• २० असोज २०८१, आइतबार

सडक कालोपत्रे भएपछि मुहार फेरियो

blog

गाईघाट समाचारदाता

गाईघाट, असार ५ गते ।  सडक चौडा बनाएर कालोपत्रे गरिएपछि सदरमुकाम गाईघाटस्थित बोक्से क्षेत्रको मुहारै फेरिएको छ। जिल्लास्थित सम्पूर्ण सरकारी कार्यालयको बिचबाट जाने गाईघाट–दिक्तेल सडक अन्तर्गत पुरानो आँखा अस्पतालदेखि बरुवा पुलसम्मको चार किलोमिटर क्षेत्रमा कालोपत्रेसहित सडक चौडा पारिएपछि सो क्षेत्रको मुहार फेरिएको हो।

तर निर्माण कार्य सुचारु भइरहेको अवस्थामा बोक्सेभन्दा माथि करमगाछी भन्ने स्थानमा स्थानीय केहि व्यक्तिले निर्धारित सडक सीमा २५ मिटर चौडाइभरि नै कालोपत्रे गर्नुपर्ने माग अगाडि सारेर निर्माण कार्यमा अवरोध गरेपछि कानुन विपरित हुने यस्ता नाजायज मागका कारण करमगाछी चोकमा दुई दिनदेखि निर्माण कार्य अवरुद्ध भएको गाईघाट–दिक्तेल सडक योजना कार्यालयका प्रमुख डिभिजन इन्जिनियर गोपालप्रसाद खकुरेलले बताउनुभयो।

सो सडक स्तरोन्नतिका लागि गत मङ्सिर १२ गते भएको ठेक्का सम्झौता अनुरूप मूल्य अभिवृद्धि करसहित आठ करोड ३४ लाख ६० हजार रुपियाँको लागतमा २०८० साल जेठ १२ गते सम्ममा सम्पूर्ण काम सम्पन्न गर्नेगरी जय एन्ड ब्रदर–पवित्रा जेभी निर्माण कम्पनीले काम गरिरहेको उहाँले बताउनुभयो।

निर्माण कम्पनीले गाईघाटस्थित पुरानो आँखा अस्पताललाई शुन्य बिन्दु मानेर सडक फराकिलो गर्ने काम सुरु गरेको हो। साढे सात मिटर कालोपत्रेसहित ११ मिटर चौडाइको फराकिलो सडक निर्माण गर्न अहिलेको सडकको दायाँबायाँ दुवैतर्फ बढाएर सडक चौडा पार्ने योजना अनुरूप काम सन्तोषजनक ढङ्गले अगाडि बढिरहेकोमा योजनामा हुँदै नभएको माग आएपछि करमगाछी क्षेत्रमा भने काम अगाडि बढ्न सकेको छैन।

त्रियुगा नगरपालिकाका प्रमुख वसन्त बस्नेतले विकास निर्माणका कामकाजमा कुनै पनि किसिमको अवरोध गर्न नहुने भन्दै करमगाछी क्षेत्रमा तत्काल काम सुरु गर्न गाईघाट दिक्तेल सडक आयोजनालाई आफूले अनुरोध गरिसकेको बताउनुभयो। उहाँले कहिकतैबाट अवरोध आए नगरपालिकाले त्यस्ता अवरोध हटाएर योजनाको कामलाई सुचारु गराउने बताउनुभयो।

फराकिलो र अस्फाल्ट कालोपत्रेसहितको सडक स्तरोन्नति भएपछि बरुवा पुलसम्मको सडक आकर्षक हुनुका साथै सवारी आउजाउमा सहज हुने कार्यालयले जनाएको छ। यसअघि गरिएको कालोपत्रे उप्किसकेको र गुणस्तरीय पनि नभएको तथा चौडाइ चार मिटर मात्र भएकोले सवारीसाधनको चाप अनुसार सडक साँघुरो हुँदा दोहोरो लेनमा यातायात चल्न धेरै कठिन हुन थालेपछि कालोपत्रेसहित सडक चौडा पार्न थालिएको डिई खकुरेलको भनाइ छ।

तीन वर्षअघि नै सदरमुकाम गाईघाटको बिच भाग भएर पूर्व–पश्चिम मदन भण्डारी लोकमार्गसँग जोडिएको हुनाले गाईघाट–दिक्तेल सडकलाई पनि स्तरोन्नति गर्नैपर्ने बाध्यता भएको हो। मदन भण्डारी सडकको कालोपत्रे उच्च गुणस्तरीय भएकाले त्यससँग जोडिएको गाईघाट–दिक्तेल सडक पनि उत्तिकै गुणस्तरीय र आकर्षक हुनुपर्ने माग जनस्तरबाट व्यापक आएकाले सडक योजना कार्यालयले गाईघाट–बरुवा खण्डमा अस्फाल्ट प्रविधिकै कालोपत्रे गर्ने कार्य अघि बढाएको उहाँ बताउनुहुन्छ।

नेपाल सरकारको चालु वर्षमा विनियोजित ४० करोड रुपियाँबाट सो कार्य थालिएको र बाँकी रहेको बजेट बरुवा पुलभन्दा माथि पनि थप सडक स्तरोन्नति गर्ने योजना रहेको उहाँको भनाइ छ। तीन दशकअघि सुरु भएको गाईघाट–दिक्तेल सगरमाथा लोकमार्गमा हालसम्म गाईघाटदेखि खाँबुको बागखोरसम्म कालोपत्रे भएको छ तर सरफेस ड्रेसिङ प्रविधिमा गरिएको त्यो कालोपत्रे गुणस्तरीय भने नहुने भएकाले अस्फाल्ट प्रविधि मै गर्नेगरी प्राविधिकहरूको सुझाव बमोजिम काम अगाडि बढाइएको डिई खकुरेलले जानकारी दिनुभयो।