सञ्जयकुमार मिश्र
गौर, असार ७ गते। मधेश प्रदेशका वन तथा वातावरणमन्त्री रवीन्द्रप्रसाद कुर्मीले वातावरण संरक्षणको लागि सबैले वृक्षारोपण गर्नुपर्ने बताउनुभएको छ।
रौतहटको ईशनाथ नगरपालिकाको आर्थिक वर्ष ०८०/०८१ को नीति तथा कार्यक्रम तथा सातौँ नगर सभाको उद्घाटन गर्नुहुँदै मन्त्री कुर्मीले पानीको मुहान सुकिसकेको तथा पानीको सतह घट्दै जाँदा टयांकीबाट पानी सप्लाई गर्नुपरेको बताउनुभयो।
मन्त्री कुर्मीले आफू प्रदेश सरकारमा रहेसम्म भ्रष्टाचार हुन नदिने ठोकुवा गर्नुहुँदै भ्रष्टाचार निर्मूल पार्न सबैले लाग्नुपर्ने धारणा राख्नुभयो।
ईशनाथ नगरपालिकाको नगर सभाको सफलताको कामना गर्नुहुँदै मन्त्री कुर्मीले विगतको सरकार भन्दा अहिलेको प्रदेश सरकारको कामको सराहनीय रहेको भन्दै मन्त्री कुर्मीले प्रदेश सरकारले गरिरहेको कामको राम्रा तथा नराम्रा दुवै पक्ष उजागर गर्न सञ्चारकर्मीसँग आग्रह गर्नुभयो।
नगर सभामा ईशनाथ नगरपालिकाका नगरप्रमुख कौशल्या देवीले चालु आर्थिक वर्षमा भएको स्वास्थ्य, सामाजिक विकास, भौतिक पूर्वाधार, सुशासन सेवा प्रवाह बारे प्रकाश पार्नुहुँदै उहाँले अगामी आर्थिक वर्षको प्राथमिकतामा रहेको बताउनुभयो।
नागर सभामा उपप्रमुख परवेज आलमले आर्थिक वर्ष ०८०/०८१ को लागि ५० करोड ६९ लाखको बजेट प्रस्तुत गर्नुभएको छ। उहाँले चालुतर्फ ३० करोड ८८ लाख तथा पुँजीगत खर्च तर्फ १९ करोड १२ लाख रहेको तथा वडाको पुँजीगततर्फ ५० लाख तथा चालुतर्फ पाँच लाख विनियोजन गरिएको जानकारी दिनुभयो।
नगर सभामा वडाध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी, पत्रकार, सुरक्षाकर्मीलगायत नगरवासीको उपस्थिति रहेको ईशनाथ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत भूदेव झाले जानकारी दिनुभयो।