• ७ असार २०८१, शुक्रबार

नेपाललाई भारत विरुद्ध हार्ने छुट छैन

blog

तस्बिर : सरोज श्रेष्ठ - एन्फा

प्रजित शाक्य

बेंगलोर (भारत), असार ८ गते । साफ च्याम्पियनसिप २०२३ को छनोट चरण पार गर्न नेपाललाई शनिबार घरेलु टिम भारतविरुद्धको खेल हार्ने छुट छैन । पहिलो खेलमा कुवेतसँग ३-१ ले पराजित भएपछि नेपाल दबाबमा परेको हो । 

अझै दुई खेल बाँकी रहेकोले नेपालको शीर्ष दुई स्थान हासिल गरेर अन्तिम चारमा पुग्ने सम्भावना सकिएको भने छैन । तर सो सम्भावना कायम राख्न भारतविरुद्ध कम्तीमा बराबरीमा खेल्नुपर्ने हुन्छ । नेपालले आफ्नाे अन्तिम पाकिस्तान विरुद्ध खेल्नेछ । यस प्रतियोतिगामा प्रत्येक समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्ने प्रावधान रहेको छ ।

भारतविरुद्धको हारले प्रतियोगिताबाट बिदा गर्ने भएकोले नेपाललाई भारत विरुद्धको खेलमा अलिकति पनि लापरवाही गर्ने छुट छैन । कुवेत विरुद्धको खेलमा नेपालले तीनै गोल आफ्नै गल्तीले व्यहोरेको थियो । नेपाल र भारतबीच पछिल्लो भेट साफ च्याम्पियनसिपको फाइनलमा भएको थियो । पछिल्लो संस्करणमा फाइनलमा भारतसँग ३-१ पराजित भएपछि नेपालको साफ च्याम्पियन बन्ने सपना चकनाचुर भएको थियो । 

सो प्रतियोगितामा नेपालले समूह चरणमा पनि भारतसँग १-० ले हार व्यहाेरेकाे थियो । त्यसैले भारत विरुद्धको जित नेपालका लागि बदला हुनेछ । तर पनि चालु प्रतियोगितामा नेपालका लागि भारत विरुद्धको खेल भने एसिट टेष्ट सरह नै हुनेछ । किनभने दक्षिण एसियामा सबैभन्दा ठूलो शक्ति भारत अहिले एसियाको मानचित्रमा नै उत्कृष्ट बढ्ने लक्ष्यसहित अगाडि बढिरहेको छ । भारत सर्वाधिक आठ पटक साफ च्याम्पियनसिप जितिसकेको देश हो ।

तर नेपाली फुटबल टिम भारत विरुद्ध खेल्दा सँधै अतिरिक्त प्रयास लगाउने गर्दछ । नेपाली फुटबल समर्थक पनि आफ्नाे टिमले सँधै भारतविरुद्ध जितेको हेर्न चाहन्छ । यही प्रेरणाले नेपालले शनिबार भारत विरुद्ध राम्रो खेल्ने अपेक्षा गर्न सकिन्छ ।

फाइनल सरहको खेल

यसपटक नेपाल विगतमा जस्तो साफ च्याम्पियनसिपको दावेदारको रुपमा छैन । तर बलियो कुवेतविरुद्ध दोस्रो हाफमा गरेको प्रदर्शनले भारतविरुद्ध नेपालले स्तब्धकारी नतिजा निकाल्न सकिँदैन पनि भन्न मिल्दैन । “नेपालका प्रशिक्षक भिन्सेन्जो अलवर्टो एनिसले पनि कुवेत विरुद्ध दोस्रो हाफमा गरेको प्रदर्शन दोहाेर्याउने हो भने भारत विरुद्ध सकारात्मक नतिजा आउँछ”, उहाँ भन्नुहुन्छ, “हाम्रो लागि भारतसँगको खेल फाइनल सरह हुनेछ । भारत घरमा खेल्दैछ । दावेदार टिम हो । त्यसैले नेपाललाई चुनौती छ । तर भारतमा मैले तीन वर्ष बिताएको छु । त्यसैले भारतीय फुटबलमा मैले बुझेको छु ।”

नेपालका इटालियाली प्रशिक्षक एनिसले गोकुलम केरलालाई दुई पटक आइलिग उपाधि दिलाउनुभएको थियो । नेपाल आउनुअघि उहाँ इन्डियन सुपर लिग (आइएसएल)मा नर्थ इस्ट युनाइटेडका प्रमुख प्रशिक्षक हुनुहुन्थ्यो । उहाँले कुवेतसँग हारेपनि सो खेलमा मिलेको अनुभव भारतविरुद्धको खेलमा प्रयोग हुन्छ भन्नुभयो ।

नेपाल विरुद्धको खेलमा भारतका क्रोसियाली प्रशिक्षक इगोर स्टिमाख टचलाइनमा उभिन पाउनुहुने छैन । जसको फाइदा नेपाललाई हुनसक्छ । पाकिस्तान विरुद्धको खेलमा विपक्षी खेलाडी अब्दुला इकबालबाट अनावश्यक रुपमा बल खोस्ने प्रयासमा स्टिमाखले रातो कार्ड पाउनुभएको थियो । नेपाल विरुद्धको खेलमा उहाँको स्थान लिने भारतका सहायक प्रशिक्षक महेश गोलीले पनि नेपाललाई हल्का रुपमा लिनुभएको छैन । “नेपाल राम्रो टिम हो । कुवेत विरुद्धको प्रदर्शनले अझ नेपाललाई कम आँक्नै मिल्दैन । यी दुई टिमबीचको प्रतिद्वन्द्विता पनि ठूलो छ । त्यसैले म नेपाल विरुद्धको खेलको पखाईमा छु”, उहाँले भन्नुभयो ।

उच्च लयमा भारत

साफ च्याम्पियनसिपमा यसपटकदेखि आमन्त्रित टिम पनि सहभागी गराइएको छ । यसपालि कुवेत र लेवनान जस्ता एसियाका बलिया टिम पनि साफ च्याम्पियनसिपमा छन् । तर पनि भारतलाई उपाधिको प्रमुख दावेदार मानिएको छ । गत हप्ता मात्र भारतले लेवनानलाई नै हराएर इन्टरकन्टिनेन्टल कपको उपाधि जितेको थियो । जुन उपाधिले अब आउने फिफा वरीयतामा भारतको शीर्ष सयभित्र पर्ने पक्का छ । साफ च्याम्पियनसिपमा भारत घरेलु दर्शकको उर्जा र मैदानको फाइदामा खेल्दैछ । पाकिस्तान विरुद्धको ४-० को जितले भारत आफ्नाे भूमिका कतिको खतरनाक छ भन्ने देखाइसकेको छ । 

नेपाललाई क्षेत्रीको डर

भारतका मात्र होइन दक्षिण एसियाकै महान खेलाडीको सूचीमा परिसक्नुभएका खेलाडी हुन् कप्तान सुनील क्षेत्री । उद्घाटन दिन पाकिस्तान विरुद्ध क्षेत्रीले ह्याट्रिक गर्नुभयो । ३८ वर्षीय क्षेत्रीको अन्तर्राष्ट्रिय गोल १३८ खेलमा ९० पुगेको छ । अन्तर्राष्ट्रिय फुटबलमा उहाँले भन्दा धेरै गोल पोर्चुगलका क्रिस्टियानो रोनाल्डोे (१२३), इरानका अली दाई (१०९ गोल) र अर्जेन्टिनाका लियोनेल मेसी (१०३) ले मात्र गर्नुभएको छ । त्यसैले लयमा रहेका क्षेत्री नेपाल विरुद्धको खेलमा आफ्नाे गोल सङ्ख्या बढाउने प्रयासमा हुनेछ । क्षेत्री व्यवसायिक फुटबल बेंगलुरु एफसी लागि नै खेल्नुहुन्छ । त्यसैले पनि बेगलोरको श्री कान्तिराव रङ्गशालासँग क्षेत्री निकै परिचित हुनुहुन्छ । त्यसैले शनिबारको खेलमा नेपालका लागि सबभन्दा ठूलो खतरा नै क्षेत्री हुनेछ ।

अञ्जन कीर्तिमान गोल नजिक

यस प्रतियोगिताको पहिलो खेलमा कुवेतविरुद्ध दर्शनिय गोल गरी अञ्जनले आफूलाई नेपालका लागि सर्वाधिक गोलकर्ताको कीर्तिमान नजिक पुर्याउनुभयो । नेपालका लागि ५-४ खेल खेल्नुभएका अञ्जनको अन्तर्राष्ट्रिय गोल सङ्ख्या १२ पुगिसकेको छ । उहाँ नेपालका लागि सर्वाधिक गोल गर्ने हरि खड्का र निराजन रायमाझीभन्दा अब एक गोलले मात्र पछाडि हुनुहुन्छ । यी दुवैले समान १३-१३ गोल गर्नुभएको छ । अञ्जनले भारतविरुद्धको खेलमा गोल गरेर नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ताको कीर्तिमानको बराबरी गर्ने आफ्नाे उद्देश्य हुने बताउनुभएको छ ।

दशकौँ पुरानो प्रतिद्वन्द्विता 

भारत र नेपालको फुटबल इतिहास दशकौँ पुरानो छ । सन् १९८५ मा पहिलो पटक भिडेपछि यी दुई देशबीच शनिबार २५ औँ खेल हुँदैछ । इतिहास हेर्ने हो भने भारत नै हावी छ । अहिलेसम्म भएका २४ मध्ये नेपालले मात्र तीन खेलमा जित हात पारेको छ । 

त्यसमध्ये पनि निर्धारित ९० मिनेटमा नेपालले भारतलाई एक पटक मात्र हराएको विगत छ । सन् १९९३ को साफ च्याम्पियनसिपमा नेपालले भारतलाई टाइबेकरमा हराएर स्वर्ण पदक जितेको थियो । सन् २००६ मा एएफसी च्यालेन्ज कपमा नेपालले भारतलाई ३-० ले हरायो । तर सो खेलमा भारतले आफ्नाे दोस्रो दर्जाको टिम पठाएको थियो । 

पछिल्लो पटक सन् २०१३ मा भएको साफ च्याम्पियनसिपमा काठमाडौंमा नेपालले भारतलाई २-१ ले हराएको थियो । भारतसँग नेपाल १७ खेलमा पराजित भएको छ । चार खेल बराबरीमा सकिएको थियो । यसैगरी साफ च्याम्पियनसिपमा मात्र नेपाल र भारतबीच कुल आठ खेल भएको छ । जसम्ध्ये नेपालले एक खेलमा जित र सातमा पराजय वेहोरेको छ । 

यसैगरी, नेपालले अहिलेसम्म भारतीय भूमिमा जित हात पार्न सकेको छैन । सन् २०१२ मा नयाँ दिल्लीमा भएको नेहरु कप र २०१५ मा पुनेमा भएको मैत्री खेलमा बराबरीको नतिजा नै नेपालको भारतमा घरेलु टिमविरुद्धको उत्कृष्ट नतिजाको रुपमा रहेको छ ।

सम्भावित टिम :

नेपाल : किरण चेम्जोङ, सनिस श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, विमल पाण्डे, एरिक विष्ट, पुजन उपरकोटी, लाकेन लिम्बु, अञ्जन विष्ट, नवयुग श्रेष्ठ र मनिष डाँगी

भारत : अमरिन्दर सिंह, प्रितम कोटाल, सन्दिस झिन्गन, अनवर अली, सुवासिस बोस, अनिरुद्ध थापा, ज्याकसन सिंह, लालियाजुवाला चाङटे, सहाल समद, आसिक करुनियान र सुनील क्षेत्री ।