• ९ जेठ २०८१, बुधबार

नेपालगञ्जमा यस वर्षकै सबैभन्दा बढी गर्मी

blog

गर्मीका कारण दिउँसो सुनसान देखिएको नेपालगञ्जको सडक । तस्विर : सिराज खान

सिराज खान 

नेपालगञ्ज, असार ३ गते । नेपालगञ्जमा तापक्रम बढेर करिब ४३ डिग्री पुगेको छ । तापक्रम बढेर ‘लु’ चल्ने क्रम बढ्दै गएपछि बाँकेको जनजीवन अस्तव्यस्त बनेको छ । 

केहीदिन यता नेपालगञ्जको तापक्रम बढेर हालसम्मकै उच्च ४२.५ डिग्री सेल्सियससम्म पुगेको र तातो हावा लु का कारण यहाँको जनजीवन अस्तव्यस्त बनेको छ । जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय नेपालगञ्जले शनिवार र आइतवार नेपालगञ्जमा यो वर्षकै सबैभन्दा बढी तापक्रम मापन गरिएको छ ।  

सो कार्यालयका मौसम अवलोकनकर्ता रिमझिम केवटका अनुसार शनिवार र आइतवार नेपालगञ्जको तापक्रम ४२.५ डिग्री मापन गरिएको छ । केवटले यो तापक्रम यस वर्षको अहिलेसम्मकै सबैभन्दा धेरै भएको जनाउँदै गत वर्ष यो समयमा नेपालगञ्जको तापक्रम ४१ डिग्री सेल्सियससम्म पुगेको बताउनुभयो । 

उहाँले यो वर्ष गत वर्षभन्दा पनि बढी गर्मी भएको जनाउँदै, अब केही दिनमै पानी पर्ने र तापक्रम ओरालो लाग्ने सम्भावना रहेको बताउनुभयो । तापक्रम बढ्दै जाँदा गर्मी अत्यधिक बढेकाले नेपालगञ्ज बजार दिउँसो सुनसान देखिएको छ । 

काम विशेषले घरबाट बाहिर निस्कनुभएका नेपालगञ्ज–११ का रिजवान अन्सारी गर्मीका कारण सडकमै बेहोस भएर ढल्न लागेको बताउनुभयो । स्थानीयले आएर पानी खुवाएपछि आफू होसमा आएको बताउनुभयो । 

अत्यधिक गर्मी र तातो हावा लु का कारण घरबाट बाहिर निस्कनेबित्तिकै चक्कर लाग्ने गरेको अधिकांश स्थानीयले जनाएका छन् । असाध्य गर्मी तथा तातो हावाले गर्दा ग्रामीण क्षेत्रलगायत सहरी क्षेत्रका सरकारी कार्यालय, बजार पसल र विद्यालय प्रभावित भएका छन् । 

गर्मीकै कारण लोड थेग्न नसक्दा विद्युत आपूर्ति अनियमित हुँदा र भोल्टेज निकै कम आउँदा नेपालगञ्जलगायत आसपास क्षेत्रका नागरिकको जनजीवन थप कष्टकर बनेको स्थानीयको गुनासो छ । विद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले सकेसम्म विद्युत् आपूर्ति नियमित गर्ने प्रयास गरे पनि गर्मीको प्रभावले विद्युतीय उपकरण बिग्रिरहने कारणले थप समस्या निम्तिएको जनाएको छ । 

विद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका प्रमुख दिवाकर प्याकुरेलले दिनरात नभनि विद्युत् नियमित गर्ने कार्यमा आफूहरु खटिएको बताउनुभयो । अथक प्रयास गर्दा पनि विभिन्न प्राविधिक कारणले सोचेजस्तो गर्न नसकिएको जनाउनुभयो ।