• १४ मंसिर २०८१, शुक्रबार

ऊर्जामन्त्री बस्नेतद्वारा भार प्रेषण केन्द्रको अनुगमन

blog

नेपाल विद्युत प्राधिकरणको स्युचाटारस्थित भार प्रेषण केन्द्र पुगेर देशभरि विद्युत आपूर्तिको अवस्था बारेमा निरीक्षण तथा अनुगमन गर्नुहुँदै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बस्नेत ।

काठमाडौं, ५ असार। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बस्नेतले नेपाल विद्युत प्राधिकरणको स्युचाटारस्थित भार प्रेषण केन्द्र पुगेर देशभरि विद्युत आपूर्तिको अवस्था बारेमा निरीक्षण तथा अनुगमन गर्नुभएको छ।

गर्मी बढेर ऊर्जाको अत्यधिक खपत भइरहेका बेला ऊर्जामन्त्री बस्नेत मंगलबार साँझ भार प्रेषण केन्द्रमा पुगी देशभरिको विद्युतको खपत र आपूर्ति व्यवस्थापनका विषयमा जानकारी लिनुभएको हो।

मन्त्री बस्नेतलाई नेपाल विद्युत प्राधिकरणका महानिर्देशक कुलमान घिसिङ सहकार्यकारी निर्देशक सहितले देशभरको भारत प्रेषणको रियल टायम कन्ट्रोल सिस्टमका बारेमा जानकारी गराउनुभएको थियो।

ऊर्जामन्त्री बस्नेतले विद्युत विद्युत उत्पादनको अवस्था, प्रसारण लाइनको अवस्था र ग्रीड सब-स्टेसनको अवस्थाका बारेमा पनि जानकारी लिनुभयो। 

मन्त्री बस्नेतलाई हाल देशका कुन कुन आयोजनाबाट कति ऊर्जा उत्पादन भइरहेको छ र उक्त ऊर्जा कसरी वितरण भइरहेको छ भन्ने बारेमा प्राधिकरणका महानिर्देशक घिसिङ सहितको टोलीले रियल टाइम मोनिटरिङ सिस्टम नै देखाएर जानकारी गराउनुभयो।

भार प्रेषण केन्द्रले देशभरको विद्युत् आपूर्ति, माग र वितरणको व्यवस्थापनको काम गर्छ। अत्याधुनिक प्रविधि जडित केन्द्रबाट प्राधिकरण र निजी क्षेत्रको कुन विद्युत् गृहबाट कति विद्युत् उत्पादन भइरहेको छ, भारतबाट कति आयात भइरहेको छ र कुन क्षेत्रमा कति माग र आपूर्ति छ भन्नेबारे प्रत्यक्ष डेटा हेर्न सकिन्छ।

हाल देशमा प्रसारण लाइन पर्याप्तता मात्रामा बन्न नसक्दा उच्च विद्युत माग भएका औद्योगिक केन्द्रसहितका क्षेत्रमा विद्युत पुर्‍याउन नसकिएको र पहाडी क्षेत्रका जलविद्युत आयोजनामा केही आयोजना कम क्षमतामा चलाउनु परिरहेको छ। 

भार प्रेषण केन्द्रको निरीक्षणका क्रममा मन्त्री बस्नेतले अब प्रसारण लाइनलाई यथाशक्य चाँडो निर्माण गर्ने गरी योजना बनाउन निर्देशन दिनुभयो। त्यसका लागि केही महिना भित्रमा समाधान गर्न सकिन अल्पकालीन योजना र केही वर्षभित्र गरिसक्ने दीर्घकालीन योजना बनाइ अघि बढ्न पनि निर्देशन दिनुभयो। त्यसका लागि मन्त्री बस्नेतले बुधबार नै प्राधिकरण र मन्त्रालयका उच्च अधिकारीसहितको बैठक बोलाउनुभएको छ।

मन्त्री बस्नेतले नेपालमा हाल धेरै जलविद्युत आयोजना बन्दै गरेकोले ऊर्जा उत्पादन धेरै हुने हुँदा विद्युतको निर्यातका अलावा देशभित्रै खपत बढाउन सकिने कार्ययोजना बनाउनुपर्ने बताउनुभयो। 

प्राधिकरणका महानिर्देशक घिसिङका अनुसार अहिले दैनिक दुई हजार मेगाबाट बराबरको विद्युत खपत भइरहेको बताउनुभयो।