मीना कंडेल
कावासोती, असार ३ गते । पूर्वी नवलपरासीमा पहिलो पटक हुप्सेकोट गाउँपालिकाबाट सुकुमवासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा (लालपूर्जा) वितरण सुरु गरिएको छ । हुप्सेकोट वडा नं २ का एक सय ५ जना भूमिहिन दलित र सुकुम्बासी परिवारले भोगचलन गर्दै आएको न्यूनतम ७ धुरदेखि करिब ६ कट्ठासम्म कृषि योग्य जमिनको जग्गा धनी प्रमाण पुर्जा पाएपछि नागरिक खुसी देखिएका थिए ।
हुप्सेकोट २ का ४९ सुकुमवासी भूमिहिन र ५६ भूमिहीन दलित गरी एक सय ५ जना सुकुमवासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण गरिएको हो ।
सत्तरी वर्षको उमेरमा आफूले जोतभोग गर्दै आएको जग्गाको लालपुर्जा हातमा पर्दा जयकुमारी विष्टको हर्षको सीमा थिएन । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठलले लालपुर्जा हातमा थमाइदिँदा सिङ्गो जीवन नै जितेजस्तो खुसी उहाँको अनुहारमा छचल्किएको थियो । बाबुबाजेको पालादेखि नै बसोबास गर्दै र जोतभोग गर्दै आएको जग्गाको लालपुर्जा नातिको पालासम्म आइपुग्दा पनि हातमा नपाउँदा उहाँलाई आफ्नो पालामा लालपुर्जा पाउँछु भन्नेमा विश्वास थिएन ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठले सबै सुकुमवासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा दिन सरकार अग्रसर रहेको बताउँदै पुर्जा वितरणले न्यायको अनुभूति दिलाएको बताउँदा स्थानीयका आँखा रसिला भएका थिए । वर्षौंदेखि बस्दै आएको घर र जग्गाको मालिक आज बन्दै हुनुहुन्छ भन्दै भाषण गरिरहँदा जयकुमारी मात्र होइन हुप्सेकोटका १०५ जना जग्गाधनी पूर्जा लिने पर्खाइमा कार्यक्रम स्थलमा बसिरहेका थिए ।
कृषि तथा भूमि व्यवस्था मन्त्रालय गण्डकी प्रदेशका मन्त्री महेन्द्रध्वज जिसीले भूमि आयोगलाई पालिकाले असहयोग गरेका कारण जग्गा धनी पूर्जा वितरणमा कठिनाई भएको बताउनुभयो । राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाले जिल्ला समिति समयमै गठन नहुनुले सुकुमवासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरणमा ढिलाइ भएको बताउनुभयो।
राष्ट्रिय भूमि आयोग जिल्ला कार्यसमिति नवलपुरका अध्यक्ष तारापति खरेलले अधुरा कामहरुलाई तीव्र रुपमा अगाडी बढाइने बताउनुभयो । उहाँले हाल जिल्लामा सुकुमवासी र अव्यवस्थित बसोबासी करिब ४० हजारको हाराहारीमा रहेको बताउँदै सबैलाई जग्गाधनी पूर्जा दिने प्रक्रियामा रहेको बताउनुभयो ।
हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मिदेवी पाण्डेले आफ्नै पालिकाबाट पुर्जा वितरण काम सुरु गर्न पाउँदा खुसी लागेको बताउँदै उहाँले सबैको हातमा पूर्जा प्राप्त नभएसम्म सबैले सक्रियताका साथ काम गर्नुपर्ने बताउनुभयो । नागरिकलाई खुसी देख्दा काम गर्ने अझै हौसला मिलेको उहाँको भनाइ थियो ।