• १३ मंसिर २०८१, बिहिबार

गोरखा जिप दुर्घटनामा मृत्यु भएका पाँचै जनाको सनाखत

blog

अमरराज नहर्की

तनहुँ, असार ८ गते । गोरखामा जन्ती बस दुर्घटनामा मृत्यु हुने पाँच जनाकै सनाखत भएको छ । मृत्यु भएका एक महिला र चार पुरुष गरी पाँचै जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो ।  

मृत्यु हुनेमा शहीद लखन गाउँपालिका –५ ताक्लुङ पोखरी डाँडा बस्ने १९ वर्षीय प्रविन थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय नीरज थापा, १९ वर्षकी नवीना थापा र वर्षीय ६४ का धनबहादुर थापा रहेको प्रनाउ लामिछानेले जानकारी दिनुभयो । 

गए राती दुई बजे शहीद लखन-३ पात्ले खोलामा भएको दुर्घटनामा परी घटनास्थलमा नै उहाँहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शहीद लखन-३ को सिलिङकोटबाट बेहुली लिएर शहीद लखन गाउँपालिका-५ को ताक्लुङतर्फ फर्कने क्रममा प्रदेश नम्बर ३-०१-०२३ च ४४२७ नम्बरको जन्ती चढेको जिप दुर्घटना भएको थियो।

भिरालो धेरै भएकोले उद्धारमा कठिनाइ भइरहेको र नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीयले उद्धार गरेको प्रनाउ लामिछानेले जानकारी दिनुभयो । जिप कच्ची सडकबाट दुई सय ५० मिटर तल खसेको छ । प्रनाउन लामिछानेले भन्नुभयो, “शव यत्रतत्र छरिएकाले उद्वारमा कठिनाइ भएको छ ।" दुर्घटनामा परी अन्य १२ जना घाइते भएका छन् । घाइतेमध्ये नौ जनाको तनहुँको आँबुखैरेनीमा रहेको अस्पतालमा उपचार भइरहेको र तीन जनालाई भने थप उपचारको लागि भरतपुर लगिएको छ ।”

घाइतेहरूमध्ये सबैजना शहीद लखन ५ पोखरी डाँडाका हुन् । लालु थापा, सुरज राना, नरबहादुर थापा, दोषबहादुर थापा, होमबहादुर राना, सन्दीपा राना, सुरज थापा, चन्द्र थापा, कुलबहादुर राना, लक्ष्मी थापा, मनिका राना, प्रतीक राना घाइते हुनुभएको प्रनाउ लामिछानेले जानकारी दिनुभयो ।