• ७ असार २०८१, शुक्रबार

१९औँ एसियाड : गल्फको अर्जुन दृष्टि पदकमा

blog

वैदेशिक प्रशिक्षणका लागि भारत जान लागेको एसियाड गल्फ टोली। तस्बिर : गोरखापत्र

काठमाडौं, असार ९ गते । नेपाली गल्फरले १९औँ एसियाली खेलकुद (एसियाड) लाई लक्षित गरेर तयारी गरेको लामो समय भयो । गल्फ टोलीले दुई वर्षअघि देखि स्वदेश र विदेशमा गएर तयारी गर्दै आएको छ । 

लामो तयारी गरेकोले नेपाली गल्फ खेलाडीले एसियाडमा पदक ल्याउने दाबी गरिएको छ । नेपाल गल्फ सङ्घका अध्यक्ष तासी घलेले सन् २००२ को एसियाडमा आफै खेलाडीको रूपमा सहभागी बन्दा अन्तिमबाट तेस्रो हुन परेको क्षणलाई सम्झिएर खेलाडीको तयारीमा विशेष ध्यान दिएको बताउनुभयो । 

एसियाड तयारीका लागि थप वैदेशिक प्रशिक्षणको लागि नेपाली गल्फ टोली शनिबार (आज) भारतको बेंगलुरु जादैछ । एसियाली खेलकुद सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनमा हुँदैछ । 

एसियाडमा नेपालबाट पुरुषतर्फ शुक्रबहादुर राई, सुवास तामाङ, सद्भाव आचार्य र युवराज भुजेल तथा महिलातर्फ कश्मिरा शाह र सुष्मा सिग्देलले चुनौती प्रस्तुत गर्दै हुनुहुन्छ । एसियाडमा विशेषगरी एमेच्योर खेलाडीद्वय सुवास र सद्भावबाट पदकको उच्च अपेक्षा गरिएको छ । 

सुवास विश्व एमेच्योर वरीयतामा १४०औँ र एसियामा २०औँ स्थानमा हुनुहुन्छ । सद्भाव विश्व एमेच्योर वरीयतामा ६ सय २४औँ स्थानमा र जुनियर वरीयतामा शीर्ष १० भित्र हुनुहुन्छ  । एसियाली खेलकुदमा पहिलो पटक व्यावसायिक खेलाडी राख्ने प्रावधान गरिएकोले शुक्रले मौका पाउनुभएको हो ।

नेपाली टोलीको प्रशिक्षकमा दीपक आचार्य रहनुभएको छ । नेपाली टोलीको वैदेशिक प्रशिक्षण भारतको बेंगलुरुको कोहलारमा तरुण देसाई गल्फ एकेडेमीमा हुन लागेको हो । 

हाल जर्मनीको ड्रेस्सडेनमा प्रशिक्षणरत शुक्र एक महिनापछि बेंगलुरु पुग्ने गल्फ सङ्घले जनाएको छ । सुवास र सद्भावले जुलाई १५ देखि १९ सम्म सिंगापुर एमेच्योर ओपनमा प्रतिस्पर्धा गर्नुहुनेछ । त्यहाँ खेलेर उहाँहरू पुनः बेंगलुरु फर्कने प्रशिक्षक आचार्यले जानकारी दिनुभयो । 

नेपाली टोली सेप्टेम्बर २० सम्म बेंगलुरुमै बसेर प्रशिक्षण गर्ने पनि आचार्यले बताउनुभयो । बेंगलुरुमा खेलाडीको फिजिकल फिटनेस, न्युट्रिसन,  शरीरको लचकता र मनोवैज्ञानिक प्रशिक्षण साथै प्रत्येक साता प्रतियोगितामा समेत प्रतिस्पर्धा  हुनेछ । 

तीन महिनाको विशेष प्रशिक्षणले खेलाडीको प्रदर्शनमा उल्लेख्य सुधार हुने अपेक्षा राखेको सङ्घका अध्यक्ष तासी घलेले बताउनुभयो । ‘‘म आफैले एसियाड खेल्दा अन्य देशका खेलाडीको सामु आफ्नो के नमिलेको के नपाएको जस्तो भयो । अन्तिमबाट तेस्रो हुँदा लाज पनि लाग्यो । अहिले खेलाडीलाई राम्रो अवसर दिइएको छ । शरीर सुहाउँदो गल्फ सेटको व्यवस्था छ । अव सबै खेलाडीको अर्जुन दृष्टि एसियाडमा पदक हुनुपर्छ । घलेले भन्नुभयो, ‘‘पदक ल्याएपछि सारा नेपालीको ध्यान खेलाडीमा जानेछ । ’’ 

भारत जाने टोलीको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ र सङ्घका अध्यक्ष घलेले शुक्रबार बिदाइ गर्नुभयो । बिदाइ अवसरमा सदस्य सचिव घिसिङले एसियाडमा गल्फबाट ऐतिहासिक पदकको आशा गरिएको बताउनुभयो ।

‘‘हामीले गत वर्षदेखि नै गल्फमा रणनीतिक रूपमा तयारी अगाडि बढाएका थियौँ । जसका लागि सुवासलाई तीन महिनाको फुल स्कलर्ससीप कार्यक्रम प्रदान ग¥यौं । त्यसपछि सद्भावको राम्रो प्रदर्शन भइरहेको छ । अन्य खेलाडीले पनि थप राम्रो गर्ने विश्वास लिएको छु । खेलाडीले खेलेर पदक ल्याए पुग्छ अरू चिन्ता सङ्घ र राखेपले लिनेछ,’’ घिसिङले भन्नुभयो । उहाँले अन्य खेल सङ्घलाई नेपाल गल्फ सङ्घ जस्तै उदाहरणीय बन्न आग्रह पनि गर्नुभयो ।