• २० असोज २०८१, आइतबार

बोक्सेस्थित सदरमुकाम क्षेत्रको सडक कालोपत्रे

blog

गाईघाट दिक्तेल सडक अन्तर्गत बोक्से क्षेत्रमा कालोपत्रे गरिँदै । तस्विर : भक्तिविलास पोखरेल ।

भक्तिविलास पोखरेल

गाईघाट, असार ३ गते । सडक चौडा बनाएर कालोपत्रे गरिएपछि उदयपुरको सदरमुकाम गाईघाटस्थित बोक्से क्षेत्रको मुहार फेरिएको छ । जिल्लास्थित सम्पूर्ण सरकारी कार्यालयहरुको बीचबाट जाने गाईघाट दिक्तेल सडक अन्तर्गत पुरानो आँखा अस्पतालदेखि बरुवा पुलसम्मको चार किलोमिटर क्षेत्रमा कालोपत्रेसहित सडक चौडा पारिएपछि सो क्षेत्रको मुहार फेरिएको हो।

तर निर्माणकार्य सुचारु भइरहेको अवस्थामा बोक्सेभन्दा माथि करमगाछि भन्ने स्थानमा स्थानीय केहि व्यक्तिहरुले निर्धारित सडक सीमा २५ मिटर चौडाइभरि नै कालोपत्रे गर्नुपर्ने माग अगाडि सारेर निर्माण कार्यमा अवरोध गरेपछि कानुन विपरीत हुने यस्ता नाजायज मागका कारण करमगाछि चौकमा दुई दिनदेखि निर्माण कार्य अवरुद्ध भएको गाईघाट–दिक्तेल सडक योजना कार्यालयका प्रमुख डिभिजन ईन्जिनियर गोपालप्रसाद खकुरेलले बताउनुभयो ।

सो सडक स्तरोन्नतिका लागि गत मङ्सिर १२ गते भएको ठेक्का सम्झौता अनुरुप मूल्य अभिवृद्धि करसहित आठकरोड ३४ लाख ६० हजार रुपियाँको लागतमा २०८० साल जेठ १२ गते सम्ममा सम्पूर्ण काम सम्पन्न गर्नेगरी जय एण्ड ब्रदर–पबित्रा जेबी निर्माण कम्पनीले धमाधम निर्माणको काम गरीरहेको आयोजना प्रमुख डिइ खकुरेलले बताउनुभयो ।

निर्माण कम्पनीले गाईघाटस्थित पुरानो आँखा अस्पताललाई जिरो बिन्दु मानेर सडक फराकिलो गर्ने काम सुरु गरेको हो । साढे ७ मिटर कालोपत्रे सहित ११ मिटर चौडाइको फराकिलो सडक निर्माण गर्न अहिलेको सडकको दायाँबाँया दुवैतर्फ बढाएर सडक चौडा पार्ने योजना अनुरुप काम सन्तोषजनक ढङ्गले अगाडि बढाइरहेकोमा योजनामा हुँदै नभएको माग आएपछि करमगाछी क्षेत्रमा भने काम अगाडि बड्न सकेको छैन ।

त्रियुगा नगरपालिकाका नगर प्रमुख वसन्त बस्नेतले विकास निर्माणका कामकाजमा कुनै पनि किसिमको अवरोध गर्न नहुने भन्दै करमगाछी क्षेत्रमा तत्काल काम सुरु गर्न गाईघाट दिक्तेल सडक आयोजनालाई आफूले अनुरोध गरिसकेको बताउनुभयो । उहाँले कहीँकतैबाट अवरोध आए नगरपालिकाले त्यस्ता अवरोध हटाएर योजनाको कामलाई सुचारु गराउने बताउनुभयो ।

फराकिलो र अस्फाल्ट कालोपत्रे सहितको सडक स्तरोन्नति भएपछि बरुवा पुलसम्मको सडक आकर्षक हुनुका साथै सवारी आउजाउमा सहज हुने कार्यालयले जनाएको छ । यसभन्दा पहिले गरिएको कालोपत्रे उक्किसकेको र गुणस्तरीय पनि नभएको तथा चौडाइ चारमिटर मात्र भएकोले सवारीसाधनहरुको चाप अनुसार सडक साँघुरो हुँदा दोहोरो लेनमा यातायात चल्न धेरै कठिन हुन थालेपछि कालोपत्रेसहित सडक चौडा पार्न थालिएको डिई खकुरेलको भनाइ छ ।

तीन वर्षअघि नै सदरमुकाम गाईघाटको बीच भाग भएर पूर्व–पश्चिम जोडिएको मदन भण्डारी लोकमार्गसँग जोडिएको हुनाले गाईघाट दिक्तेल सडकलाई पनि स्तरोन्नति गर्नैपर्ने बाध्यता भएको हो । मदन भण्डारी सडकको कालोपत्रे उच्च गुणस्तरीय भएकाले त्यससँग जोडिएको गाईघाट दिक्तेल सडक पनि उत्तिकै गुणस्तरीय र आकर्षक हुनुपर्ने माग जनस्तरबाट व्यापक आएकाले सडक योजना कार्यालयले गाईघाट–बरुवा खण्डमा अस्फाल्ट प्रविधिकै कालोपत्रे गर्ने कार्य अघि बढाएको उहाँ बताउनुहुन्छ ।

नेपाल सरकारको चालु वर्ष विनियोजित ४० करोड रुपियाँ मध्येबाट सो कार्य थालिएको र बाँकी रहेको बजेट बरुवा पुलभन्दा माथि पनि थप सडक स्तरोन्नति गर्ने योजना रहेको उहाँको भनाइ छ । तीन दशकअघि सुरु भएको गाईघाट दिक्तेल सगरमाथालोक मार्गमा हालसम्म गाईघाटदेखि खाँबुको बागखोरसम्म कालोपत्रे भएको छ । तर, सरफेस ड्रेसिङ प्रविधिमा गरिएको त्यो कालोपत्रे गुणस्तरीय भने नहुने भएकाले अस्फाल्ट प्रविधिमै गर्नेगरी प्राविधिकहरुको सुझाव बमोजिम काम अगाडि बढाइएकोे डिइ खकुरेल बताउनुहुन्छ ।