• १४ मंसिर २०८१, शुक्रबार

सडक निर्माणका लागि सडक जाम

blog

बाँकेको खजुरामा सडक निर्माणलाई पूर्णता दिन माग गर्दै आन्दोलनमा उत्रिएका स्थानीय । तस्बिर : गोविन्द शर्मा

गोविन्द शर्मा 

बाँके, असार २ गते । बाँकेको खजुरामा एक हजार आठसय मिटर चार लेन सडक निर्माण सुरु भएको ६ वर्षसम्म पनि पूर्णता नपाएपछि स्थानीयवासीहरू सडक जाम गरेका छन् । 

शनिबार खजुरावासीले नेपालगञ्ज–गुलरिया सडक खण्डको खजुरा बजारमा सवारी आवागमन बन्दगरी सडक निर्माणलाई पूर्णता दिनका लागि दबाब दिएको स्थानीय अगुवा राजेन्द्र आचार्यले जानकारी दिनुभयो । 

स्थानीय अगुवा आचार्यले भन्नुभयो, ‘निर्माण कम्पनीले काम नगर्दा खजुरावासीले लामो समयसम्म सास्ती खेप्नुपरेको छ, अब धेरै दिन सहन नसक्ने अवस्थामा पुगेका छौँ ।’ सडक पूर्णता नपाउँदा धुलोका कारण आवागमनसँगै जनस्वास्थ्यमा प्रतिकुल असर परेको, गिट्टी उछिट्टिएर घर तथा पसलमा क्षति पुगेको स्थानीय धनप्रसाद ढकालले बताउनुभयो ।

खजुरावासी सडक पूर्णताका लागि पटक–पटक आन्दोलनमा उत्रिए पनि सडकले पूर्णता पाउन सकेको छैन । पछिल्लो समय  निर्माण कम्पनीलाई दैनिक हर्जाना जरिवाना तिराएर काम सम्पन्न गर्न अनुमति दिइए पनि काम अघि बढेको छैन । 

सडक डिभिजन कार्यालय नेपालगञ्जका अनुसार २०७४ साल चैत २९ गते गजुरमुखी कन्स्ट्रक्सन कम्पनी प्रालि इलामले सडक निर्माण कार्य सुरु गरेको हो । बाँकेको खजुरा बजारमा एकहजार आठसय मिटर र बर्दियाको गुलरियामा दुई हजार २०० मिटर लम्बाइको सडक निर्माणका लागि २१ करोड ४९ लाख रुपियाँमा सम्झौता भएको हो । 

सम्झौता सुरु हुँदा २०७७ चैतमा सम्पन्न हुनुपर्ने थियो । त्यसपछि पनि निर्माण कम्पनीको मागका आधारमा पटक–पटक म्याद थप भए पनि काम सन्तोषजनक रूपमा अघि बढ्न सकेको छैन ।

खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले निर्माण कम्पनीले काम गर्ने अवस्था नदेखिएको भन्दै ठेक्का तोडेर नयाँ प्रक्रिया सुरु गर्नका लागि सडक डिभिजन कार्यालय बाँकेमा आग्रह गरिएको बताउनुभयो ।