• १२ मंसिर २०८१, बुधबार

भेरी अस्पतालमा पहिलो पटक बङ्गारा तथा अनुहारको शल्यक्रिया सुरु

blog

भेरीमा पहिलो पटक बङ्गारा तथा अनुहारको शल्यक्रिया गर्दै चिकित्सकहरु । तस्बिर : सिराज खान

सिराज खान
नेपालगञ्ज, असार २ गते ।
 पश्चिम नेपालको बिरामी रेफरल केन्द्र रहेको भेरी अस्पतालमा पहिलो पटक बङ्गारा तथा अनुहारको शल्यक्रिया सेवा सुरु गरिएको छ । सो अस्पतालमा पहिलो पटक ओरल एण्ड म्याग्जिलो फेसियल सर्जन डा.श्याम चौधरीको पदस्थापन भएसँगै बङ्गारा तथा अनुहारको शल्यक्रिया सेवा सुरु भएको हो ।

भेरी अस्पतालका अनुसार बर्दिया बासगढी नगरपालिका ६ की १४ वर्षीया बालिका र सानीभेरी गाउँपालिका १ रुकुम पश्चिमकी २८ वर्षीया युवतिको एकै पटक सफलतापूर्वक शल्यक्रिया गरेर सो सेवाको सुरुवात गरिएको हो । 

अस्पतालका अनुसार १४ वर्षीया बालिका विगत ६ महिनादेखि चिउँडो सुन्निएको र तलका चार वटा दाँत हल्लिएको अवस्थामा भेरीको ओपिडीमा उपचारका लागि आएकी थिइन् भने रुकुम पश्चिमकी २८ वर्षीया युवति घरको सिडीबाट चिप्लिएर मुखमा चोट लाग्दा हड्डी भाँचिएर मुख खोल्न र खाना चपाउन समेत नसक्ने अवस्था लिएर अस्पताल आउनु भएको थियो ।

भेरी अस्पतालका ओरल एण्ड म्याग्जिलो फेसियल सर्जन डा.चौधरीले उहाँहरू दुवैजनाको सफलतापूर्वक शल्यक्रिया गरिएको जानकारी दिनुभयो । डा.चौधरीको नेतृत्वमा रहेको सर्जरी टोलीमा डा. निर्माण शाह, डा.प्रविन थापा, डा.नीशा पउन्जुसँगै एनेस्थेसियोलोजिष्ट डा.कृष्ण आचार्य, डा.पारस पाण्डेलगायत नर्सिङ स्टाफहरूको सहभागिता रहेको थियो ।

यसअघि यो सेवा भेरी अस्पतालमा उपलब्ध नहुँदा बिरामीहरू महँगो शुल्क तिरेर नेपालगञ्ज बाहिर गएर उपचार गराउन बाध्य रहेका थिए । तर अब पश्चिम नेपालका धेरै बिरामीले लाभ पाउने बताइएको छ ।