• २० असोज २०८१, आइतबार

पुल बगेपछि दैनिक दश टन आपूर्ति अवरुद्ध

blog

मेची मार्ग अन्तर्गतको पाँचथर स्थित फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ मा रहेको बाढीले बगाएपछि हेवा खोला पुलको भग्नावशेष । तस्विरः गोरखापत्र

नारायण तुम्बापो 

फिदिम, असार ८ गते । मेची मार्ग अन्तर्गत फिदिम ताप्लेजुङ खण्डको मोटरएवल हेवाखोला पुल बगेसँगै पाँचथरको उत्तरी क्षेत्र र ताप्लेजुङमा नाकाबन्दी नै लागेको छ । असार २ र ३ गते परेको वर्षासँगै आएको बाढीले सो क्षेत्र छिर्ने मुल नाकाको पुल बगाएपछि चार दिन यतादेखि यातायातको नाकाबन्दी लागेको हो । 

पुल विहीनताले पाँचथरको याङ्वरक, हिलिहाङ र फालेलुङ गाउँपालिकाको यातायात सम्पर्क टुटेको हो । नौ वटा स्थानीय तह रहेको ताप्लेजुङका सात वटा नगर तथा गाउँपालिका पनि यातायात पहुँचदेखि टाढिएका छन् । यहाँको दुई वटा मैयाखोला र आठराई त्रिवेणी गाउँपालिकामा बाटो अवरुद्ध नरहेको अवस्था छ । यस क्षेत्रमा मध्य पहाडी लोक मार्ग अन्तर्गत तेह्रथुमको सक्रान्ति हुँदै जाने सडकमा समस्या नरहेको जनाइएको छ । यातायात सम्पर्कबाट विच्छेद रहेका विकट ताप्लेजुङको सात र पाँचथरको तीन वटा स्थानीय तहमा दैनिक दश टनसम्म हुने गरेको आपूर्ति अहिले अवरुद्ध छ । चामल, नुन, तेल, चिनी लगायतको दैनिक उपभोग्य सामग्री आपूर्ति नभइरहेको हो । 

ताप्लेजुङ उद्योग वाणिज्य सङ्घ अध्यक्ष नारायण थापाका अनुसार ताप्लेजुङ फुङ्लिङ बजारमा मात्रै दैनिक पाँच टन आपूर्ति गरिन्थ्यो । यति परिमाणको उपभोग्य सामग्री फूङ्लिङ् बजार सहित विभिन्न ग्रामीण क्षेत्रमा वितरण हुन्थ्यो । गाउँ गाउँमा जाने उपभोग्य वस्तु बाढी पहिरोले सडक छेकेपछि ढुवानी नभएर अहिले फूङ्लिङ्मै मौज्दात भएर रहेको छ । यसरी रहेको उपभोग्य सामग्री फूङ्लिङ्बासीका लागि जगेडा बनेपछि यहाँ तत्काल खाद्य सङ्कट नरहेको अध्यक्ष थापाले सुनाउनुभयो ।  विकट ग्रामीण क्षेत्रमा भने खाद्य सङ्कट सिर्जना भइसकेको उहाँको भनाइ छ । फुङ्लिङ्मा रहेको जगेडाले नौ÷दश दिनलाई मात्र धान्ने र तत्काललाई अति आवश्यक ग्याँसको भने अभाव सिर्जना भइहाल्ने अवस्था रहेको बताइएको छ । फूङ्लिङ्मा अहिले १२० सिलिन्डर मात्र ग्यास जगेडा रहेको वाणिज्य सङ्घले जनाएको छ । यता आपूर्ति हुन नसकिरहेको पाँचथरको उत्तरी क्षेत्रमा खाद्यान्न सङ्कट निम्तिएको पाँचथर उद्योग वाणिज्य संघ अध्यक्ष नवराज नवराज घिमिरेले बताउनुभयो । उहाँका अनुसार उत्तरी फालेलु साथै हिलिहाङ, याङ्वरक गापा र यी दुई गापासँग जोडिएका ताप्लेजुङका विभिन्न स्थानीय तहमा दैनिक पाँच टन उपभोग्य सामग्री आपूर्ति हुन्थ्यो । यी क्षेत्रमा विभिन्न प्रकारका उपभोग्य बस्तु पाँचथरको सदरमुकाम फिदिम बजारबाट जान्थ्यो । यो रोकिदा फिदिम बजारमा अहिले व्यावसायिक मन्दी पनि छाएको अध्यक्ष घिमिरेले सुनाउनुभयो । त्यसो त पाँचथरको उत्तरी क्षेत्रबाट उत्पादित दैनिक दश लाख मूल्य बराबरका तरकारी ढुवानी हुन नपाउँदा कुहिएर खेर गइरहेको छ । चारो अभाव हुन थाल्दा फर्मका कुखुरा धमाधम मर्न थालेका किसानको दुखेसो छ । यस क्षेत्रकाले एम्बुलेन्स सञ्चालन हुन नपाउँदा जटिल प्रकृतिका बिरामीले चाडै उपचार सेवा पाउनबाट वञ्चित हुनु परिरहेको छ । बालबालिकालाई नियमित प्रदान गर्नु पर्ने खोप सेवा प्रवाह गर्नमा कठिनाइ भइरहेको जनस्वास्थ्य कार्यालयका खोप सुपरभाइजर गणेश तुम्बापोले बताउनुभयो । 

मेची मार्गको फिदिम ताप्लेजुङ सडक खण्डमा दैनिक निजीका साथै भाडाका दुई सय बढी यात्रु बाहक गाडीको आवागमन हुने गर्थ्यो । पुल अभावले सिधा आवागमन ठप्प हुँदा यहाँ दैनिक दुई हजार यात्रुले यात्रा गर्न नपाइरहेका यस क्षेत्रमा सञ्चालित हिमाल ट्याक्सी व्यावसायि सङ्घका निसान लिम्बूले सुनाउनुभयो । दुई सय यातायात मजदुरले बेरोजगारको स्थिति भोग्नु परिरहेको पनि उहाँले सुनाउनुभयो । फिदिम ताप्लेजुङ खण्डमा मेची मार्ग अवरुद्ध हुँदा स्थानीय जनजीवन कष्टकर बनेको छ । पाँचथरको उत्तरी क्षेत्र र ताप्लेजुङ नै जोडिने वैकल्पिक मार्ग तमोर कोरिडोर हेवाखोला स्थितकै बेलिब्रिज बाढीले बगाएको छ । हेवाखोलामा अहिले बाढी पहिरो पीडितलाई राहत प्रदान गर्न तुइन सञ्चालनमा ल्याइएको छ । त्यसैगरी बेलब्रिज पनि निर्माणरत छ ।