• ४ जेठ २०८१, शुक्रबार

‘फरक उद्देश्य बोकेकाहरू एक ठाउँमा आउँदैमा शक्ति बन्दैन’

blog

पार्टी प्रवेश कार्यक्रममा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ।

गोरखापत्र अनलाइन

काठमाडौं, असार २ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले फरक उद्देश्य भएकाहरू एक ठाउँमा जम्मा भएर राष्ट्रिय शक्ति निर्माण हुन नसक्ने टिप्पणी गर्नुभएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका नेता, कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै उहाँले सो टिप्पणी गर्नुभएको हो ।

समाजवादी मोर्चा बनाउने नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका पार्टीहरूको निर्णयप्रति लक्षित गर्दै उहाँले फरक उद्देश्य भएका तत्त्वहरू एक ठाउँमा आउँदा त्रसिन आवश्यक नरहेको बताउनुभयो । समाजवादी मोर्चा बनाउने कुरा एमालेसँग मुकाबिला गर्न र काँग्रेसलाई तर्साउन गठजोड भइरहेको उहाँले चर्चा गर्नुभयो ।

अध्यक्ष ओलीले सँगै काम गरेका नेतालाई आफूले राम्रोसँग चिनेकाले कुनै नयाँ कुरा नरहेको बताउनुभयो ।

आफ्नो ५८ वर्षे राजनीतिक जीवनमा कुनै र कसैप्रति पनि झुटो आरोप नलगाएको र तथ्यमा आधारित आरोपमात्रै आफूले लगाउने गरेको उहाँले दाबी गर्नुभयो ।  

“हामी एउटा यस्तो राष्ट्रिय शक्ति निर्माण गर्नुपर्छ जो देश, जनता, विकासप्रति समर्पित हुन्छ” अध्यक्ष ओलीले भन्नुभयो, “चारतिर फर्किएका चार तिरका फरक उद्देश्यका तत्त्वहरू एक ठाउँमा जम्मा भएर राष्ट्रिय शक्ति बन्दैन ।” एमालेलाई अब कसैले पनि राष्ट्रिय शक्ति बन्नबाट रोक्न नसक्ने उहाँले दाबी गर्नुभयो । 

अध्यक्ष ओलीले एमाले मिसन २०८४ को तयारीमा जुटेको र २०८४ मा एमालेलाई राष्ट्रिय शक्ति बन्ने विश्वास दिलाउनुभयो । एमाले राष्ट्रिय शक्ति बनेमात्र देशको समृद्धि कायम हुने उहाँले चर्चा गर्नुभयो ।