रेटिजलाई सम्झँदै हिँडिरहेको छु म ।  सोक्रेटिजलाई मृत्युदण्डको सजाय सुनाएको बेला एथेन्समा धार्मिक उत्सव चलिरहेको थियो । धार्मिक उत्सवको बेला मृत्युदण्ड जस्तो सजाय दिन नहुने धार्मिक परम्पराका कारण सोक्रेटिजलाई केही समय जेलमा राखिएको थियो । त्यही जेल हेर्ने उत्सुकताले मलाई तातो घाममा दौडाइरहेको छ ।

इशापूर्व ३९९ मा ७० वर्ष पुगेका वृद्ध सोक्रेटिजका विरुद्ध अन्तिम सुनुवाइ भयो । मुद्दाको फैसला गर्ने पाँच सय जनाको जुरी थियो । भनिन्छ त्यहाँ देखाउनका लागि नाम मात्रका जुरी बनाइएको थियो । जुरीका अधिकांश सदस्य किसान थिए । जुरीका पाँच सय सदस्यमा तीन सय साठी जनाले मृत्युदण्डको फैसलामा मतदान गरे भने १४० जनाले विपक्षमा । मुद्दा सुन्ने क्रममा ज्युरीले अन्ततः उनलाई मृत्युदण्डको सजाय सुनायो । संसारको प्रथम प्रजातन्त्रले व्यक्तिको वाक् स्वतन्त्रता खोस्यो । प्रजातन्त्रको जन्मस्थलमा प्रजातन्त्र हरण भयो । प्रजातन्त्रको मृत्यु भयो । यस्तै कुरा सम्झँदा मनमा नमिठो लागिरह्यो ।

कैयौँ एथेन्सवासी मुद्दाको फैसला सुन्न भेला भएका थिए । सोक्रेटिजका सत्ताइस वर्षे प्रिय शिष्य प्लेटो पनि त्यहाँ पुगेका थिए । प्लेटोले आफ्नो पुस्तक ‘द एपोलजी अफ सोक्रेटिज’ मा सोक्रेटिजले आफूविरुद्ध लागेको आरोपको जवाफ दिएको कुरा लेखेका छन् । उनी जेलमा परेको कुरासमेत उल्लेख गरेका छन् ।

मध्याह्नको समय छ । माथि उक्लिरहेको बाटो चकमन्न छ । बहनुपर्ने हावा टक्क अडिएका छन् । हल्लिनुपर्ने रुखका पात ध्यान गर्न बसे जस्ता छन् । गीत गाउनुपर्ने चरा मौन छन् । मानिसको समेत चालचुल नदेख्दा सुकरातको जेल हेर्न त म मात्रै पो गइरहेको छु कि जस्तो लाग्यो । 

निकै हिँडिसकेँ, सोक्रेटिजलाई थुनेको जेल भेटिन्न । उकालो बाटामा न त सङ्केत पाटी छ । न त कोही मानिस देखिन्छन् । खोज्दा खोज्दै हत्तु हैरान भएँ । निरास हुने कुरै भएन । अघिकै आएकै बाटोमा तलतिर फर्किन्छु । बल्ल तीन जनाको समूहमा आएका मानिसलाई बाटामा देखेपछि तिनीहरूलाई जेलका बारेमा सोधेँ । उनीहरू जेल अवलोकन गरेर आएका रहेछन् । तिनले देखाएको दिशातर्फ लागेँ । 

“गुप्त स्थानमा पो रहेछ जेल !” जेलसम्बन्धी जानकारी दिने सूचना पाटी देखेपछि मेरो मनले बोलेथ्यो । 

वरिपरि नजर दौडाउँछु । फिलोपापोस डाँडाको एउटा भिरालो ठाउँमा रहेको ओडारलाई जेल हो भनेर जानकारी दिइएको छ । यसो नियालेर हेर्दछु, एउटा ढुङ्गे डाँडाको ओडारलाई काटकुट पारेर जेलको कोठा बनाए जस्तो लाग्यो । त्यहाँ उदास मुद्रामा रहेका तीन वटा कोठा थिए । हरेक कोठाका अगाडि फलामे बारको गेट थियो । गेटमा ताला झुन्ड्याइएको थियो । सोक्रेटिज जस्ता महामानवलाई थुन्नु परेकोमा जेल पनि पश्चाताप गरेर बसे जस्तो देख्छु ।

जेलअगाडि अलिकति समथर क्षेत्र छ । त्यो ठाउँ शान्त रहेछ । वरिपरि धुपी सल्लाका ठुल्ठुला रुख छन् । चर्को घाममा केही मानिस छहारीमा बसेका छन् । कोही जेल परिसरमा सल्बाइरहेका छन् । केही अवलोकनकर्ता सूचना पाटीमा नजर लगाइरहेका छन् । कोही जेलभित्र चियाउँदै छन् । मानिसका उत्सुकता, जिज्ञासा र आश्चर्यता सल्बलाइरहेको देख्छु ।

ढुङ्गाका चिसो भित्ता र छाना । बाहिर फलामे गेट । निर्जन स्थान । जेलको अवस्था देखेर अचम्म लाग्यो । सहरदेखि बाहिर कुनै बस्ती नभएको ठाउँमा साँच्चैको जेल बनाएका रहेछन् । म घरि जेलभित्र चियाउँछु । घरि इतिहासका तथ्य र सूचना खोज्दछु । घरि सल्लाको छहारीमुनि पुग्दछु । छटपटी छ मनमा ।    

सोक्रेटिजलाई जेलमा थुनेको बेला उनका एक जना मित्रले उद्धार गर्न खोजेका थिए । तिनले जेलका गार्डलाई घुस दिएर सोक्रेटिजलाई भगाउने योजना बनाएका रहेछन् तर सोक्रेटिजले उक्त योजना अस्वीकार गरे । मृत्युदण्ड सुनाइएको विष पिउन तयार तर नभाग्ने कुरामा अडान लिएछन् ।

निर्धारित समयमा जेलबाट निकालेर मृत्युदण्डका लागि सोक्रेटिजलाई ल्याइयो । उनको अगाडि एक विषको प्याला राखियो । त्यो दृश्य देखेर उनकी पत्नी र छोराहरू डाँको छाडेर रोए । उनका शिष्य र अनुयायीहरू सुँक्कसुँक्क गर्न थाले । सोक्रेटिज भने शान्त थिए । आफ्ना लागि रोइरहेका मानिसलाई शान्त रहन अनुरोध गरे । सोक्रेटिजले जीवनको अन्तिम क्षणमा आफ्ना शिष्यसँग गरेको रोचक संवाद प्लेटोले लेखेको पुस्तक ‘फिडो’ मा छ । 

अन्त्यमा सोक्रेटिजले हाँसीहाँसी हेम्लक नामको विष पिए । प्राण त्याग गर्नुअघि उनले अन्तिम वाक्य बोलेका थिए, “मृत्य भनेको शरीरबाट आत्माको मुक्ति हो ।” उनको यो वाक्यले मलाई मृत्युलाई बुझ्न सहयोग गरेको छ । मृत्युलाई सहज रूपमा लिन सिकाएको छ । भगवान् बुद्धले जस्तै सोक्रेटिजले आफैँ कुनै पुस्तक लेखेनन् । आफ्ना गुरु सोक्रेटिजले गरेका कुराकानी र प्रवचनलाई प्लेटोले विभिन्न पुस्तकमा लिपिबद्ध गरेका हुन् । तीमध्ये कुन विचार प्लेटोको र कुन सोक्रेटिजको हो भनेर छुट्याउन गाह्रो छ । सोक्रेटिजका प्रिय शिष्य प्लेटोकै कारण उनका विचार र दर्शनले आजसम्म जीवन पाएका छन् । 

एथेन्स जहाँ प्रजातन्त्र जन्मियो, त्यहीँ सोक्रेटिजलाई मृत्युदण्ड दिएका दिन प्रजातन्त्रको मृत्यु भएको ठान्दछु म । सोक्रेटिजको मृत्यु भए पनि उनका कैयौँ विचार आजपर्यन्त अमर छन् । ती महान् दार्शनिक सोक्रेटिजको जीवनी र उनको दर्शनलाई स्मरण गर्दै जेल परिसरबाट गह्रौँ मन लिएर बाहिरिन्छु ।

 

Author

कृष्ण बजगाईं