बडो दिक्कलाग्दो कुरो– प्रेमदाइले सामान लगेको हिसाब कहिल्यै मिलाउनु भएन । दुई वर्ष भइसक्यो दिएकै होइन ।
सामान मगाउनु हुन्छ तर पैसा चुक्ता गर्नु हुन्न । परिवारमा प्रेमदाइको हिसाबकिताबको कुरा उठ्यो कि मतिर सबैको तारो हुन्छ । दाइले पनि भाइले पनि दुवैले मलाई नै कराउने गर्छन्, “खोइ, प्रेमदाइकहाँ पैसा उठाउनु पर्दैन ?”
प्रेमदाइलाई हिसाबकिताब फस्र्योट गर्नका निम्ति अनुरोध गर्दा “बिः का” (दिन्छु नि) भन्नुहुन्छ ।
म चुप । मेरा कारण प्रेमदाइलाई उधारो सामान दिन थालिएको हुनाले परिवारले मलाई नै ताकेता लगाउँछन् ।
हामीले गर्ने होलसेल व्यापारका कारण प्रेमदाइसँग हाम्रो चार लाखभन्दा बढी बाँकी देखिन आएको थियो ।
एउटा छटपटी रहने गर्दथ्यो मनमा– मेरो मनमा ।
अस्तिको दिन अचानक प्रेमदाइकहाँबाट फोन आयो । उहाँकी श्रीमती बुर्मैतताजुले फोन गर्नुभएको– “ए बाबु, छक छें झासँ रे ।” (बाबु, एक पटक घरमा आउनोस् न ।)
उहाँले बोलाउनुभएको समयमा म घर पुगेँ ।
स्वागत बुर्मैतताजुले नै गर्नुभयो । भित्र बोलाएर लैजानु भयो । भित्र कोठामा प्रेमदाइ उत्तानो परेर बिछ्यौनामा पल्टिराख्नु भएको थियो । उहाँलाई स्लाइन पानी पनि चढाइएको थियो । घरमै नर्सको व्यवस्था गरेका रहेछन् । प्रेमदाइ त सिकिस्त हुनुहुँदो रहेछ ।
एक छिन उहाँको छेउमा बसेर भनेँ– “प्रेमदाइ ! तपाईंलाई के भएको ? बिरामी हुनु भएछ ।”
जवाफमा प्रेमदाइले उल्टो सोध्नुभयो– “कति छ रे बाँकी हाम्रो ?”
मैले फेरि सोधेँ– “के भएको दाइ तपाईंलाई ?”
“अलिकति बिरामी छु । अब उमेर पनि भयो नि । पचासी पुगेँ । कति छ रे बाबुसँगको हिसाब ? हामीले दिनुपर्ने ?”
मैले उता आफ्नो अफिसमा फोन गरी हिसाब गरिदिन भनेँ ।
एक छिनपछि एकाउन्टेन्टको फोन आयो– “चार लाख छब्बिस हजार पाँच सय त्रिपन्न ।”
प्रेमदाइले सिरानमै चेक राखिराखेका रहेछन् । चेक निकाल्न भने र त्यसमा मलाई त्यो रकम लेख्नका निम्ति आग्रह गरे । मैले चेक लेखिदिएँ । प्रेमदाइले सकी नसकी चेकमा हस्ताक्षर गरिदिनुभयो ।
त्यो दिनको भोलिपल्ट बैङ्कमा चेक जम्मा गर्न लगाएँ । मेरो मोबाइलमा साँझ त्यो चेकको भुक्तानी भएको भन्ने मेसेज आयो ।
त्यसको तीन दिनपछि प्रेमदाइ मन्तः (प्रेमदाइ रहनुभएन) भन्ने समाचार आयो ।
जीवनकै भुक्तान गर्ने बेला बाँकी बक्यौता भुक्तान गर्नु उहाँको सदासयता थियो कि सबै त छोडेर जानु छ भन्ने बाध्यताको भाव थियो अहिलेसम्म मैले निक्र्योल गर्न सकेको छैन ।