सिराज खान
नेपालगञ्ज, असार ३ गते। नेपाल मार्सल आर्ट्स हाप्किडो सङ्घ बाँकेले गोरखापत्रका नेपालगञ्ज समाचारदाता सिराज खानसहित चार जनालाई सम्मान गरेको छ।
पत्रकारितामा सक्रिय रही पत्रकारिताकै माध्यमबाट उल्लेख्य काम गरेको जनाउँदै नेपाल मार्सल आर्ट्स हाप्किडो सङ्घ बाँकेले नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण कार्यक्रममा समाचारदाता खानसहित तीन जना पत्रकार र एक जना कर्मचारीलाई सम्मान गरेको हो।
नेपाल मार्सल आर्ट्स हाप्किडो सङ्घ बाँकेका अध्यक्ष मो मोहसिन हलवाईले एक हात नभए पनि गत दस वर्षदेखि कृषि विकास बैंकमा उत्कृष्ट काम गर्दै आउनुभएकी आचार्यलाई सम्मान गर्दा गौरव महसुस भएको बताउनुभयो।
उहाँले आचार्यले गरेको योगदान धेरै अपांगता भएकालाई प्रेरणा बनेकोले पनि उहाँलाई थप ऊर्जा प्रदान गर्न सम्मान गरिएको बताउनुभयो।
सोही अवसरमा हाप्किडो सङ्घ बाँकेका नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई प्रमाणपत्र वितरण गरिएको थियो।सङ्घका अध्यक्ष मो मोहसिन हल्वाईको अध्यक्षता तथा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष प्रशान्त श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बोल्ने अधिकांश वक्ताले बाँके जिल्लाबाट मार्सल आर्टसमा देशकै नाम चम्काउने खेलाडी उत्पादन हुने आशा जागेको बताएका थिए।