• ४ जेठ २०८१, शुक्रबार

समाजवादी मोर्चा बन्दै

blog

काठमाडौँ, असार २ गते । शीर्ष नेताहरूबिच छलफल हुन नसक्दा शुक्रबार समाजवादी मोर्चा घोषणा हुन सकेन। नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव शक्रबार दिउँसो काठमाडौँबाहिर हुनुभएकाले शीर्ष नेताबिच सामूहिक छलफल हुन नसक्दा मोर्चा घोषणा हुन नसकेको बताउनुभयो।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लगायतका दल मिलेर समाजवादी मोर्चाको घोषणा गर्दैछन्। 

मोर्चामा आबद्ध दलहरूले साझा सैद्धान्तिक कार्यक्रम अन्तर्गत नेपाली विशेषताको समाजवाद स्थापना गर्ने भएका छन्। जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले गणतन्त्र, धर्म निरपेक्षता, सङ्घीयता, समानुपातिक समावेशी सिद्धान्त र संविधानप्रति प्रतिबद्ध भएर नेपाली विशेषताको समाजवाद स्थापना मोर्चाको साझा सङ्कल्प हुने जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “मोर्चाको सैद्धान्तिक उद्देश्य भनेको नेपाली विशेषताको समाजवाद स्थापना हो।”

मोर्चामा सहभागी दलका नेताहरूले आलोपालो नेतृत्व गर्ने सहमति भए पनि अन्तिम रूप दिन भने बाँकी छ। उहाँले तत्काल केन्द्रीय मोर्चा घोषणा गर्ने र आवश्यकताका आधारमा तल्लो तहसम्म संरचना बनाउने सहमति भएको बताउनुभयो। मोर्चाको केन्द्रीय सचिवालय बनाइने भएको छ। 

त्यस्तै शुक्रबार समाजवादी मोर्चा निर्माणका बारेमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबिच भेटवार्ता भएको छ। 

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबिच समाजवादी मोर्चा घोषणाको अन्तिम तयारी भइरहँदा प्रचण्ड र डा. भट्टराईबिच भेटवार्ता भएको थियो।

भेटमा समाजवादी मोर्चा, भारत भ्रमण, सङ्घीय बजेट, शान्ति प्रक्रियाका बाँकी कामलगायतका विषयमा कुराकानी भएको डा. भट्टराईले ट्विट सन्देशबाट जानकारी दिनुभएको छ। उहाँले भन्नुभयो, “प्रधानमन्त्री प्रचण्डसँग हालैको भारत भ्रमण, सङ्घीय बजेट, सत्य निरूपण तथा मेलमिलाप आयोगलगायतका शान्ति प्रक्रियाका बाँकी कार्यभार, प्रस्तावित समाजवादी मोर्चालगायतका विविध विषयमा विहङ्गम कुराकानी भयो।” 

उहाँले देशमा हालसम्म प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रलगायतका उपलब्धिको रक्षा गर्दै समाजलाई निरन्तर अग्रगमनको दिशामा लैजानका लागि बृहत् समाजवादी मोर्चा निर्माण गर्न विचार, नीति, कार्यक्रम, सङ्गठनात्मक विधिलगायतका विषयमा सबै पक्षबिच गम्भीर छलफल गर्दै अघि बढ्ने समझदारी भएको बताउनुभयो।