• १४ मंसिर २०८१, शुक्रबार

शिक्षा अधिकृतलाई हातपात गरेको आरोपमा वडा अध्यक्ष पक्राउ

blog

पक्राउ परेका शान्तिनगर गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष सुनिल वली ।

लीलाधर वली 

घोराही, असार ८ गते । दाङकाे शान्तिनगर गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष सुनिल वली पक्राउ परेका छन् । बिहीबार दिउँसो शान्तिनगर गाउँपालिकाको कार्यालयमा प्रवेश गरी शिक्षा अधिकृत सुमन पाण्डेलाई हातपात गरेको उजुरी परेपछि प्रहरीले आज वडा अध्यक्ष वलीलाई पक्राउ गरेको हो । 

वडा अध्यक्ष वलीलाई घोराही उपमहानगरपालिका-१० बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले जानकारी दिनुभयो । प्रहरी नायब उपरक्षक गौतमले भन्नुभयो, “घटना सम्बन्धी अनुसन्धानका लागि प्रहरीले वडा अध्यक्ष वलीलाई पक्राउ गरेको छ । अहिले थप अनुसन्धान भैरहेको छ ।” वडा अध्यक्ष वलीले बिहीबार गाउँपालिकाको शिक्षा शाखामा प्रवेश गरी सरकारको शर्त बजेट अन्तर्गत जनकल्याण माध्यमिक विद्यालय सिमसुन्दरपुरमा कार्यान्वयन हुने पुस्तकालय स्थापना कार्यक्रमको फाइल च्यात्नुका साथै शिक्षा अधिकृतलाई हातपात गरेको प्रमुख प्रशासकिय अधिकृत डिल्ली खड्काले जानकारी दिनुभयो । 

प्रमुख प्रशासकिय अधिकृत खड्काका अनुसार वडा अध्यक्ष वली र शिक्षा अधिकृत पाण्डेको समेत उपस्थितिमा छलफल चलिरहँदा विवाद बढेपछि वडाध्यक्ष वलीले कार्यक्रमसँग सम्बन्धित सम्झौताको फाइल च्यात्नुभएको थियो । त्यसक्रममा आफूले भने अनुसार नभएको भन्दै हातपात गरेको खड्काले बताउनुभयो । वली स्वतन्त्र रूपमा निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । 

गत फागुनमा पनि वडा अध्यक्ष वलीले गाउँपालिका अध्यक्ष प्रमोद बस्नेत र प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्कामाथि कार्यकक्षमै हातपातको प्रयास गरेको आरोप लागेको छ । ढुङ्गा जन्य पदार्थ उत्खनन् गर्ने विषयमा विवाद हुँदा वलीले गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतलाई कार्यकक्षमै हान्न टेबल उठाएको आरोप लगोको हो । 

यद्यपी उक्त आरोप वडा अध्यक्ष वलीले अस्वीकार गर्दै खोलामा ढुङ्गाजन्य पदार्थको दोहोन रोक्नका लागि सजक गराउने काम मात्रै गरेको बताउनुभएको छ ।