• ९ पुस २०८१, मङ्गलबार

बाढीपीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्न सांसद खड्काको माग

blog

नेपाली काँग्रेसका सांसद दीपक खड्का ।

गोरखापत्र अनलाइन

काठमाडौं, असार ३ गते । नेपाली काँग्रेसका सांसद दीपक खड्काले संखुवासभा, तेह्रथुम, ताप्लेजुङ, पाँचथरलगायतका पूर्वी पहाडी जिल्लामा अविरल वर्षापछि गए राति आएको बाढी र पहिरोले ठूलो धनजनको क्षति भएको चर्चा गर्दै पीडितलाई तत्काल उद्धार, राहत, क्षतिपूर्तिको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको छ । 

आइतबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद खड्काले सङ्खुवासभाको सुपर हेवा जलविद्युत आयोजनामा काम गर्ने १६ जना मजदुर बेपत्ता भएको र उनीहरुमध्ये ३ जना फेला परेको, एक जना मृत अवस्थामा भेटिएको जानकारी आएको उहाँले बताउनुभयो । बेपत्ता भएका अन्यको खोजीकार्यमा तीव्रता दिन पनि सरकारको उहाँले ध्यानाकर्षण गराउनुभयो । सो घटनामा परी खर्बाैको नोक्सान भएको उल्लेख गर्दै उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराउनुभयो । 

सांसद खड्काले सो घटनाका परी बेपत्ता भएकाहरुको उद्धार र राहतको काममा सहयोग गर्न सबै राजनीतिक पार्टीलाई आग्रह समेत गर्नुभयो । उहाँले भन्नुभयो, ‘संखुवासभा, तेह्रथुम, ताप्लेजुङ, पाँचथरलगायत पूर्वी पहाडमा गए राति अविरल वर्षाका कारण ठूलो धनजनको क्षति भएको छ । खासगरी सङ्खुवासभामा अहिले यो सुपर हेवामा काम गर्ने मजदुरहरु १६ जना बेपत्ता भएको, ३ जना फेला परेको र १ जना मृत फेला परेको जानकारी प्राप्त भएको उहाँले बताउनुभयो । 

यसबाहेक पनि विभिन्न ठाउँमा मान्छे हराइराखेको सूचना आएको उहाँको भनाइ छ । उद्धार कार्यमा जाने सुरक्षाकर्मी, राजनीतिक दलका नेताले सम्बन्धित ठाउँमा पुगिनसकेको अवस्था छ । थुप्रै हाइड्रो पावरहरु सुपर हेवा, मेन्छेमजस्ता हाइड्रोपावरहरु पूर्ण रुपले क्षति हुँदा २ वटा पक्की पुल र एउटा झोलुङ्गे पुल बगाएको छ उहाँले भन्नुभयो । 

कति क्षति भयो भनेर अनुमान गर्न सकिन्न । सङ्खुवासभालगायत यो क्षतिग्रस्त जिल्लामा नेपाल सरकारले तत्कालै उद्धार, राहत र सहयोग गरोस् उहाँले भन्नुभयो, “सङ्खुवासभाका र पहाडी जिल्लाका सुरक्षाकर्मीले मात्रै यो क्षतिलाई उद्धार गर्न सक्दैन, उद्धार कार्यलाई सहयोग गरिदिन र क्षतिलाई न्यूनीकरण गरी क्षतिपूर्ति र राहत उपलब्ध गराइदिन म विनम्र आग्रह गर्दछु ।”