• १४ मंसिर २०८१, शुक्रबार

महिला जनप्रतिनिधिलाई नेतृत्व विकास तालिम

blog

रमेश विश्वकर्मा

गुल्मी, असार ४ गते । गुल्मीको एक स्थानीय तहले आफ्ना महिला जनप्रतिनिधिलाई उद्घोषण तथा नेतृत्व विकास सम्बन्धी तालिम दिएको छ । जिल्लाको गुल्मी दरबार गाउँपालिकाले आफ्ना महिला जनप्रतिनिधिलाई तीन दिनसम्म सो तालिम दिने भएको हो । 

शुक्रबारदेखि सुरु भएको सो तालिममा गाउँपालिकाको वडा नम्बर– १ देखि ७ सम्मका महिला जनप्रतिनिधिलाई बोल्ने कलाको विकास गर्दै नेतृत्व तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्य राखिएको गाउँपालिकाले जनाएको छ । 

तालिममा सहभागीलाई उद्घोषक भनेको के हो ? उद्घोषण कसरी गर्ने, उद्घोषण गर्दा ध्यान दिनुपर्ने कुरा, नेतृत्व र नेतृत्वमा हुनुपर्ने गुणहरूका साथै कानुनमा महिला अधिकार, मुलुकी देवानी र फौजदारी संहिताको बारेमा जानकारी गराइएको छ । नेपाल पत्रकार महासङ्घ गुल्मीका पूर्व अध्यक्ष जनार्दन घिमिरे, पत्रकार सञ्जु पौडेल र अधिवक्ता हिरा कुँवरले सो तालिममा सहजीकरण गर्नुभयो । 

त्यस अवसरमा गाउँपालिका उपाध्यक्ष तारा थापा ढेङ्गाले यस्तै महत्त्वपूर्ण तालिमले महिलामा क्षमता अभिवृद्धिका र नेतृत्व विकास गर्न सहयोग पुर्‍याउने बताउनुभयो । आगामी दिनमा यस्तै महत्त्वपूर्ण तालिमहरू वडा तहसम्म पुर्‍याउने उहाँले बताउनुभयो । 

त्यस्तै, गाउँपालिका अध्यक्ष सरोजकुमार थापाले महिला जनप्रतिनिधिहरूका लागि यो तालिमले ठुलो उपलब्धि हासिल गरेको बताउनुभयो । तालिममा सिकेका कुराहरूलाई अभ्यास र व्यवहारमा उतार्न समेत उहाँले आग्रह गर्नुभयो ।