• १४ मंसिर २०८१, शुक्रबार

कालीगण्डकीमा बेपत्ता किशोरीको शव फेला

blog

रेखीराम राना

पाल्पा, असार ३ गते । कालीगण्डकी नदीमा डुबेर बेपत्ता भएकी किशोरीको शव फेला परेको छ । जेठ ३२ गते कालीगण्डकी नदीमा नुहाउने क्रममा रामपुर–८, भुजातस्थित कालीगण्डकी नदीमा बेपत्ता भएकी १४ वर्षकी पार्वती रामजालीको शव आइतबार बिहान फेला परेको प्रहरीले जनाएको छ । 

रामजालीको शव रामपुर–८, को आँपचउरस्थित कालीगण्डकी नदीमा डुबेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

यसैबीच तिनाउ नदीमा डुबेर एक जना पुरुषको पनि मृत्यु भएको छ । जिल्लाको तिनाउ गाउँपालिका–२, खुर्सानेस्थित तिनाउ नदीमा डुबेर रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका–११ बस्ने ३४ वर्षका लोकप्रसाद रजालीमगरको गएराति मृत्यु भएको हो । 

रुपन्देहीबाट पिकनिक खान आएको टोलीमा सहभागी रजाली पिकनिक खाएको स्थानदेखि एक सय मिटर नजिकै पानीभित्र डुबेको अवस्थामा फेला पर्नुभएको थियो । रजालीलाई उपचारको लागि बुटवलस्थित प्रादेशिक अस्पतालमा लगे पनि चिकित्सकले मृत घोषणा गरेका थिए । 

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।