• २० असोज २०८१, आइतबार

उमेर नपुगी बच्चा जन्माउने आमा र शिशुको ज्यान जोखिममा

blog

१४ वर्षकी किशोरीबाट महिना नपुगी जन्मेको बच्चाको उपचारमा संलग्न अस्पतालकी स्वास्थ्यकर्मी र साथमा सुत्केरी आमा । तस्बिर : राधा लुइँटेल

राधा लुइटेल

फिदिम, असार ४ गते । पाँचथर फालेलुङ गाउँपालिका –४ कि कोपिला लिम्बूको १४ वर्षकै उमेरमा प्रेम विवाह भयो । विवाह भएको सात महिना नपुग्दै उहाँलाई सुत्केरी व्यथा लाग्यो । महिना नपुगी जन्मेको बच्चाको तौल ९ सय ग्राम मात्र थियो । जन्मेको १२ घण्टा नबित्दै पाँचथर अस्पतालमा शिशुको ज्यान गयो ।  

अस्पतालका अनुसार सुत्केरी व्यथा लागेर अस्पताल आइपुग्दा कोपिला स्वयम्को तौल जम्मा ४१ किलो थियो । बच्चा जन्मेको दुई महिना बित्दासम्म कोपिलाको स्वास्थ्य अवस्था कमजोर छ । त्यस्तै, प्रसूति व्यथा लागेर जिल्लाको याङवरक गाउँपालिका –४ बाट पाँचथर अस्पताल ल्याइनुभएकी सरिता लिम्बूको सामान्य डेलिभरी हुन नसकेपछि अप्रेसन गरेर बच्चा निकालियो । १८ वर्षीय सरिताको अप्रेसनपछि जन्मेको शिशु उनको तेस्रो सन्तान थियो । 

उहाँको पहिलो सन्तान साढे तीन र दोस्रो सन्तान दुई वर्षका छन् । स्कुल पढ्दापढ्दै प्रेम सम्बन्ध भएपछि गर्भवती भएर बिहे गर्नुभएकी उहाँले १५ वर्ष नटेक्दै पहिलो सन्तान जन्माएको बताउनुभयो । बर्सेनि जन्मेका दुवै बच्चा दुब्लो पातलो छन् । 

२४ वर्ष पुगेपछि बिहे गर्नुभएकी पाँचथर फिदिम –१ का कविता नेपालीको अनुभव केही फरक छ । आफू परिपक्व भएर विवाह गर्दा गर्भधारणसँगै गर्भावस्थामा अपनाउनु पर्ने सावधानीबारे राम्रो जानकारी पाएकाले आफ्ना सन्तान स्वस्थ जन्मेको उहाँको भनाइ छ । 

उहाँको दुवै सन्तान स्वस्थ छन् । सदरमुकाम फिदिमकै एक निजी विद्यालयको कक्षा १० मा अध्ययनरत १४ वर्षीया छात्राले पनि छोरी जन्माइन् । उहाँले जन्माएको बच्चाको तौल १६ सय ग्राम मात्र थियो । फिदिम नगरपालिका –९ कि १६ वर्षीया शर्मिला राईले गत चैत १४ गते पाँचथर अस्पतालमा जन्माएको बच्चाको तौल पनि १७ सय ग्राम मात्रै छ ।

माथि उल्लेखित अवस्थाहरू कलिलै उमेरमा बिहे गरेका किशोरीबाट कम तौलको बच्चा जन्मेका प्रतिनिधिमूलक उदाहरण मात्र हुन् । सरदर मासिक १ सय जनाले प्रसूति सेवा लिने यस अस्पतालका ३५ प्रतिशत सेवाग्राही २० वर्षभन्दा कम उमेरका किशोरी रहेको अस्पतालको तथ्याङ्क छ । 

३७ हप्ताभन्दा कम समयमा शिशु जन्मनुलाई चिकित्सकीय भाषामा प्रिम्याचुअर बर्थ भनिन्छ ।

चालु आर्थिक वर्ष २०७९–८० को साउनदेखि चैत महिनासम्म पाँचथर अस्पतालमा ८ सय ३५ जना महिलाले प्रसूति सेवा लिएका छन् । तीमध्ये १ सय ४५ जना २० वर्षभन्दा कम उमेरका छन् । तीमध्ये १९ जनाको महिना नपुगी बच्चा जन्मेको तथ्याङ्कले देखाएको छ । महिना नपुगी जन्मेका १९ मध्ये ३ जना शिशुको जन्मेको २४ घण्टाभित्र ज्यान गएको छ ।  

बालविशेषज्ञ डा. वरुण अग्रवालले भन्नुभयो, “३७ हप्ताभन्दा कम समयमा शिशु जन्मनुलाई चिकित्सकीय भाषामा प्रिम्याचुअर बर्थ भनिन्छ । यसरी महिना नपुगी जन्मेका बच्चा मर्ने सम्भावना धेरै हुने चिकित्सकको भनाइ छ । ३७ हप्ता नपुगी जन्मेकालाई अक्सिजनसहित स्वास्थ्यकर्मीको निगरानीमा लामो समय उपचार गर्नुपर्छ जुन अत्यन्तै झन्झटिलो र जटिल प्रक्रिया हो ।” 

पाँचथर अस्पतालमा कार्यरत एम¬डीजीपी डा. बुद्धिबहादुर थापाले भन्नुभयो, “अपरिपक्व उमेरमा गर्भवती हुँदा, एउटा बच्चा जन्मेको १८ महिना नपुग्दै पुनः गर्भवती हुँदा, पर्याप्त पौष्टिक आहारको कमी र गर्भावस्थामा धूम्रपान र मद्यपान गर्ने महिलाले जन्माएका बच्चा महिना नपुगी जन्मने खतरा धेरै हुन्छ  ।”

कानुन एकातिर व्यवहार अर्कोतिर 

नेपालको मुलुकी देवानी संहिता २०७४ ले २० वर्ष पूरा नभई विवाह गर्न बन्देज गरेको छ । यद्यपि किशोरी अवस्थामै बिहे गरेर बच्चा जन्माउनेहरूको सङ्ख्या भने घटेको छैन । कानुनले विवाह गर्ने उमेर तोके पनि उमेर नपुग्दै गर्भवती हुने किशोरीको सङ्ख्या जिल्लामा घटेको छैन । 

कोशी प्रदेशमा १५ प्रतिशत किशोरी २० वर्ष नपुग्दै गर्भवती भएको देखिएको छ  । 

२०२२ मा गरिएको नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस) ले कम उमेरमा सन्तान जन्माउने किशोरीको सङ्ख्या ३ प्रतिशतले घटेको देखिएको छ । उक्त सर्वेक्षणले नेपालमा १४ प्रतिशत किशोरी (१५ देखि १९ वर्ष) २० वर्ष नपुग्दै गर्भवती हुने देखाएको छ । 

यसअघि सन् २०१६ को अध्ययनले नेपालमा १७ प्रतिशत किशोरी कम उमेरमै गर्भवती हुनेगरेको देखाएको थियो । कोशी प्रदेशमा १५ प्रतिशत किशोरी २० वर्ष नपुग्दै गर्भवती भएको देखिएको छ  । 

कलिलैमा बच्चा जन्माउँदा खतरा

२० वर्ष नपुग्दै बच्चा जन्माउँदा आमा र बच्चा दुवैको स्वास्थ्यमा असर पुग्ने अनुभव पाँचथर जिल्ला अस्पतालमा कार्यरत नर्सिङ निरीक्षक लक्ष्मी जोशीले सुनाउनुभयो ।  कलिलो उमेरमै गर्भवती हुँदा आमामा विभिन्न किसिमका जटिलता आउने उहाँको भनाइ छ । 

सुत्केरी भइसकेपछि पनि पाठेघर खस्ने, पिसाब चुहिरहने र बच्चा ख्याउटे हुनेजस्ता दर्जनौँ समस्या निम्तिने उहाँले बताउनुभयो । यसैगरी पाठेघर वयस्क नभई जन्मिएका बच्चालाई श्वास फेर्न गाह्रो हुने, तापक्रम सन्तुलित बनाउन कठिन हुनेदेखि रगतमा सङ्क्रमण हुनेजस्ता समस्या देखिने उहाँले चर्चा गर्नुभयो ।  

नेपालमा हरेक पाँच जना सुत्केरीमध्ये एक जना कम उमेरको हुने प्रसूति गृहको तथ्याङ्कले देखाएको छ । सुरक्षित गर्भपतन सेवालाई अझै पनि सामाजिक लाञ्छनाको रूपमा हेरिने भएकाले किशोरीहरूलाई गर्भपतन गराउन सामाजिक अवरोध रहेको छ । 

केही किशोरीको मात्र सुरक्षित गर्भपतन सेवामा पहुँच रहेको चिकित्सकको भनाइ छ ।  गर्भपतन नहुने अवस्थामा किशोरीहरू मन नलागी–नलागी बच्चा जन्माउने स्थितिमा पुग्ने चिकित्सकको बुझाइ छ । २० वर्ष उमेर नपुगेका किशोरीको पाठेघरको विकास राम्रोसँग नहुने भएकाले विभिन्न किसिमका सङ्क्रमण हुने खतरा उत्तिकै रहने बताइन्छ । 

२० वर्ष उमेर नपुगेका किशोरीको पाठेघरको विकास राम्रोसँग नहुने भएकाले विभिन्न किसिमका सङ्क्रमण हुने खतरा उत्तिकै रहने बताइन्छ । 

त्यस्तै लाज, डरले गर्दा किशोरीले आइरन चक्की नखाँदा रक्तअल्पताजस्ता समस्या निम्तिनेगरेको चिकित्सकको भनाइ छ । सानो उमेरमा जन्मिएका बच्चा कम तौलको हुने, बच्चा जन्माउँदा दुखाई सहन सक्ने क्षमता कम हुने हुनाले प्राकृतिक रुपमा सुत्केरी हुन नसक्ने, अप्रेसन गर्नुपर्ने स्थिति आउने स्वास्थ्यकर्मीको बुझाइ छ ।

समस्या न्यूनीकरणको उपाय

सानो उमेरमा गर्भवती हुने समस्या कम गर्न सरकारले विद्यालय तहबाट नै यौन शिक्षा दिने, स्कुल नर्सको सहयोगमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने, किशोर–किशोरीमैत्री सूचना केन्द्रबाट जनचेतना फैलाउने काम भइरहे पनि त्यो ग्रामीण क्षेत्रसम्म नपुगेको धेरैको बुझाइ छ । 

परिवार नियोजनका साधनको प्रयोग गरियो भने आमाको मृत्युदर ३० प्रतिशतले र बच्चाको मृत्युदर १० प्रतिशतले घटाउन सकिने परिवार नियोजन तथा प्रजनन् स्वास्थ्य शाखाकी प्रमुख कविता अर्यालले बताउनुभयो । ‘उमेर नपुग्दै गर्भवती भएकाबाट जन्मिएको बच्चाको मृत्युदर दुई गुणा बढी हुने उहाँको बुझाइ छ । 

पछिल्लो समय दुर्गम क्षेत्रसम्म विस्तार भएको इन्टरनेटको पहुँच र सामाजिक सञ्जालको उपभोगले किशोर अवस्थामै विवाह गर्नेको सङ्ख्या बढ्दो छ । यो सँगै प्रजनन स्वास्थ्य र परिवार नियोजनको प्रयोगका विषयमा गलत भ्रम, अन्धविश्वास आदिले पनि कलिलो उमेरमा गर्भवती हुनेको सङ्ख्या नघटेको स्वास्थ्य  तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली काठमाडौंका निर्देशक  डा. पवनजङ्ग रायमाझीले बताउनुभयो ।  

परिवार नियोजनका साधनको प्रयोगमा कमी

पछिल्लो तथ्याङ्कअनुसार औपचारिक शिक्षा हासिल नगरेका ३३ प्रतिशत किशोरी उमेर नै नपुगी गर्भवती हुन्छन् । यो समस्या घटाउन किशोर–किशोरीलाई समयमा नै गर्भ कसरी बस्छ, के–के कुरामा ध्यान दिनुपर्छ, परिवार नियोजनका साधनहरू कसरी प्रयोग गर्नेलगायतका कुरा सिकाउनुपर्ने विज्ञहरू बताउँछन् ।

किशोर–किशोरीलाई परिवार नियोजनका साधन कसरी प्रयोग गर्नेलगायतका कुरा सिकाउनुपर्ने विज्ञहरु बताउँछन् ।

जनचेतनाको पक्षमा काम भइरहेको भए पनि पर्याप्त नभएको पछिल्लो तथ्याङ्कले देखाएको छ । ‘कम उमेरमा बिहे गर्ने र उनीहरूमा परिवार नियोजनका अस्थायी साधन प्रयोगका लागि जानकारी नहुँदा पनि कलिलै उमेरमा आमा बन्नेको सङ्ख्या नघटेको हो’ रायमाझीले भन्नुभयो । 

२० वर्ष पुरा नभई विवाह गर्न हुँदैन, यदि भइहाले गर्भनिरोधक साधन प्रयोग गरेर बच्चा २० वर्ष उमेर पुगेपछि मात्र जन्माउनुपर्छ भन्ने चेतना फैलाउन सकेमा यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी समस्या न्यूनीकरण हुने उहाँले बताउनुभयो । 

सरकारले महिला स्वास्थ्य स्वयंसेविकाको सहयोगमा कण्डम, पिल्स र ४८ घन्टे आकस्मिक गर्भनिरोधक चक्की निःशुल्क वितरण गरिरहेको छ । तर पनि परिवार नियोजनका आधुनिक विधिको प्रयोग गर्नेको सङ्ख्यामा सुधार आउन सकेको छैन ।